छक्का पञ्जा २ कहाँ चुक्यो ? दीपकको टाउको दुखाई बन्यो एउटै स्टाटस

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
chhakka Panja 2
  • रञ्जन अधिकारी

दिपकराज गिरी र दिपाश्री निरौला नाममाथि धेरै लेखिरहनुपरेन । दुई दशक अघिको ‘ट्वाक्कटुक्क’का ‘रामबिलास’ र ‘धनियाँ’देखि ‘तितोसत्य’ हुँदै ‘छक्का पञ्जा २’ सम्म आईपुग्दा किशोरपुस्तादेखि पाको उमेरकाले चिन्ने जोडी हो दिपकदीपा । हाँस्य टेलिसिरियल तितो सत्यको डेढ दशक अनवरत यात्रालाई बिराम दिएर सत्तरी दशकको सुरुवातीसँगै ठूलो पर्दामा हामफालेको यो टीमले त्यसपछि वर्षेनी हिट चलचित्र बनाईरहेको छ ।

‘६ एकान ६’ फिल्म सुपरहिट बनेपछि ‘वडा नम्वर ६’ जस्तो सफल चलचित्र पस्केको यो टीम जब ‘छक्का पञ्जा’ तिर पुग्यो । अनेक प्रकरण र विवाद सुरु भयो । चलचित्र ‘छक्का पञ्जा’ लिक गरेको आरोप लागेका नवलपरासी शिवमन्दिर ३ घर भई काठमाण्डौमा अध्ययनरत कृष्ण सुवेदीले सुसाईड नोट लेख्दै आत्महत्या गरेपछि दिपकराज गिरी विवादमा तानिए । उसो त महिला लेखक/समालोचकहरुले महिला निर्देशक दीपा श्री निरौला रहेपनि ‘महिला डोमिनेटेड फिल्म’ भयो भनी खरो रुपमा  कलम चलाए । विदेश जाने बेला आफ्नो श्रीमती चोखै राख्न गाउँभरीका युवकलाई  भाइटीका लगाएर फिल्मले बिट मारेको थियो ।

सिक्वेल ‘छक्का पञ्जा २’ को पहिलो गीत ‘ए दाजु नसमाउ नाडीमा’ ले चोरीको आरोप धेरै खेप्यो । सर्वत्र आलोचना सेलाउन नपाउँदै आरजु बिष्ट सल्यानीको ‘झ्याम्म झ्याम्म’सँग मिल्ने दोस्रो गीत सार्वजनिक भयो । अहिले फिल्म प्रदर्शनीसँगै कथावस्तुमै सरोकारवालाले गम्भिर प्रश्न चिन्ह उठाएका छन् । फिल्ममा केदार घिमिरे माग्नेबुढोको भूमिका शैक्षिक परामर्शदाताको छ ।

फिल्मले नकारात्मक सन्देश दिएको भन्दै एजुकेशन कन्सल्ट्यान्टहरुले चर्को विरोध गरेका छन् । पोखराको चर्चित ‘किंग्स इन्स्टिच्युट’ का सञ्चालक महेश भण्डारीले फिल्म हेरेपछि लेखेको स्टाटस अहिले भाइरल भएको छ । जुन स्टाटस दिपकराज गिरीको टाउको दुखाई बनेको छ ।

यस्तो छ स्टाटस ।

‘छक्का पञ्जा’ र यसको टिम यस्तो ब्रान्ड हो जो ‘जे बेचे पनि बिक्छ’ भन्ने मान्यताबाट दिगभ्रमित छ । विश्वास लाग्दैन भने ‘छक्का पञ्जा- २’ हेर्नुस् ।
छक्का पञ्जा गरेर पैसा कमाउनका लागि बनाईएको झूर फिल्म हो- छक्का पञ्जा- २ । कथामा कुनै तयारी छैन । विषयवस्तुमाथि कुनै अध्ययन छैन । मिहिनेत पोलेर खाइएको छ । रथरुपी फिल्मका नट र पेचहरु हल्लिँदै र फुस्कँदै जान्छन् । ठाउँ कुठाउँमा रथ पल्टे पछि, पात्र लडेपछि हाँसो नलागे अरु के लाग्छ ? एउटा शैक्षिक परामर्श दाताको भूमिकामा माग्ने बूढालाई उभ्याइएको छ ।

प्रिय दीपक र दीपाजी, शैक्षिक परामर्श दाताको सँगत गर्नुस् एक पटक । उनीहरुलाई नजिकबाट नियाल्नुस् । उनीहरू जोकर होइनन् । उनीहरू करिअर काउन्सलर हुन् । उनीहरूलाई भेट्न विद्धार्थी अभिभावकको लाइन लाग्छ । उनीहरू विद्धार्थीलाई भेट्न कतै दौडी रहनु पर्दैन । शैक्षिक परामर्श दाताको काम सल्लाह दिने हो । एउटा विद्यार्थीको लागि विवाह गराउन पुरेत खोज्न आँफै घाटमा धाउने र गाविसमा घुस खुवाउन आँफै वडा कार्यालय पुग्ने त्यस्तो कुन परामर्श दाता देख्नु भयो यहाँले ? अध्ययन नै नगरी, रिसर्च नै नगरी थाहा नपाएको विषयमाथि फिल्म नै बनाई दिने ! हावा कथा बुनेर कुनै पनि पेशालाई तुच्छ र पेशाकर्मीलाई पंगु बनाउने यो कस्तो तरिका हो ?

अष्ट्रेलियामा अध्ययन गर्न चाहने बहानामा नक्कली बिहे गर्न खोज्ने जोडीको कथालाई समेट्न खोजिएको छ । अष्ट्रेलियाको भिसा प्याकेटमा आउँदैन । कुरियरबाट आएको प्याकेटबाट पासपोर्ट झिकेर भिसाको थाहा दिइँदैन । यो कुरा फिल्म मेकरलाई थाहा नभएको प्रष्ट देखिन्छ । कति हाँस्नु ? फिल्ममा कन्सल्टेन्सीको मान्छे पासपोर्टको पेज पल्टाउँदै गर्छ, नायिका राम् राम् भनेर फिंगर क्रस गरेर बसेकि हुन्छे । अष्ट्रेलियाको भिसा अप्लाई अनलाईनबाट हुने सिस्टम सुरु भएको वषौँ भयो । भिसा भए/नभएको इ-मेलमार्फत जानकारी आउँछ । पासपोर्टमा कुनै छापसमेत लगाइँदैन । तर जे हुँदै हुँदैन त्यही भएको देखाइएको छ । प्रक्रिया र पद्दतीको सामान्य ज्ञान पनि लिन चुकेको छ । मुख्य कथावस्तुको महत्वपूर्ण दृश्य/संवाद नै हावादारी छ । अब सोच्नुस् फिल्म कस्तो होला?

कागजी विवाह कागजकै लागि हो, वास्तविक होइन भनेर वकिल पात्र प्रियंकाले गरेको वकालत सबैभन्दा कमजोर छ । अदालतमा गरिने विवाह अदालतको लागि मात्र मात्र हुन्न, सामाजिक विवाह समाजको लागि हुँदैन, चर्चमा गरिने विवाह चर्चको लागि मात्र हुन्न । विवाह विवाह नै हो । अझ कागजमै विवाह भएको प्रमाण पेश भई सकेपछि अदालतले यसको निर्णय एउटै बहसमा टुंग्याउँछ, फिल्ममा जस्तो पटक पटक तारेख थप्दै जाँदैन । तर फिल्ममा बतासे बयान र काइते निर्णय पटक पटक गरेको देखाइएको छ । अझ दर्शकको कन्परो त्यो बेला तात्छ जब न्यायधिशले त्यो केसको जिम्मा प्रहरीलाई लगाउँछ । दीपकजी, तँपाई आँफू हिरो बन्नको लागि कथालाई जता पनि मोडिदिने ? विवाहजस्तो पवित्र कार्यलाई चुरोटको खिल्ली बनाएर सल्काईएको, अदालतजस्तो संस्था र न्यायधिशजस्तो पेशालाई समेत खरानी बनाएर उडाइएको छ ।

मुख्य कथावस्तुमै चुकेको यो फिल्मको अन्य सहायक कथाका त्रुटीको त कुरै नगरौँ । नसुहाउँदो पात्र, अमिल्दो कथा र उरन्ठ्याउलो अभिनयले फिल्म पिँडालुको पेँडा बनेको छ । फिल्म फिल्म जस्तै हुनु पर्छ । यो टेलिसिरियलभन्दा माथि र कमेडी शोभन्दा फरक हुनु पर्छ । शैक्षिक परामर्श दातालाई खिल्ली उडाउन कस्सिएका दीपक/दीपाको टीमले सायद चिट चोरेर एसएलसी पास गरेको मान्छेलाई कथा लेख्न लगायो, मेट्रीकमा डबल फेल भएको मान्छेलाई क्यारेक्टर सेलेक्सन गर्न लगायो । निर्देशकको नाममात्रै छ, काम केही देखिँदैन । निर्देशक भन्ने कुनै मान्छे अलिकतीमात्रै एक्टिभ थियो भने फिल्म यस्तो विद्रुप बन्थेन । फिल्मको अर्को नाम हजमोला होइन । दर्शकले जे आउँछ, त्यो पचाउँदैन ।

यही स्टाटसमा दिपकराज गिरीले ४५ मिनेटमै प्रतिक्रिया दिएका छन् । भण्डारी र गिरी फ्रेण्ड लिस्टमा छैनन्, यद्यपी भाइरल बनेपछि कलाकार गिरी आफै भण्डारीको स्टाटसमा कमेन्ट गर्न आईपुगेका छन् । उनको कमेन्ट यस्तो छ ।

सयौंले लाईक तथा कमेन्ट, शेयर गरेको यो पोष्टमा दुवै तर्फका समर्थक मिसिएका छन् । दिपकराज गिरी फेसबुकको प्रोफाईल मा मोडिएका छन् । भण्डारीको प्रोफाईल पिक्चरमा सुपरहिट चलचित्र प्रेमगीत २ अंकित छ । जबकी स्टाटस विषयबस्तुमा केन्द्रित छ । गिरी भण्डारीको टिप्पणीको एक शब्द पनि प्रष्टीकरण दिएका छैनन् । नजिकका श्रोतका अनुसार कलाकार गिरीले निकटस्थलाई भन्ने गरेका छन् – “प्रेम गीत २ टीममा भण्डारी छन् । अहिले फिल्मक्षेत्रबाटै आक्रमण भएको छ । तपाईंहरु सक्दो खण्डन गर्नुस् । नेपाली चलचित्र राम्रो आफू मात्र बनाउन पाउँ, आफू मात्र चलुँ, अरुले राम्रो नबनाओस् भन्ने प्रवृत्ति हो यो ।”

भण्डारीको स्टाटसमा आएका केहि कमेन्टहरुमा भण्डारीलाई फिल्म क्षेत्रकै रुपमा बुझिएका छन् । यी कमेन्ट गर्नेहरु लाख कटेका पेजहरु चलाउने एडमिनहरु हुन् । पैसा लिएर कुनै फिल्म उचाल्ने पछार्ने आरोप अहिले पेजका एडमिनलाई लाग्ने गर्छ । केहि साता अघि पेजका एडमिन विरुद्ध निर्देशक/कलाकार निश्चल बस्नेतले स्टाटस मार्फत नै तीतो पोखेका थिए ।

तर महेश भण्डारी शैक्षिक परामर्शदाता र सञ्चार क्षेत्रसँग मात्र जोडिएका छन् । कुनै चलचित्रमा जोडिएको नाम होईन । हिन्दी, अंग्रेजीदेखि नेपालीसम्म चलेका ब्राण्डबाट बनेका फिल्म सकेसम्म नछुटाउने भण्डारीले छक्का २ को बिरोधकै लागि पूर्वयोजना बनाएर फिल्म हेर्न नगएको उनको स्टाटसबाट देखिन्छ । राम्रा लागेको चलचित्रको राम्रो नै लेख्ने, नराम्रो चलचित्रको नराम्रै लेख्ने उनको बानी छ । भण्डारी भन्छन् – ‘दिपक दिपा आफू मात्र होईन, ब्राण्ड हो । ब्राण्डले व्यापार, व्यवसायका नाममा सोझा दर्शक दिग्भ्रमित पार्नु हुन्न । सही सन्देश दिन सक्नुपर्छ । ‘स्टाटस पोष्ट गर्नु दुई दिन अघि नै उनले फुलपातीकै दिन छक्का पञ्जा २ सपरिवार हेरेको पोष्टमा देखिन्छ । हेर्नुहोस्

फिल्म टीमको टाउको दुख्ने स्टाटस पोष्ट भएको दुई दिनपछि मात्रै हो । त्यसअघि उनले विषयवस्तुमा केहि तीतो पोखेका छन् । भण्डारीको स्टाटसपछि कलाकार गिरीले दुई वटा पोष्ट गरेका छन् ।

 

गिरीले भन्ने गरेका छन् – ‘यो फिल्म उहाँहरु जस्ता वर्गको लागि होईन, दर्शकका लागि हो ।’

अन्य एजुकेशन कन्सल्टेन्सी सञ्चालकले पनि जोकरले बनाएको फिल्म जोककै रुपमा लिनुपर्ने भन्दै व्यंग्य गरिरहेका छन् । कंगारु एजुकेशन फाउण्डेशनका सञ्चालक महेशबाबु तिमिल्सिनाले यस्तो लेखे:

यो जोडी ब्राण्ड हो । ब्राण्डले समाज परिवर्तन गर्न सक्ने ल्याकत राख्छ । जसरी धुर्मस, सुन्तली हरेक नेपालीको मुटुमा बस्न सफल भईसके । यस्ता नामहरुबाट केहि अपेक्षा रहनु जायज नै हो । तर व्यापार बाहेक अन्त ध्यान नदिँदा समर्थन मात्र होईन, आलोचना पनि हुन्छ । आलोचना गरेमा पचाउन सक्नुपर्छ । पर्सनल म्यासेजमै जाईलाग्ने प्रवृत्तिको खुलेआम आलोचना समेत भईरहेको छ । नेपाली कला क्षेत्रमा दीपक दीपा लगायतको टीम महत्वपूर्ण छ । आफ्नो भूमिका नबिर्सी योगदान दिन सकुन् । नेपाली चलचित्र यसै गरी चल्नुपर्छ तर चलचित्रको ‘दर्शक ठानिएका सोझा नेपाली’ लाई हँसाउने नाममा गलत सन्देश नजाओस् । ‘छक्का पञ्जा ३’ बाट ‘६ एकान ६’ र ‘वडा नं. ६’ जस्तै निरन्तरताको कामना ।

Related News

सम्बन्धित समाचार

Archives

Archives