रञ्जन अधिकारी पोखरा, २१ पुस / विन्ध्यवासिनी मन्दिर दर्शन गर्न कोहि सिढी उक्लदैंछन् । देवी पुजेर फर्कनेहरु दीनदुःखीलाई केहि पैसा दिँदैछन् । त्यही समूहको अघिल्तिर सानी नानी फुरुक्क पर्दै स्कुल जान हतारिएकी छिन् । सेतो सर्टलाई नीलो स्वीटरले छोपेको छ । निलो फ्रक, पछाडी रातो झोला, दुई तिर रातो रिबनले बाँधेको कपाल, निधारमा पहेंलो टीकाले चिटिक्कै छिन् । जुत्ताको मात्र अभाव देखिन्थ्यो । नजिकैकी महिला चियामा बिस्कुट घुलाउँदैछिन् । छेवैमा दुई वैशाखी आफै ढलिरहेका छन् ।

bindhyabasini-yogi-family-2

मन भएकाहरुबाट पाउने दान थापेर अशक्त आमाले तीन वर्षीया छोरी स्कूल पठाएको दृश्य देखियो । नजिकै पुग्दा ति सानी नानीले फोटोको लागि ‘शान्ति’ को भाव झल्कने दुई औंलो ठड्याएर ‘पोज’ दिईन् । फोटो खिचेपछि उनी मुसुक्क हाँसेर चिया गिलास लिएर यताउति दगुर्न थालिन् । मन्दिर उक्लने सिढिँ नजिकै वैशाखी लिएर भक्तजनको दानको आशामा बसेकी कमला माझीले तीन वर्षकी छोरीलाई नजिकै पढ्न पठाउने रहिछन् ।

नजिकै अर्का योगी बसेका छन् । उनको काखमा नाबालक छन् । पुषको ठण्डीमा छोरोको शरीरको तल्लो भाग ह्वाङ्गै छ । योगीको काखमा बसेका बालक कमला तिर आउन खोजिरहेका छन् । ‘अनि यो बाबु नानीको बुबा खोई त नि ?’ प्रश्न सोध्न नभ्याउँदै कमलाले जवाफ फर्काईन् — ‘उहाँ नै त हुनुहुन्छ नि ।’ कमलाको उत्तरमा होमा हो मिलाए बाबाले पनि– ‘मै हुँ, मैले नै सँगै राख्दै आएको छु ।’ तर पछि कमलाले नै भेद खोलिन् । नानीको बुबा चाहिँ जन्मने बित्तिकै खसिसकेका रहेछन् । ‘काठमाण्डु थियौं । बुढा बित्नुभो । अनि छोरी लिएर पोखरा आएको ।’– उनले भनिन् । बाबा हरिनाथ योगीसँग पोखरा आउनेबित्तिकै कमलाको भेट भएको विन्ध्यवासिनी मन्दिर परिसरमै हो ।

bindhyabasini-yogi-family-1
योगीलाई चार वर्षदेखि सिढिँको पल्लोपट्टी पुजासामाग्री, धार्मिक पुस्तकका साथ त्रिशुल ठड्याएर भक्तजनलाई टीका लगाउन ठिक्क परेर बस्दै आएको भेटिन्छ । कमला काठमाण्डुबाट पोखरा फर्केपछि भक्तजनबाट केहि दान पाउने आशामा बाबा नजिकै बस्न थालिन् । उसो त कमलाले काठमाण्डुमा पनि स्वयम्भूमा बसेर यसरी नै हातमुख जोड्दै आएकी थिईन् । त्यहाँ जानु अघि पनि यसरी नै गुजारा चलेको थियो ।

कमलाले दिनभरी यसरी मागेको पैसा साँझ भएपछि आवारा केटाहरुले लुट्ने गर्दा रहेछन् । यसको साक्षी उनै हरिनाथ थिए । ‘काखमा भर्खरै जन्मेकी नानी थिईन् । दिनभरी नजिकै माग्न बस्थिन् । रात परेपछि खाते केटाहरु, गँजडी केटाहरुले लुट्थे । मेरै आँखा अगाडि कति लुटिईन् लुटिईन् ।’ – योगीले भन्दै गए— ‘तपाईंहरुले यस्ता मान्छेलाई अपनाउनुहुन्छ त ? मलाई दया लाग्यो । चार महिने सुत्केरी थिईन् । न कसैले खाने कुरा दिन्छ ? न रात काट्ने ठाउँ छ । त्यसैले मैले संगै राखेको । माया पनि पलायो । छोरो पनि भयो । यही हो ।’ योगी मुखै छोपिने जुंगा स्याहार्दै फिस्स हाँसे । उनले हरिनाथ योगीको छोरो काशीनाथ योगी हुनुपर्छ भनेर नाम नै काशीनाथ राखिदिएका छन् । ‘अनि छोरीको नाम नि ?’, ‘उसको बुबाले निरुता राखिदिएका रे हामीले पनि निरुता नै भन्छम् ।’ बाबाको कुरा सुनेपछि नजिकै बसेकी निरुता मुसुक्क मुस्काईन् ।

५२ वर्षका योगीले आफ्नो घर दाङ घोराही नगरपालिका १०  भएको र चार वर्षअघि पोखरा आएको सुनाए । बाबा भन्दा झण्डै आधा उमेर कम कमलाको विगत भने तीतो छ । स्याङ्जा खिलुङदेउराली घर भएकी २९ वर्षीया कमलाको जन्मदेखि नै बायाँ गोडा चल्दैनन् । यताउति हिँड्न पनि वैशाखी चाहिन्छ । घरतिरै रहेका बेला एउटा मजदुरले उनलाई बिहे गर्छु भन्दै भगाए । उनलाई अझै पनि आफ्नो पहिलो श्रीमान्को नाम थर थाहा छैन । ‘खोई पर्वत कुश्माका रे । राम्री केटी देख्यो । तिम्रो खुट्टा नि छैन । म लैजान्छु पाल्छु भनेर लगेछन् ।’ — योगीले रहस्य खोले– ‘के को पाल्नु ? पोखरा ल्याएपछि पृथ्वीचोकमा बसपार्कतिर माग्न पठाउने अनि आफू मोज गर्न थालेछन् ।’ योगीको कुरा नसकिँदै कमलाले थपिन् – ‘पोखराबाट काठमाण्डु लगेर स्वयम्भूमा माग्न बस्न भन्यो । मैले बटुलेको सबै पैसा रक्सी खान्थ्यो । दिनदिनै कुट्थ्यो । पछि रक्सी खाँदा खाँदै म¥यो ।’

श्रीमान् बित्दा छोरी जन्मेको दुई महिनामात्रै भएको थियो । सुत्केरी महिला देखेपछि प्रहरीले स्याङ्जा माईती थाहा हुनासाथ बस चढाएर पोखरातर्फ फकाईदिए । त्यसपछि कमला विन्ध्यवासिनी मन्दिर सम्झेर त्यहाँ पुगिन् । ‘साह्रै गाह्रो थियो हजुर । न खान पाईयो न सुत्न पाईयो । बाबाले आपत्मा ठूलो गुन लगाउनुभयो । सबै भगवान्कै खेल ।’ कमला बाबातिर हेर्दै खुशीभाव प्रकट गरिन् । अहिले कमला बाबासँग मन्दिर पछाडी कोठा भाडामै लिएर बस्दै आएकी छिन् ।

योगीले फेरि भने – ‘मैले अवला नारीलाई दया गरेको हुँ । नत्र चार महिनाकी सुत्केरी स्याहारेर कसले पाल्छ ? त्यसमाथि उनी अपांग छिन् । माया बसेपछि पाएको छोरो नि १३ महिना पुग्यो । ल हेर्नुस् त ?’ कमला लजाईन् । ‘आफ्नो छोरो जस्तै छोरीको माया लाग्छ त ?’, प्रश्न सुनेपछि बाबालाई दिक्क लागेछ क्यारे, भनिहाले– ‘हे भगवान् , नत्र हुर्कनै पाउने थिएन नि । चार महिनादेखि स्याहारेको छु ।’

मागेरै छोरी पढाउने अपांगता भएकी महिला देखेपछि सुरु भएको कुराकानी बिट मार्दै गर्दा पत्रिकामा छाप्छु । एउटा फोटो परिवारकै खिचम् ? भन्ने आग्रह नसकिदैं उनले हतारिएर गुनासो पोखिहाले – ‘हेर्नुस् न बाबु सरकारी सहयोग नै मिलेको छैन । अपांगता भत्ता पाईएन ।’, ‘ तपाईंको श्रीमतीले नागरिकता बनाउनुभएको छैन ?’, ‘नागरिकता पनि छ । यहाँ जानुपर्ने ठाउँ गएँ । स्याङ्जा नै जानुपर्छ भन्छन् । म यति साना छोराछोरी लिएर कमलाको माईती ठाउँमा यस्तो मान्छे कसरी जाऊँ ?’

दयाबाट सुरु भएर दुईतर्फी मायामा भिजेको यो जोडी देखेर जान्नेबुझ्नेहरु दंग पर्छन् । ‘आउँदा कस्तो थियो ? सानी नानी । झुत्रे झाम्रो थियो ।’ – नजिकै पुजासामाग्री बेच्दै आएकी गंगा भण्डारीले भनिन् – ‘बुढाले खुब माया गर्छन् । माग्न पनि संगै बस्छन् । छोरीलाई तीन वर्षमै नजिकैको पाठशालामा पठाएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here