नाली बन्यो काल

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Nali maa bike (1)

रञ्जन अधिकारी पोखरा, ५ कार्तिक / पोखरामा गत वर्ष १५ दिनमा ४ जनाले सडक नालामै ज्यान गुमाएका थिए । भदौ १५ गते बेलुकी दाङ घर भई पोखरा ४ बस्दै आएकी ४५ वर्षीया मीना भण्डारी सिद्धार्थचोककै नालामा खस्दा ज्यान गुमाईन् । भदौ २२ गते मालपोत कार्यालय नजिक फिर्के खोलामा भएको पुलबाट मोटरसाईकल चलाउने क्रममा कास्की कालिका ५ घर भई लेकसाईड बस्ने २१ वर्षीय सुरविर जिसीको ज्यान गयो । १ असोजमा स्याङ्जा दरौं ९ का गंगाप्रसाद सुवेदीलाई बिरौटामा सडककै भेलले बगायो । सोहि रात पोखरा १६ लामाचौर, गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापाको खत्री डहरको भेलमा परेर नालीमा डुबेर ज्यान गएको थियो ।

पोखराका सडक छेउका नाली कति असुरक्षित भन्ने उदाहरण फेरि पुष्टि भएको छ । शनिबार साँझदेखि लामाचौरमै एक युवक बेपत्ता छन् । मोटरसाईकल पछाडी बस्ने युवक उछिट्टिएपछि ज्यान जोगिएको छ । मोटरसाईकल नालाको धेरै पर भेटियो ।

पोखरामा शनिबार राति परेको वर्षापछि नालीमा आएको भेलमा परी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ निवासी पिजन पुन बेपत्ता भएका हुन् । चमानसिंह पुनका छोरा १८ वर्षीय पिजन आफैले मोटरसाईकल चलाएका थिए । उनका पछाडी बाईकधनी श्रवण पुर्जा रहेका थिए । १९ वर्षीय श्रवण सामान्य घाईते छन् । उनीहरुको घर नजिकै हो भने मावली साईनो पनि छ ।

दुइ भाइले चढेको ग१३प ३११० नम्बरको बाईक नालीमा बगेपछि कामै नलाग्ने भएको छ । बाईक नै टुक्रा टुक्रा पारेर निकालिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

श्रवणका बुबा जयबहादुर पुर्जाका अनुसार श्रवण सहित पुर्जा परिवार नदिपुर स्थित दिदीको घरमा तिहार मनाएका थिए । ‘श्रवण आफ्नी फुपुको घरबाट साँझ ६ बजेपछि घर जान्छु भनेर बाईक लिएर निस्किएको हो । बाटोमै पिरतलाई भेटेछ । पिरतले श्रवणलाई हप्काएरै बाईक आफै चलाएको रे ।’ – जयबहादुरले भने– ‘पानीले चिप्लो बाटो । त्यहाँ ठूला ठूला स्पीड ब्रेकर छ । कन्ट्रोल गर्न नसक्दा बाईक र पिरत नालीमा खसे । छोरो चाहिँ उता बजारिएछ ।’ पिजनलाई छरछिमेकले पिरत नामले बोलाउँछन् ।

श्रवणले बोलेको नबुझिने भएकाले अनुसन्धानमा कठिनाई भएको प्रहरी बताउँछ । घटनापछि श्रवणलाई प्रहरीले नै वडा प्रहरी कार्यालय बगर ल्याएर परिवारलाई सम्पर्क गरी जिम्मा लगाएको थियो । घटना साँझ साढे ६ बजेतिर भएको र आफूहरुले श्रवणलाई साढे सातबजे भेटेको बुबा जयबहादुरले सुनाए ।

‘छ महिना अघि मात्रै किनेको पल्सर बाईक हो । श्रवणलाई पिरतले हप्कीदप्की गर्छ । पिरत पुलहाउसतिरै थियो होला । यस्तो नराम्रो घटना भयो ।’ जयबहादुरले खिन्नता प्रकट गरे । उनका अनुसार पिजन एक दाइ र दुई दिदी पछि घरको कान्छो छोरो हुन् । एउटी दिदी विदेशमा छिन् । अर्को दिदीबाट भाइटीका लगाएपछि पिजन घरबाहिर निस्किएका थिए ।

इञ्जिनिरिङ अध्ययन संस्थान, पश्चिमाञ्चाल क्याम्पस लामाचौर नजिकबाट नालीमा खसेको बाइक करीब २५० फुट तल उपल्लो दीपस्थित गोर्खा बोर्डिङ स्कूल नजिक फेला परेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार बाइक कन्ट्रोलमा नहुँदा लडखडाउँदै नालीमा खसेको थियो । अन्डरग्राउण्ड भएकाले निकाल्न निकै समस्या प¥यो । बेपत्ता पुनका खोजी भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

लामाचौर बाटुलेचौर क्षेत्रमा अत्यधिक स्पीड ब्रेकर रहेको छ । गति सीमितको नाममा बिस्तारै चलाउँदा समेत धान्नै मुस्किल पर्ने ब्रेकर डब्लुआरसी अगाडिका सडक खण्डमा रहेको छ । यसबारे स्थानीय प्रशासनले ध्यान दिन अत्यन्त जरुरी रहेको चालकहरु बताउँछन् । छोटो दुरीमा अत्यन्त अग्ला ब्रेकरले यस्ता दुर्घटना निम्त्याउने गर्दछ ।

फोटो: सुजन आचार्य & Online

आदर्श समाज दैनिकमा कार्तिक ५ गते प्रकाशित

Related News

सम्बन्धित समाचार

Archives

Archives