‘प्रदेश ४ लाई देशकै नमूना प्रदेश बनाउने गरि योजनाहरु सोचिसकेँ’ – एमाले नेता किरण गुरुङ

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ९, २०७४
Kiran Grg

नेकपा एमालेका स्थायी समिती सदस्य तथा प्रभावशाली नेता किरण गुरुङ यतिबेला प्रदेश नम्बर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको चाँजोपाँजो मिलाउन ब्यस्त छन् । उसो त उनी पार्टी प्रदेश नं. ४ कै नेतृत्व गरेर बसिरहेका छन् । अब भने प्रदेशकै मुख्यमन्त्री हाँक्न तयारी अवस्थामा छन् ।  प्रदेश नम्वर ४ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता किरण गुरुङ तनहुँ क्षेत्र नम्वर २ (ख) वाट प्रदेश सभामा उम्मेदवार बनेका छन् ।

विद्यार्थी अवस्थादेखि नै राजनीतिमा होमिएका गुरुङ वामपन्थी आन्दोलनमा लागेर दश वर्ष भन्दा लामो समय भूमिगत जीवन बिताएका व्यक्ति हुन् । तनहुँ क्षेत्र नं. ३ बाट पहिलो संविधान सभामा निर्वाचित गुरुङ २०४८ सालको आम चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । निरन्तर जनताको पक्षमा लागेर राजनीति गर्दै आएकाले आफूलाई जनताले जिताउने उनको बिश्वास छ ।

२०६४ सालको संविधान सभा चुनावमा तनहुँ क्षेत्र नम्बर ३ बाट अत्यधिक मतले विजयी गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा वनमन्त्रीको जिम्मेबारी पाएका थिए । गण्डकी धौलागिरी क्षेत्रका पुराना र शीर्ष नेता गुरुङ एमालेको गत महाधिवेशनमा उपाध्यक्ष पदमा चुनाव लडेका थिए ।

प्रस्तुत छ, नेकपा एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङसंग यिनै सन्दर्भहरुमा गरेको संक्षिप्त कुराको सम्पादित अंश । 

प्रदेश नं ४ मा निर्वाचनको तयारी कस्तो छ ?

देशभरका ३२ जिल्ला अन्तर्गत हाम्रो प्रदेशका ६ वटा टा जिल्लाहरुमा पहिलो चरणमा ज्यादै उत्साहवद्र्धक तवरले उम्मेदवारी दर्ता भएको छ । वाम गठबन्धनको तर्फबाट संयुक्त रुपमा उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारी दर्ता भए पछाडि चुनावी तयारीका लागि पार्टीहरुका संयुक्त बैठक तथा भेलाहरु भइरहेका छन् । तयारी तिव्र गतिमा अगाडि बढेको छ ।

यो निर्वाचनमा बामगठबन्धन आवश्यक थियो र ? यसो गर्दा एमालेका धेरै नेता कार्यकर्ता माथि अन्याय भएन र ?

यो गठबन्धन समयको माग हो, आम जनताको चाहना हो । अबश्यनै, गठबन्धको कारण धेरै योग्य साथीहरु उम्मेदवार बन्नबाट बञ्चित हुनुभएको छ । उहाँहरुको बारेमा पार्टीले ज्यादै गम्भीरतापूर्वक सोचेको छ । यस पटक त्याग गर्ने कमरेडहरुलाई पार्टीले उचित व्यस्थापन गर्ने छ । झट्ट हेर्दा उहाँहरु माथि अन्याय भएको जस्तो देखिए पनि उहाँहरुको त्यागको जगमा नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने महान अभियान सफल हुदैछ र समाजवाद निर्माणको बाटो सुनिश्चित बन्दै छ । त्यसैले अन्यायको अनुभूति होइन एउटा युगीन अभियानको आफूलाई एउटा अभियान्ता सम्झेर सबैले गौरवबोध गरौं ।

प्रदेश नम्बर ४ मा स्थानीय निर्वाचनको परिणाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो थिए । एमाले र माओवादीको संख्या जोड्दा पनि कांग्रेस अगाडि नै छ ।

के यो प्रदेशमा वामपन्थी गठबन्धनको सरकार बन्छ त ?

स्थानीय तह निर्वाचनको परिणाम एउटा कालखण्डको सत्य हो भने यस निर्वाचनको अवस्था र परिणाम अर्को सत्य हो । आजको अवस्थामा यस प्रदेशमा वामपन्थी गठबन्धन ज्यादै मजबुत अवस्थामा छ । त्यसैले अन्य प्रदेशमा जस्तै गरि यस प्रदेशमा पनि दुई तिहाई बहुमत सहित हामीले बामपंथीहरुको सरकार बनाउछौं ।

त्यसो भए त्यो सरकारको नेतृत्व कसले गर्छ ? पार्टीको प्रदेश संयोजक भएको हिसावले तपाईले हो ?

यस बारेमा पार्टीले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । पार्टीको बर्तमान जिम्मेवारी र अन्य धेरै कारणले मेरो यसमा दावा स्वभाविक हो । अघिल्ला केही अनौपचारिक छलफलहरुमा यसमा चर्चा चलेका केही कमरेडहरु स्वयंले मलाई मुख्य मन्त्री बन्नुहोस् पनि भन्नु भएको छ । त्यसकारण पार्टीले यो जिम्मेवारी मलाई नै दिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । मैले त्यस हिसावले यस प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने गरि केहि योजनाहरु सोचेको पनि छु ।

कस्ता योजनाहरु सोच्नु भएको छ ?

अहिले पार्टी केन्द्रले घोषणा पत्र तयार पार्दैछ । त्यसैको जगमा हामीले प्रदेशको पनि घोषणा पत्र बनाउँछौं । प्रदेश सरकारका केही परिकल्पनाहरु हामीले त्यसमा ल्याउँछौं । यस प्रदेशको विशिष्टतामा आधारित केहि कामकाजी र मुर्त योजनाहरु ल्याउने तयारीमा हामी छौं । ती सबै योजनाहरु घोषणापत्र सार्वजनिक गर्दा थाहा पाउनुहुने छ ।

  • नयाँसवाल

Related News

सम्बन्धित समाचार

Archives

Archives