रञ्जन अधिकारी पोखरा, ३ चैत / शिक्षा ऐन आठौं संशोधन लागू भएपछि तहगत संरचना बदलियो । गत असार १५ गतेदेखि लागू ऐनले अब विद्यालय तहको संरचना मात्र परिवर्तन गरेन, बाल शिक्षा समेट्दै कक्षा आठसम्म आधारभूत र नौ देखि १२ सम्म माध्यमिक गरी दुई तहमा मात्र विद्यालय संरचना तय ग¥यो । कक्षा १२ को परीक्षाको नाम एसएलसी हुनेगरी संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माध्यमिक शिक्षा परीक्षाको रुपमा लिन सुरु गरिएको छ । यसअघि, कक्षा ११ र १२ लाई उच्च माध्यमिक तह मानिन्थ्यो ।

उच्च मावि तह प्रवेशका लागि लिईने प्रवेशिका परीक्षा स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) यो वर्षदेखि सेकेन्डरी एजुकेशन इक्जामिनेशन (एसईई) मा रुपान्तरण भएको हो । आठ दशक अघि सुरु भएको एसएलसी परीक्षा विद्यालय तहको अन्तिम खुड्किलो मानिन्छ । विसं. १९९० बाट दश कक्षाको समाप्तिसँगै एसएलसी परीक्षा लिन थालिएको थियो । विश्वव्यापी प्रचलन अनुरूप १२ वर्षे विद्यालयीय शिक्षाको परिकल्पना विद्यालय क्षेत्र सुधार योजना (२००९–०१५) मा नै थियो तर बल्ल आएर यो तहमा राष्ट्रियस्तरको एसएलसी परीक्षाको अवधारणा हटेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा विद्यालय तहको अन्तिम परीक्षा सञ्चालन गर्ने नयाँ शिक्षा ऐनमा उल्लेख छ । यसवर्ष एसइइ परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्नेछ । ‘संघीय संरचनाको प्रभाव यो वर्ष शिक्षा क्षेत्रमा छैन । आगामी वर्षदेखि शिक्षा ऐन अनुसार प्रादेशिक परीक्षा बोर्डको परिकल्पना बमोजिम नै होला। बोर्ड गठनपछि सोहि अनुसार अघि बढ्नेछ ।’ – पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख विष्णुप्रसाद अधिकारी भन्छन्– ‘ऐन अनुसार अब क्षेत्रीय स्तरमा यो परीक्षा सञ्चालन हुनुपर्ने हो । परीक्षाका क्षेत्रीय संरचनाहरु नबनिसकेकाले केन्द्रिय संरचना अन्तर्गत नै यो पटक परीक्षा हुनेछ ।’

अब कक्षा १२ सम्म माध्यमिक तह हुने र त्यो पनि विद्यालय संरचनाभित्रै आइसकेपछि अब कक्षा १० को परीक्षाको यसअघि जस्तो प्रभावकारिता नरहने क्षेत्रीय शिक्षा निर्देशक अधिकारीको ठहर छ । ‘एसएलसी अब एसईईमा रुपान्तरण भएपछि यसअघि जस्तो १० कक्षा परीक्षाको रौनक र चिन्ता हटेको भन्दा फरक पर्दैन ।’– उनले भने ।

उच्च शिक्षाको ढोका खोल्न पछिल्लो समय प्रत्येक वर्ष झण्डै ६ लाख विद्यार्थी ‘तीन घण्टे’ मूल्यांकनमा सामेल हुन्छन् । ‘फलामे ढोका’ भन्दै हाउगुजी बनाईएको एसएलसी परीक्षालाई विस्तारै सरलीकृत गर्दै गत वर्ष सांकेतिक अक्षर प्रणाली (लेटर ग्रेडिङ सिस्टम) लेटर ग्रेडिङ सिस्टमबाट परीक्षाफल प्रकाशन गरियो । परीक्षामा सहभागी हुने कसैको पनि मार्कशीटमा उत्तीर्ण वा अनुत्तीर्ण नभनी विभिन्न ग्रेड दिईने गरिन्छ । अब १० कक्षाको एसईई परीक्षाको नतिजा पनि सोहि अनुसार नै आउनेछ । कक्षा ११ सँगै ९ कक्षाको समेत यही ग्रेड प्वाइन्ट एभरेज (जीपीए) पद्धतिद्वारा नतिजा प्रकाशन गर्ने तयारी थालिएको छ । यो पद्धति विभिन्न देशमा लागू भइरहेको छ। विद्यार्थीको औसत क्षमता मूल्यांकन गरेर सकेसम्म सहजरुपमा उच्च शिक्षातर्फ प्रवेश गराउने उद्देश्यले यो विधि अबलम्बन गरिएको सरोकारवाला बताउँछन् । एसएलसीको हाउगुजीलाई सामान्यीकरण गर्ने क्रममा अक्षरांकन प्रणाली अवलम्वन गरिएपनि डि र ई ग्रेडलाई सहजै भर्ना लिन प्रतिष्ठित कलेजहरुले मान्दैनन् । कम्तिमा १.६ जीपीए अर्थात डी प्लस ल्याउने विद्यार्थी मात्र कक्षा ११ मा भर्ना हुन पाउने भएपछि कमजोर विद्यार्थीले फरक महसुस गरेनन् ।

एसएलसीमा २०६३ अघिसम्म कक्षा ९ को पाठ्यपुस्तकबाट ६० प्रतिशत र कक्षा १० को ४० प्रतिशत अंकभार राखेर परीक्षा सञ्चालन हुँदै आएको थियो । त्यसपछि पाठ्यपुस्तक परिमार्जन गर्दै कक्षा १० बाट मात्रै परीक्षा लिने व्यवस्था गरियो भने केहि वर्षपछि एसएसलसीमा बोर्ड फस्र्टको नाम सार्वजनिक गर्न छाडियो । ६० प्रतिशत अंक ल्याएपछि प्रथम श्रेणीमा उत्तीर्ण हुने व्यवस्थामा पछि ८० प्रतिशत अंक ल्याएपछि विशिष्ट श्रेणी थप पनि गरियो ।

एसएलसीको नतिजा सार्वजनिक भएपछि राम्रो अंकका साथ उत्तीर्ण विद्यार्थीको टोलटोलमा अबिरजात्रा हुँदा अनुत्तीर्णको घरमा मलामीको जमघट हुने अवस्था हुन्थ्यो । झन्डै १२–१३ वर्षसम्मको लगानी खेर जाला भन्ने चिन्ता अभिभावकमा रहने गर्छ । विद्यार्थीले आफ्नो बौद्धिक स्तर मापन एसएलसी परीक्षालाई बनाउँदा एसएलसी ‘फिभर’ उच्च थियो । अंक केन्द्रीत नतिजालाई सम्मान गर्ने सामाजिक प्रवृत्तिले एसएलसीलाई सिकाइको मापन भन्दा पनि घोकाइको मापन बनाईदियो ।

कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकाल सिकाई उपलब्धी हासिल भयो कि भएन भन्ने कुरा प्रमुख रहेको बताउँछन् । ‘एसएलसी परीक्षा लिने क्रममा क्रमशः ढाँचा परिवर्तन गरिएको छ । तात्विक भिन्नता मैले पाएको छैन तर परिवर्तन जे–जे भएको त त्यसले सिकाई उपलब्धिमा अपेक्षाकृत सुधार भएको मानेको छु ।’ उनले भने– ‘ग्रेडिङ सिस्टम आएपछि सबै पास हुन्छ, पढ्न पर्दैन भन्ने भावना विकसित भएको नपाएको होईन तर त्यसले पनि श्रेणी विभाजन गर्ने भएपछि विद्यार्थीले मेहनत कम गर्दैनन् ।’

एसएलसीको आतंकले विशेषगरी निजी विद्यालयका विद्यार्थी पीडित छन् । निजी विद्यालयमात्र होईन ट्युशन पढाएर पैसा कमाउनेका लागि एसएलसी व्यापार बढाउने काइदा हो । विद्यार्थीलाई उच्च प्रतिशत ल्याउन दवाव दिने, वर्षदिन अघिबाट होस्टलमा कोचिङका लागि राखेर प्रति विद्यार्थी पाँच लाख बढि कुम्ल्याउने प्रवृत्ति देखिँदै आएको हो । सार्वजनिक विद्यालयमा भने शिक्षकहरु राजनीति गर्ने, विद्यार्थीलाई आवश्यक शैक्षिक पुर्वाधार नहुने, नियमित पढाई नहुने बाध्यताले निकै कम विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् । एसएलसीमा विद्यार्थीलाई सिर्जनशील तबरले भन्दा पनि बढि अंक ल्याउन जबरजस्ती घोकाउन बाध्य पार्ने प्रचलन अब हट्नु जरुरी छ ।

एसईई परीक्षा आजदेखि

विगतका वर्षमा एसएलसी परीक्षाको रुपमा लिइँदै आएपनि यसवर्षदेखि एसईईका रुपमा रहेको कक्षा १० को अन्तिम परीक्षा विहीबारदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा छात्र दुई लाख ५९ हजार ७३२ र छात्रा दुई लाख ७८ हजार ४५० रहेको बताए ।

पश्चिमाञ्चलका १६ जिल्लाबाट कूल ९९ हजार तीन सय ६६ विद्यार्थी सहभागी हुँदैछन् । सबैभन्दा बढि रुपन्देहीमा१ ८ हजार सात सय ती विद्यार्थी परीक्षामा सामेल हुँदैछन् भने सबैभन्दा कम मनाङमा ६१ जनाले परीक्षा दिँदैछन् । अर्को, हिमाल पारीको जिल्ला मुस्ताङमा एक सय ८० सहभागी हुँदैछन् । नवलपरासीमा ११ हजार आठ सय १२, स्याङ्जामा सात हजार दुई सय ७०, कपिलवस्तुमा सात हजार दुई सय ४२, तनहुँमा छ हजार छ सय ८०, बाग्लुङमा छ हजार दुई सय ४१, पाल्पामा पाँच हजार छ सय ५२, गुल्मीमा पाँच हजार एक सय दुई, गोरखामा चार हजार आठ सय ४३, पर्वतमा चार हजार चार सय १९, अर्घाखाँचीमा चार हजार दुई सय ५०, लमजुङमा तीन हजार चार सय ६१, म्याग्दीमा दुई हजार चार सय ९६ जना परीक्षामा सहभागी हुँदैछन् ।

कास्कीबाट १० हजार नौ सय ३२ विद्यार्थी सहभागी हुने भएका छन् । बिहीबारबाट सुरु हुने परीक्षामा नियमिततर्फ १० हजार छ सय ५२ विद्यार्थी छन् । इक्जाम्टेडतर्फ १ सय १ जना र ग्रेड वृद्धिका लागि १ सय ३२ जनाले परीक्षा दिँदै छन् । ७० प्रतिशत हाजिरी नपुगेर १ सय ७१ जना भने अयोग्य ठहरिएको जिल्ला शिक्षा कार्यालय कास्कीले जानकारी दिएको छ । दृष्टिविहीन ४ जनाले परीक्षा दिँदैछन् । अमरसिंह नमुना माविका २ र जनप्रकाश माविका २ जना दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । यस्तै सुस्त स्रवण भएका सिर्जना बहिरा माविका १५ विद्यार्थीले परीक्षा दिनेछन् । कास्कीमा प्राविधिकतर्फ ४७ विद्यार्थीले परिक्षा दिनेछन् । कारागारमा रहेका ४ जना र बाल सुधार गृहमा रहेका १० विद्यार्थी परीक्षामा सामेल हुनेछन् ।

कास्कीमा ३१ परीक्षा केन्द्रमा हुने परीक्षा सञ्चालनका लागि ३३ केन्द्राध्यक्ष, ५३ सहायक केन्द्राध्यक्ष, ४ सय ५४ निरीक्षक, २ सय ३३ सहयोगी र २ सय २५ सुरक्षाकर्मी खटिनेछन् । सबै परीक्षा केन्द्रमा परीक्षाको तयारी पूरा निमित्त जिशिअ दीपेन्द्र ढकालले बताए ।

पहिलो दिन चैत ३ गते अनिवार्य अंग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिकतर्फका विद्यार्थीको भने चैत्र १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि एक हजार नौ सय २३ केन्द्रको व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक रेग्मीका अनुसार परीक्षाका लागि एक हजार नौ सय २३ जना केन्द्राध्यक्ष, दुई हजार छ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, ११ हजार सात सय १६ सहयोगी र २८ हजार आठ सय ४५ जना सुरक्षाकर्मी गरी ६७ हजार ५ सय ९१ जना जनशक्ति परिचालन हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here