प्रशान्त लामिछाने 

प्रधानमन्त्री निवास वालुवाटारमा २०६३ असार २ गते अन्य दिनभन्दा छुट्टै चहल पहल र उत्सुकता थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दुई विद्रोही नेताको तिब्र प्रतिक्षमा बसेका थिए। जनआन्दोलन ०६२–०६३ को सफलतापछि विद्रोही माओवादीसँग शान्ति प्रक्रिया सुरु हुँदैथियो । शान्ति प्रक्रियाबारे छलफल गर्न तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई काठमाडौं आउँदै थिए । दाहाल आफ्नो २५ वर्षे भूमिगत जीवनमा पहिलो पटक बालुवाटार छिर्दै थिए भने भट्टराई दोस्रो पटक ।
२०६२ मंसिर ७ गते सार्वजनिक भएको १२ बुँदे सम्झौताको जगमा भएको जनआन्दोलनपछि राजनीतिको नयाँ कोर्ष सुरु भइसकेको थियो । त्यो कोर्षलाई पूरा गर्न माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन जरुरी थियो । त्यही प्रयास गर्दै थिए प्रधानमन्त्री कोइराला । त्यसको लागि विद्रोही नेताहरुसँग भेट्न जरुरी थियो । माओवादी नेता कृष्णबहादुर महरा, देव गुरुङ काठमाडौंमै भए पनि शीर्ष नेता भूमिगत नै थिए । दाहाल र भट्टराईसँगको सम्पर्क मिलाउन कोइरालाले गृहमन्त्री कृष्ण सिटौलालाई जिम्मा दिएका थिए । महरा र गुरुङसँगको सम्पर्कमार्फत नै दाहाल र भट्टराई भेट्न सिटौला कास्कीको सिक्लेस पुगेका थिए । त्यसपछि उनीहरु काठमाडौं आउने वातावरण बन्यो ।
असार २ गते साँझ दाहाल र भट्टराई एउटै पोसाक खैरो रङको सर्ट पाइन्टमा बालुवाटार प्रवेश गर्दा ‘दाहाल को हुन?’ भनेर पहिचान गर्न हम्मे परेको थियो ।
दाहाल–भट्टराईको बालुवाटार प्रवेश अकाश्मात देखिए पनि तयारीका साथ थियो । उनीहरु माओवादीले जनयुद्धको समयमा बनाएको आफ्नो गण्डक व्युरोबाट काठमाडौं आएका थिए ।
कास्कीको सिक्लेसमा माओवादी गण्डक व्यूरोको प्रशिक्षण भेला थियो । तर दाहाल र भट्टराई त्यहाँ आउने भन्ने सिमित नेताहरुलाई मात्र जानकारी थियो । नेताद्वयलाई सिक्लेस ल्याउनको लागि पोखराबाट हेलिकोप्टर लिएर माओवादी नेता जितबहादुर तमु चितवन पुगेका थिए । ‘उहाँहरुलाई लिन पोखराबाट हेलिकोप्टर लिएर पोखराबाट चितवनको रत्ननगर पगेका थिए,’ पुराना दिन सम्झिँदै तमु भन्छन्, ‘चितवनमा आफन्त बिरामी भएको भन्दै एयर डाइनोस्टिकको हेलिकोप्टर रिजर्भ गरे रत्ननगर पुगेका थियौं । चितवनबाट सिधै सिक्लेस पुगियो ।’
सुरुमा दाहाल र भट्टराई सडक मार्ग हुँदै सिक्लेस पुग्ने तयारी गरे पनि बाटोमा सुरक्षा खतरा हुने भन्दै हेलिकोप्टरमा जाने निर्णय गरेका थिए । सडकमार्ग हुँदै पोखरा ल्याउनको लागि माओवादीका तत्कालीन कास्की जिल्ला सेक्रेटरी राजकाजी गुरुङ र जनमुक्ति सेनाका विग्रेड कमाण्डर दिपक कोइराला गाडी लिएर चितवन पुगेका थिए । तर बाटोमा सुरक्षा चेक धेरै भएको देखेपछि उनीहरुले हेलिकोप्टर रोजेका थिए ।
सिक्लेसमा नै दाहाल, भट्टराई तत्कालीन गृहमन्त्री कृष्ण सिटौला र कांग्रेस नेता शेखर कोइरालाबीच भेट भएको थियो । गृहमन्त्री सिटौला हेलिकोप्टर लिएर सिक्लेस पुग्दा कुहिरोले आकाश ढाकेको थियो । जोखिमका साथ हेलिकोप्टर ल्याण्ड गराउँदै उनीहरुले विद्रोही नेतालाई भेटेर काठमाडौंमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भेटको लागि आतुर रहेको सन्देश सुनाएका थिए ।
‘काठमाडौं जाँदा सुरक्षा खतरा हुनसक्छ भन्दै हामीले पोखरा आसपास भेट्ने प्रस्ताव गरेका थियौं’, डा. भट्टराई सम्झन्छन् ‘तर पछि सल्लाह गरेर काठमाडौं जाने निर्णय ग¥यौं ।’
सिटौलासँगको भेट पछि दाहाल र भट्टराई पोखरा झरेका थिए । ‘गृहमन्त्रीसँगको भेटपछि उहाँहरु गोप्यरुपमा पोखरा आउनुभयो’, राजकाजी गुरुङले भने, ‘त्यसरी जनमुक्ति सेनाको सुरक्षा घेरामा शीर्ष नेतासँग सहरमा आउँदा रोमाञ्चकता महसुस भएको थियो ।’ नेताद्वय सिक्लेसबाट पैदल माइली कुना, सोँदा, ज्याम्दो हुँदै काहुँ खोला आएर गाडी चढेका थिए । सुरक्षामा खटिएका जनमुक्ति सेनालाई माइक्रोको व्यवस्था गरिएको जनमुक्ति सेनाका तत्कालीन बिग्रेड कमाण्डर दिपक कोइराला सम्झन्छन् ।
दाहाल र भट्टराईले त्यतिबेला लगाएको खरानी रङको कपडा पनि पोखरामै सिलाइएको थियो । रत्न इम्पोरियममा कपडा किनेर रातारात सिलाइएको उनीहरु सम्झन्छन् । उनीहरु सार्वजनिक हुँदा गलाएको खैरो सर्ट पाइन्ट पछिसम्म माओवादीको ड्रेस जस्तै बनेको थियो ।
असार २ गते बिहान सिटौला र देव गुरुङ हेलिकोप्टर लिएर दाहाल र भट्टराईलाई लिन पोखरा पुगे । हेलिकोप्टर पोखराको लामाचौरमा ल्याण्ड भयो । माओवादी कार्यकर्ताहरुले हेलिकोप्टरको लागि त्यहाँ अस्थायी हेलिप्याड बनाएका थिए । हेलिकोप्टरलाई संकेत दिन रातो पच्छ्यौरा देखाइएको जीत बहादुर तमु सम्झन्छन् । लामाचौरमा हेलिकोप्टर आउने समयसम्म दाहाल र भट्टराईलाई हेलिप्याड नजिकै घर भएका पृथ्वी नारायण क्याम्पसमा भूगोलका प्राध्यापक कृष्णबहादुर गुरुङको घरमा बस्ने व्यवस्था मिलाइएको थियो । उनीहरुले गुरुङकै घरमा नास्ता गरेका थिए । नास्ता पछि उनीहरु काठमाडौं उडेका थिए । माओवादीले त्यतिबेला दाहाल र भट्टराईको तस्बिर खिच्नको लागि एकमात्र पत्रकारलाई निमन्त्रणा गरेका थिए । पोखरामै फोटो पत्रकारिता गर्ने राम गुरुङलाई फोटो खिच्न बोलाइएको थियो ।
त्रिभुवन विमनस्थलबाट गृहमन्त्री सिटौलाको गाडी चढेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न बालुवाटर प्रवेश गरेका दाहाल र भट्टराईले ८ बुँदे सहमति गरे । त्यही सहमतिको स्प्रीटमा लामो छलफल पछि २०६३ मंसिर ५ गते प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरे । बृहत शान्ति सम्झौतामा एमाले महासचिव मधाव कुमार नेपालले आफ्नो पनि हस्ताक्षर हुनुपर्ने अडान राखेका थिए ।
‘शान्ति प्रक्रियामा मेरो पनि भूमिका थियो त्यसकारण त्यसमा मेरो पनि हस्ताक्षर हुनुपर्छ भन्ने अडान थियो तर त्यसो गरिएन’, एक वर्ष पहिलेको कुराकानीमा नेपालले भनेका थिए, ‘ऐतिहासिक क्षणमा उपस्थित हुनुपर्छ भनेर पछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आएँ । त्यो तस्बिरमा मेरो अनुहार हेर्नु न अलि रिसाएजस्तो देखिन्छ ।’
बालुवाटार बैठकपछि माओवादी नेताहरु असार ४ गते बिहानसम्म काठमाडौंमै बसे । ४ गते उनीहरु पुनः हेलिकोप्टरमा डोटीको बीपी नगरतर्फ उडे । उनीहरुलाई बीपी नगरसम्म गृहमन्त्री सिटौलाले हेलिकोप्टरमा पु¥याएर काठमाडौ फर्केका थिए ।

स्रोत ः नागरिक न्यूज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here