स्त्रीलम्पट खड्काको प्रहरीसँग लुकामारी

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Puskar Khadka

रञ्जन अधिकारी पोखरा, ६ पुस / आफूलाई मोडल एजेन्सीको सञ्चालक भन्ने, मोडलिङप्रति आकर्षित युवतीलाई होटलमा बोलाउने, सेक्स प्रस्ताव राख्ने, नमाने जबरजस्ती गर्ने, साथमा रहेका गहना, धनमाल लुट्ने अनि कोठामा थुनेर भाग्ने । यस्तो आपराधिक मानसिकता बोकेका पुष्कर खड्काको यो ‘सुत्र’ चार वर्ष अघि नै असफल सावित भएको थियो । जतिबेला उनी पोखराका चेलीहरुमाथि यो हर्कत अपनाए र काठमाडौंमा पक्राउ परेका थिए ।

जेलबाट भाग्न सफल भएर पनि खड्काले यही ‘फेलियर फर्मुला’ फेरि अपनाउने कुचेष्टा गरे । र, अहिले फेरि उही कथा दोहोरियो । युवती दुव्यर्वहारकै घटनामा संलग्न भएका खड्का युवती नै प्रयोग गर्दै प्रहरीको आँखा छलेर भागेका थिए, युवतीसँगको सम्बन्धकै कारण अहिले पक्राउ परेका हुन् ।

खड्का उही कैदी हुन्, जो गत मंसिर ९ गतेदेखि पोखराबाट फरार थिए । यहाँको होटल दीपसागर, न्यूरोडबाट भागेका खड्कालाई गण्डकी मेडिकल कलेज अस्पतालको शौचालायबाट भाग्यो भनेर स्वयं प्रहरीले गलत हौवा फैलाएको घटना सेलाएको छैन । दाँत उपचार गर्ने बहानामा युवती भेट्न होटल लगिएपछि ड्युटीमा खटिएका प्रहरी अहिले आफै हिरासतमा छन् । एकातर्फ प्रहरीलाई नै नाटकीय ढंगले झुक्याएर भाग्न सफल खड्का यहाँको प्रहरीलाई टाउको दुखाई बनेको थियो । अर्कोतर्फ, प्रहरी नै युवती मिलाउने काममा मुछिएपछि ‘हाई लेभल‘ कै मिलेमतोको आशंका उत्तिकै छ । युवती जबरजस्ती काण्डमा गत मंसिर २३ गते काठमाण्डौबाट पक्रेका युवक ‘अभय खड्का’ नै पुष्कर खड्का भएको खुलेपछि कास्की प्रहरीको टाउको दुखाई घटेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले खड्कालाई काठमाडौंको प्रहरी बृत्त कमलपोखरीको टोलीले पक्राउ गरेको पुष्टि गर्दै त्यहाँको अभियोग किनारा लगाएपछि पोखरा ल्याईने बताए ।

युवतीसँग यौन प्यास मेटाउन होटल लगिएको बेला भागेका भनिएका खड्का काठमाण्डौमा युवतीलाई नै जबरजस्ती गरेको अभियोगमा पक्राउ परेका हुन् । अनुसन्धानका क्रममा उनी पोखराबाटै भागेका खड्का भएको खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले खड्का नै पक्राउ परेको जानकारी दिएका छन् । पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेर अन्तवार्ता स्थलका रुपमा विभिन्न होटलहरुलाई राख्ने र सोहि ठाउँमा युवतीलाई एक्लै बोलाउने गरेको पाईएको कार्कीले बताए ।

परिसरका डिएसपी सिद्धिविक्रम शाहका अनुसार खड्काले पोखराबाट भागेको एक हप्तामै काठमाण्डौमा फेरि यही धन्दा सुरु गरे । मंसिर २३ गते भने युवती चलाख भएकोले खड्का होटल तिरुपतिबाटै पक्राउ गर्न सफल भएको हो । घटना विवरण अनुसार पत्रपत्रिकामा मोडल एजेन्सीको नामबाट विज्ञापन गर्ने गरेका खड्काले मंसिर २३ गते पुतलीसडक स्थित होटल तिरुपति छानेका थिए । उनी बिहान होटलमा पुगेर रविन जोशी, भक्तपुर नाम ठेगाना ईन्ट्री गरेका थिए । केहि समयपछि होटलमा एक युवती आईन् । खड्काले युवतीलाई होटेलको कोठामा बोलाए । सामान्य कुराकारी गरेपछि युवतीलाई उनले आफूसँग यौनसम्बन्धका लागि प्रस्ताव गरे । युवतीले ठाडै नकारिन् ।  युवतीलाई जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गर्दा युवती चिच्याईन् र खड्का भाग्ने प्रयास गरे । तत्काल होटलका कर्मचारी तथा सेक्युरिटी गार्ड मिलेर उनलाई समाएर प्रहरीलाई बुझाए ।

अभय खड्का नाम गरेका ती व्यक्तिमाथि अनुसन्धान गर्दा प्रहरी चकित भयो । यसअघि, मंसिर १७ गते सुन्धारा स्थित न्यू सोनी गेष्ट हाउसमा युवती बोलाएर बलात्कार नै गरेको पुष्टि भयो । अभय खड्का भनिएका उनी पुष्कर खड्का नै भएको प्रमाणित भयो । पक्राउ परेका खड्काले झण्डै डेढ दर्जन वटा युवती दुव्र्यवहार तथा बलात्कारका घटनामा आफू संलग्न रहेको स्विकारेका छन् । यौनप्रति आशक्त खड्काले धेरैपटक युवतीहरूलाई मोडल र नायिका बनाउने भन्दै ठगी गरेको खुलेको छ ।

काभ्रे जिल्ला चाचाल गोश्वारास्थान ६ घर भई कास्की कारागारमा शरिर बन्धक तथा अपहरण मुद्धामा जेल सजाय खेपिरहेका ३५ वर्षीय पुष्कर खड्काले २०६९ माघ २० गते सुन्धारा होटलमा एक युवतीलाई जबरजस्ती प्रयासपछि गहना लुटपाट गरेका थिए । उनी २५ हजार धरौटीमा छुटे । त्यसपछि पोखरा आए र सोहि वर्ष चैत ५ गते होटल निलकमलमा पोखरा लामाचौरकी एक युवतीलाई मोडल बनाईदिने भन्दै बोलाएर हतियार देखाएर लुटेका थिए । ती युवतीबाट ३ तोलाको सुन, आइफोन र नगद १२ हजार रुपैयाँ लुटेका थिए ।

२०६९ चैत १७ मा पोखराकै होटल सन्तोषीमा बोलाएर खडकाले नदीपुर बस्ने एक महिलालाई बन्धक बनाएर लुटे । पार्टी दृश्य रहेको भन्दै गरगहना लगाएर आउन भनेपछि ती महिला गहनाले झकिझकाउ भएर होटल पुगेकी थिइन् । बन्दुक देखाएर लुटेपछि ती युवतीलाई ट्वाईलेटमा थुनिदिएका थिए । युवतीको साथबाट सुनको सिव्रmी, दुई मुन्द्रा मोबाइल, क्यामेरा र नगद ८ हजार रुपैयाँ लुटेर उनकै स्कुटर लिएर भागेका थिए । भोलिपल्ट अमरसिंह चोकमा स्कुटर फेला परेको थियो ।

पोखरामा दुई घटना घटाएर फरार खड्कालाई २०६९ साल चैत २३ गते काठमाडौं प्रहरीले कालिमाटीमा पक्राउ ग¥यो । त्यसपछि चैत्र २६ गते कास्की प्रहरीलाई बुझाएको थियो । खड्का २०७० वैशाख २६ गते कास्की अदालतको फैसला अनुसार कास्की कारागार चलान भए । त्यसपछि थुनामा रहेका खड्कालाई कास्की जिल्ला अदालतले २०७१ असार ३२ गते २०८० असार १० सम्म कैद सजाय हुने फैसला गरेको थियो । सुमित्रा दाहालको जाहेरीको आधारमा हेटौंडा बस्दै आएका खड्कालाई अपहरण तथा शरिर बन्धक मुद्धामा ६ वर्ष एक महिना १५ दिन र जरिवाना चार लाख आठ हजार छ सयको समेत कैद हुने ठहरी  २०७० वैशाख २६ देखि २०८० असार १० गतेसम्म थुनामा राख्न जिल्ला कारागार कार्यालय कास्कीलाई कैद म्याद ठेकी पठाएको थियो ।

प्रहरीका अनुसार खड्काले पछिल्लो दुई घटनाबाट जबरजस्ती करणी र प्रयासमा छुट्टाछुट्टै सजाय भोग्नुपर्नेछ । अनुसन्धान जारी रहेकाले अन्य घटना संलग्न भएको भए पनि स्थान अनुसार सजाय थप हुनेछ । पोखरामा सात वर्ष कैद भुक्तान बाँकी छँदै भागेकाले कानुनानुसार सजाय थप हुनेछ ।

पोखराको होटलबाट खड्का भागेपछि कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले अस्पतालबाट भागेको कहानी बनाएर मिडियामा दुस्प्रचार गरेपनि होटलबाट भागेको तथ्य खुलेपछि उनको सुरक्षामा खटिएका प्रहरी पनि कारवाहीमा परेका छन् । प्रहरी सहायक निरीक्षक बोजकुमारी क्षेत्रीको नेतृत्वमा प्रहरी हबल्दार श्याम परियार र कारागारका एक कर्मचारी अस्पताल जाने भन्दै हिँडेका थिए । कैदी भागेपछि उनीहरु अहिले हिरासतमा छन् ।

यस्तो छ खड्काको नालीबेली

२०६९ माघ २० – सुन्धारा होटलमा युवतीलाई जबर्जस्ती प्रयास। २५ हजार धरौटीमा थुनामुक्त
२०६९ चैत ५ – पोखरा लामाचौरकी युवतीलाई होटल निलकमलमा बोलाई लुटपाट
२०६९ चैत १७ – पोखरा नदिपुरकी युवतीलाई होटल सन्तोषीमा बोलाई लुटपाट
२०६९ चैत २३ – काठमाडौंको कालीमाटीबाट प्रहरीद्वारा पक्राउ
२०६९ चैत २६ – कास्की प्रहरीलाई हस्तान्तरण
२०७० वैशाख २६ – ६ वर्ष १ महिना १५ दिन र चार लाख आठ हजार छ सयको समेत कैद हुने गरी कास्की कारागार चलान
२०७३ मंसिर ९ – अस्पताल जाने निहुँमा युवतीको सहयोगमा होटल दिपसागरबाट फरार
२०७३ मंसिर १७ – काठमाण्डौ सुन्धाराको न्यू सोनी गेष्ट हाउसमा युवती बोलाएर बलात्कार
२०७३ मंसिर २३ – पुतलीसडक स्थित होटल तिरुपतिमा युवतीलाई जबरजस्ती गर्ने क्रममा पक्राउ

आदर्श समाज दैनिकमा प्रकाशित न्युज

Related News

सम्बन्धित समाचार

Archives

Archives