पोखरा सभागृह मर्मत महानगर आफैले गर्ने

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १६, २०७४
convention-center

पोखरा, १६ कार्तिक / पोखरा महानगरपालिकाको बुधबार बसेको नवौँ कार्यपालिका बैठकले पोखरा सभागृह महानगर आफैले मर्मत गर्ने निर्णय गरेको छ ।

बैठकले पोखरमा सभागृह मर्मत सम्भार ठेकेदारमार्फत नभई आफैले गर्न अदालतले दिएको निर्देशन अनुसार वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालको अध्यक्षतामा अध्ययन समिति गठन गरेको छ । समितिमा वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, ओम गौचन, वडा नं. ११ का वडाध्यक्ष मोहन बास्तोला, ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला सदस्य छन् । समितिले अध्ययन गरेर दिएको प्रतिवेदनका आधारमा सभागृहको मर्मत सम्भार हुनेछ ।

बैठकले महानगर भित्रका ढुंगा, गिट्टी बालुवाका विषयमा प्रक्रिया पूरा गरेकालाई ठेक्का दिने र नगरेकालाई नदिने निर्णय गरेको छ । महानगरको तालिम निर्देशिकाका विषयमा सुझाव दिन महानगरका वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपाली र ६ का वडाध्यक्ष जगत पहारीलाई जिम्मा दिएको छ ।

बैठकले कर्मचारीको बढुवा तथा स्थायीका विषयमा निर्वाचन आचारसंहिता लागु भइसकेकाले अर्को बैठकमा निर्णय गर्ने भन्दै थाती राखेको छ । महानगरको निर्देशन अनुसार काम नगर्ने कर्मचारीलाई भने कारबाही गर्ने जनाएको छ ।

होर्डिङबोर्ड र सरसफाइका सम्बन्धमा आएको प्रतिवेदन अध्ययन गर्ने र अर्को बैठकले पास गर्ने जनाएको छ । बैठकले वडा नं. १८ सराङकोट स्थित भीमसेन दाहाल स्मृति पार्कमा राष्ट्रिय विभूति तथा शहीद पार्क निर्माण हुने भएको छ । उक्त पार्कमा ५७ रोपनी जग्गा रहेको र उपयुक्त स्थान भएको भन्दै उक्त निर्णय भएको बैठकपछि वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

बैठकले महानगर स्तरीय खेलकुद सञ्चालन गर्न समिति गठन गरेको छ । वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुको संयोजकत्वमा गठन भएको समितिका १० का वडाध्यक्ष राजकुमार गुरुङ र २९ का अध्यक्ष चेतबहादुर गुरुङ सदस्य छन् । बैठकले व्रम्हकुमारी विश्व विद्यालयलाई एकीकृत सम्पत्ति करमा ८० प्रतिशत छुट दिने र २० प्रतिशत मात्र लिने निर्णय गरेको छ । घरजग्गा पास लगायतका कार्य छिटो छरितो बनाउन अर्को बैठकले निर्णय गर्ने महानगरले जनाएको छ । मेयर मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकमा उपमेयर मञ्जुदेवी गुरुङको पनि उपस्थिति थियो ।

Samadhan

Related News

सम्बन्धित समाचार

Archives

Archives