कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् : ज्ञानेन्द्र कार्की

राष्ट्र न्यूज सम्वाददाता
पौष २, २०७४
ganendra karki

विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी:

पार्टीको साइज घटनुमा दोष अरूमाथि थोर्पनुभन्दा जसजसले जे जिम्मेवारी लिएका थियौँ, सबैले लिनुपर्छ । अब पार्टीको जिम्मेवारीमा बसेका सबैले जे जति गर्नुपर्ने हो, त्यसलाई पूरा गर्नु जरुरी छ ।

निर्वाचित भएपछि कस्तो अनुभव भएको छ ?
म सर्वप्रथम सम्पूर्ण मेरा मतदातालाईं हार्दिक आभार व्यक्त गर्छु । मलाई सुनसरी क्षेत्र नं. ४ का मतदाताले जुन विश्वास सुम्पिनु भयो त्यसले मलाई हर्षित तुल्याएको छ । अर्कातिर कर्तव्यबोधले चिन्तित पनि छु ।

यसअघि तपाईं भोजपुरबाट उम्मेदवार बन्दै आउनुभएकामा यसपटक चाँहि किन सुनसरीबाट बन्नुभयो ?
पठन–पाठन तथा राजनीतिक संघर्षका क्रममा अधिकांश समय राजधानी काठमाडौँ बसे पनि सुनसरीसँग म कहिल्यै टाढा रहिनँ । बाल्यकाल बिताएको यो क्षेत्रको सेवामा आफ्नो बाँकी जीवन समर्पित गर्ने मेरो इच्छा तथा यस क्षेत्रका जनताको आग्रहअनुसार पार्टीले मलाई सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । जनताले विश्वास र भरोसा गरेर विजयी गराएका छन्  ।
निर्वाचित सांसदको हैसियतले आफ्नो क्षेत्रमा कस्तो कार्ययोजनालाई प्राथमिकतामा राख्नुहुन्छ ?
सुनसरी क्षेत्र नं. ४ पिछडिएको क्षेत्र हो । यहाँ गरिबी र बेरोजगारी छ । जसले गर्दा क्षेत्र नं. ४ लाई विकसित गराउनका निम्ति मैले निर्वाचनताका जे प्रतिबद्धता व्यक्त गरेको थिएँ । ती प्रतिबद्धता पूरा गर्नेछु । खासगरी कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका बस्तीमा म चुनावी अभियानमा सक्रिय रहँदा चार जना सर्वसाधारणको हात्तीको आक्रमणबाट ज्यान गयो । यस घटनाले मलाई गहिरो चोट पु¥याएको छ । हात्तीलाई बस्तीमा पसेर क्षति पु¥याउन नदिनका निम्ति मैले तुरुन्तै केही काम गर्नेछु ।
सुनसरी खोला सिँचाइ आयोजना निर्माण गर्ने मेरो अर्को योजना छ । क्षेत्र नं. ४ लाई लक्षित गरेर कृषि क्षेत्रमा आधुनिकीकरण गरी आशलाग्दो काम गर्नेछु । सडक मर्मत, स्तरोन्नति र स्वास्थ्य पहुँच पु¥याउन क्रमिक रूपले जनताको सेवा र सुविधा विस्तार गर्ने गरी काम गर्नेछु । साथै, कृषि उत्पादनको बजारीकरणका लागि उपयुक्त स्थान हेरेर कृषि बजार र शित भण्डार स्थापना गराउनेछु । पशुपालन गर्ने र दूध उत्पादन गर्ने किसानहरूका लागि दूध संकलन तथा चिस्यान केन्द्र स्थापना गर्नेछु  ।

तपाईंको क्षेत्रमा गरिबी र बेरोजगारी समस्या समाधान गर्ने उपाय के छ ?
क्षेत्र नं. ४ को गरिबी र बेरोजगारी समस्या समाधान गर्न औद्योगिक क्षेत्र विकसित गर्ने सोच छ । साथै, युवा, महिला, दलित केन्द्रित कार्यक्रम पनि ल्याउनेछु ।

तपाईंका क्षेत्रका मुख्य समस्या के–कस्ता मुख्य छन् ?
यस क्षेत्रलाई समस्यामा पारेका कोशी नदी, सुनसरी खोला र कोशी टप्पु वन्यजन्तु आरक्ष र यसको मध्यवर्ती क्षेत्रको जैविक विविधतालाई अवसरका रूपमा परिणत गर्नेछु । सिँचाइ, सडक, वन्यजन्तु मानवबस्तीमा प्रवेश गर्नु, कोशी पीडितले राहत नपाउनुलगायतका मुख्य समस्या छन् । यी समस्या समाधान तत्काल नै पहल गर्नेछु ।

सांसदले खालि आश्वासन बाँड्छन्, पूरा गर्दैनन् भन्ने आमगुनासो छ, यसबारे के भन्नुहुन्छ ?
जनताले आशंका गर्नु स्वाभाविक पनि हो । तर, मैले निर्वाचनताका व्यक्त गरेका प्रतिबद्धता पूरा गर्छु । म पृथक् ढंगले काम गरेर देखाउँछु ।

पार्टीको आकार खुम्चिएपछि कांग्रेसबाटै राजनीतिक भविष्य सुनिश्चित गर्न के गर्नुपर्ला अब ?
पार्टीको समानुपातिक मत हेर्दा कांग्रेसप्रति जनताले ठूलो भरोसा गरेका छन् । पार्टीको आकार खुम्चिएपछि चिन्तित भएर व्यवस्थित र एकताबद्ध तथा अनुशासित बनाएर त लानु नै पर्छ । पार्टीले अवलम्बन गरेका नीति समयसापेक्ष नै छन् । खासगरी कसरी चलायमान बनाउने त्यसमा नीति बनाएर अघि बढनुपर्छ, पार्टी सुध्रन्छ ।

पार्टीको आकार खुम्चिनुमा कसको दोष छ ? यसमा त पार्टी नेतृत्वले जिम्मेवारी लिनुपर्ने होइन् ?
पार्टीको साइज घटनुमा दोष अरूमाथि थोर्पनुभन्दा जसजसले जे जिम्मेवारी लिएका थियौँ, सबैले लिनुपर्छ । अब पार्टीको जिम्मेवारीमा बसेका सबैले जे जति गर्नुपर्ने हो, त्यसलाई पूरा गर्नु जरुरी छ ।

तपाईं अहिले अर्थमन्त्री हुनुहुन्छ । अर्थमन्त्री हुँदा तपाईंले के गर्नुभयो ?
म नै अर्थमन्त्री भएपछि एसिएन–अमेरिकन एड ५०–५२ अर्बको भित्रियो । मुलुकको अर्थतन्त्रको विकास गराउन कदम चालेँ । वित्तीय अनुशासन कायम राख्न मेरो कार्यकालमा ध्यान केन्द्रित गरेँ । अर्थतन्त्र दिगो बनाउन दिगो विकासको प्रयत्न गरिएको छ । विगत सरकारले ल्याएको बजेटमा काम गर्नुपरेको र पूरक बजेट चुनावी आचारसंहिताले गर्दा ल्याउन नपाएकाले गर्दा धेरै युवा, किसान, मजदुरका निम्ति प्याकेज ल्याउन सकिएन । मेरो कार्यकाल छोटो भएकाले गर्दा पनि सोचे अनुसारका धेरै काम गर्न नपाइने भो ।
अबको अर्थमन्त्रीले केलाईं ध्यान दिएर अघि बढ्नुपर्छ ?
अब हुने अर्थमन्त्रीले मुलुकलाई दिगो विकासको बाटोमा अग्रसर गराउनुपर्छ । मुलुकलाई आत्मनिर्भर गराउने दिशामा काम गर्नुपर्छ ।

मतदातालाई के सन्देश छ ?
मतदाताले मप्रति जुन विश्वास गरेका छन, समग्र सुनसरी क्षेत्र नं. ४ को विकास र जनताको सेवाको निम्ति पाँच वर्षभित्र समर्पित भएर लाग्नेछु ।

प्रस्तुति : अमर खड्का

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives