काँग्रेस कास्कीको चुनावी प्रचार

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३०, २०७४
guru baral pic 30

पोखरा, ३० कात्तिक ।चुनावी माहौल गरमागरम बन्दै गएको छ । जताततै चुनावले छपक्कै छोपेको छ । खेतबारीमा धमाधम काम गर्नुपर्ने बेला भएपनि चुनावी चटारोले मानिसलाई बढि धपेडी छ । चियापसलदेखि खेतबारीसम्म चुनाव लागेको छ ।

चुनावी यो माहौलमा नेपाली काँग्रेसले कास्कीमा प्रचारलाई तीव्र पारिरहेको छ । मतदाताहरुको घरदैलोमा उम्मेदवारहरु पुगेका छन् । उनीहरुले आफ्नो पक्षमा भोट मागिरहेका छन्। घरदैलोको क्रममा उसले मतदाताहरुसँग लोकतन्त्र बचाउने शक्ति काँग्रेसको पक्षमा भोट हाल्न आग्रह गरेको छ ।

वामगठबन्धनले जितेको खण्डमा देशमा अधिनायकबाद लादिने खतरा रहेको काँग्रेसको तर्क छ । र, यहि तर्कलाई लिएर मतदाताहरुले लोकतन्त्रको पक्षमा भोट हाल्न भनिरहेका छन् । कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका यज्ञबहादुर थापा पनि त्यस क्षेत्रका मतदाताहरुसँग उनीहरुको घरदैलोमै पुगेर भोट मागिरहेका छन् । त्यस्तै सोहि क्षेत्रबाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका जीवन परियार र कृष्ण केसी पनि घरदैलोसँगै आन्तरिक तथा सामुहिक भेटघाटमा व्यस्त छन् ।

यता क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवार देवराज चालिसे पनि घरदैलोमै व्यस्त छन् । काँग्रेसको सेड्युल अनुसार उनी कहिले प्रदेश क का उम्मेदवार गुरुप्रसाद बराल त कहिले प्रदेश ख का उम्मेदवार बिन्दुकुमार थापाको साथमा जनताको घरदैलोमा पुगिरहेका छन् ।

त्यसैगरि कास्की क्षेत्र नम्बर ३ मा पनि पुराना नेता शुक्रराज शर्माले आफ्नो पक्षमा माहौल बनाईराखेका छन् । प्रदेशसभातर्फ प्रदेश क का उम्मेदवार शारदा पौडेल र ख का उम्मेदवार शिकन्दरकुमार गुरुङ भोजबहादुरको साथमा शर्माले घरदैलोलाई तिव्रता दिएका छन् ।

यो पटक काँग्रेसले कास्कीका ३ वटै क्षेत्रमा आफ्नो अधिपत्य जमाउने गरि तयारी गरिरहेको छ । र, जनताले पनि यो कुरामा साथ दिने वचन दिएका छन् । कास्की काँग्रेसका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले भने– ‘काँग्रेस पनि एक ढिक्का भएर लागेको छ । अहिले जीत हाम्रै पक्षमा निस्कने सुनिश्चित छ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives