अस्ट्रेलियामा अब इच्छामृत्युको अधिकार

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०७४
australia
मंसिर ९, २०७४-दीर्घ र सहन गर्न नसक्ने रोग लागेकाहरुलाई अष्ट्रेलियाको भिक्टोरिया राज्यले इच्छामृत्युको अधिकार दिएको छ ।
उक्त राज्यका दुबै संसदबाट यससम्बन्धि विधेयक पारित भएपछि सन २०१९ देखि बिरामीहरुले यो अधिकारको उपयोग गर्न पाउने भएका छन् ।
अष्ट्रेलियाका प्राय सबै राज्यमा स्वेच्छिक मृत्युको बिषयका बारेमा पटक पटक संसदमा छलफल हुने गरेको भए पनि भिक्टोरिया राज्यले यसलाई पहिलोपटक कानुन निर्माण गरेर लागु गर्न लागेको हो ।

यसको पक्ष र विपक्षमा उक्त राज्यका सांसदहरुबाट दुबै संसदमा मतदान भएको थियो । मतदानमा  इच्छामृत्युको पक्षमा बहुमत आएपछि भिक्टोरिया यसलाई कानुनी रुप दिने पहिलो राज्य बनेको छ ।

न्यु साउथ वेल्सको संसदमा समेत यसबारेमा छलफल गरिएको भए पनि यसले सफलता पाउन सकेन । यससम्बन्धि कानुन निर्माण भए पनि यसको उपयोग गर्न भने सहजै पाइने छैन् ।

यो अधिकारको उपयोग गर्न निको नहुने रोग लागेको र जसले सहन गर्न नसक्ने पीडा दिएको हुनुपर्नेछ । उक्त रोगबाट ६ महिनाभन्दा कममात्र बाँच्ने सम्भावना भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

अर्कोतिर इच्छामृत्युका लागि दुई जना चिकित्सकहरुले बिरामीलाई जाँच अनुसन्धान गरेर प्रक्रियामा सहमती जनाउनुपर्नेछ ।

डाक्टरले सहमती जनाएर औषधि सिफारिस गरेपछि मात्र फार्मेसीबाट यस प्रक्रियाको औषधि खरिद गर्न पाइनेछ ।

इच्छामृत्यु चाहने ब्यक्ति कम्तिमा पनि १८ बर्षभन्दा माथिको हुनुपर्नेछ भने यही राज्यमा १ वर्षदेखि बसोबास गरेको हुनुपर्नेछ ।

स्रोत ः कान्तिपूर

Related News

सम्बन्धित समाचार

Archives

Archives