सांसद र व्यापारी धम्क्याउनेलाई यसरी सार्वजनीक ग¥यो प्रहरीले

राष्ट्र न्यूज सम्वाददाता
माघ १८, २०७४
gunda

पोखरा, १८ माघ । पोखराका सांसदर व्यवसायीसँग करोडौ रुपैयाँ मागेर नदिए ज्यान मार्ने धम्की दिने चार जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को सहयोगमा उनीहरुलाई पोखरा र स्याङजाबाट पक्रेको हो ।गत पुस २५ गतेदेखि व्यवसायी तथा कांग्रेसबाट चार नम्बर प्रदेशसभामा निर्वाचित सांसद बिन्दुकुमार थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठसंग टेलिफोन तथा म्यासेज गरी उक्त समूह फिरौती मागेको थियो ।

गुण्डा मनोज पुन समूहको व्यक्ति भन्दै धम्की दिएर फिरौती माग्ने गरेको प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका ६ टक्सार घर भई पोखराको जरेबरमा बस्ने ३५ वर्षीय शंकर भनिने नलबहादुर गुरुङ, स्याङजा फेदीखोला ४ घर भई पोखरामा बस्दै आएका २६ वर्षका अमृत खड्का, फेदीखोला २ का २३ वर्षका शिव कार्की र पर्वत कुश्मा नगरपालिका १० का २७ वर्षीय रामु सुवेदी पनि पक्राउ परेका छन् ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहका अनुसार खड्काले नेपालबाट मनोज पुन समूहको व्यक्ति भनि व्यवसायीसंग फिरौती मागी धम्क्याउदै आएका थिए ।

यसैगरी, खड्काले विवश थापा नामबाट पोखरा नै रहेर व्यवसायीलाई धम्क्याउँदै आएका थिए । सुवेदी भारतका विभिन्न स्थानमा पुगेर भारतीय मोबाईलको सीमकार्ड प्रयोग गरी मनोज पुन भनी धम्क्याउने गरेका थिए भने कार्कीले एसएमएसमार्फत धम्क्याउन आफ्नो सीम दिदै आएका थिए ।

पक्राउ परेकाहरुले कालु गुरुङसंग १० करोड, बिन्दुकुमार थापासंग २ करोड र गिरीसँग २ करोड मागेका थिए । बोधराज कार्कीसँग पैसा माग्ने मनसाय भएपनि मोबाइलमा दुई वटा नम्बर भएकाले कार्कीलाई हानेको फोन गिरीलाई गएको प्रहरीले जनाएको छ ।

अन्य व्यवसायीलाई पनि करोडै रुपैयाँ मागेर धम्क्याउँदै आएको अनुसन्धानमा खुलेको हो । पछिल्लो पटक यही माघ १५ मा बिन्दु थापालाई तीन दिनको अल्टिमेटम दिएर धम्कीपूर्ण म्यासेज पठाएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएर उनीहरुलाई पक्रिन सफल भएको हो ।

प्रहरीले उनीहरुलाई शरीर बन्धक तथा अपहरण उद्योगमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives