पोखरा रंगशालाको फुटबल मैदान बनाउन १ अर्बको टेण्डर आह्वान

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Pokhara-Stadium
  • केशव पाठक

लामो समयको प्रतिक्षापछि पोखराको फुटबल स्टेडियम निर्माण गर्न ग्लोवल टेन्डर आह्वान गरिएको छ । मंगलबार दैनिक एक अंग्रेजी पत्रिकामा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रकाशित टेन्डरमा १० महिनामा काम सकिने गरि ग्लोवल टेन्डर आह्वान गरिएको हो ।

प्रकाशित टेन्डरमा परिषदले १३ औं साग लाई मध्येनजर गर्दै पोखराको फुटबल स्टेडियम निर्माण सम्पन्न गर्न टेन्डर आह्वानमा स्पष्ट खुलाइएको छ । स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्ष लगाएत रहनु पर्ने भनिएको छ । फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनु पर्ने बताइएको छ ।

यता ट्रयाक एण्ड फिल्ड तर्फ अन्तराष्ट्रिय मापदण्डको सेन्थेटिकको ८ लनेको ट्रयाक सहित १०० मिटर र ४ सय मिटरको हर्डल दौडका लागि व्यवस्थित ट्रयाक निर्माण गर्नु पर्ने उल्लेख छ । स्टेडियम भने २० हजार दर्शक क्षमताको हुनु पर्ने जनाइएको छ । स्टेडियमलाई आधुनिक ल्फड लाइट सहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत हुनु पर्ने जनाइएको छ । स्टेडियममा टेलिभिजनका ठूला स्क्रिन समेत जडान गरिने छ । विडिङ्गका लागि मात्रै सुरुमा कम्पनीले २० हजार खर्च गरि टेन्डर पुस्तिका किन्नु पर्ने छ । २०७४ मंसिर २ गते सम्म टेन्डर खरिदका लागि अन्तिम समय दिइएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलका अनुसार निर्माण हुन लागेको उक्त स्टेडियम करिब १ अर्ब रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सन २०१९ को मार्चमा नेपालमा आयोजना हुन लागेको दक्षिण एशियाली खेलकुदका लागि यो स्टेडियम तयार भयो भने पोखरामा अन्य खेलकुदहरु समेत थपिने उनले बताए । नेपाली खेलकुदको नेतृत्व सम्हालिरहेका नेपालका दुइ संस्थाहरु युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका बिचमा बढेको चिसोपनले कतै टेन्डर नै नहुने आशंका धेरैमा थियो ।

समितीका अध्यक्ष पौडेल धेरै आशंका बिच पनि ग्लोवल टेन्डर आह्वान गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न कोसे ढुङ्गा सावित हुने बताए । ‘दुवै संस्थालाई एकै ठाउँमा राखेर यो काम गर्न सफल भँए यो हामी पोखरेलीहरुको गौरवको विषय हो’ उनले भने ।

Related News

सम्बन्धित समाचार

Archives

Archives