५४ वर्षदेखि नाङ्गै बाख्राको खोरमा !

राष्ट्र न्यूज सम्वाददाता
फागुन ६, २०७४
tarkabdr_nagarikta-696×522

उदयपुर / उदयपुरका एक बौद्धिक अपाङ्ग ५४ वर्षदेखि खोरमा थुनिएर बसेको फेला परेको छ । बोल्न नसक्ने, कान नसुन्ने र लुगा नलगाउने कटारी नगरपालिका १ कालीखोलाका तर्कबहादुर खत्रीलाई परिवारले बाख्रा खोरमा थुनेर राख्दै आएको तथ्य भर्खरै फेला परेको हो।

जन्मजात बोली नफुटेको तथा बाल्यकालमा लुगा नलगाएका उनी युवाअवस्थामा पनि लुगा लगाईदिँदा फालिदिने गरेपनि नाङ्गै थुनेर राख्नुपरको दिदी इन्द्रकुमारी कार्कीले बताईन् । कहिल्यै लुगा नलगाउने गरेकाले उनी जाडो होस या गर्मी बाह्रैमास नाङ्गै बस्दै आएका छन्।

खोटाङको साविक डिकुवा गाविस ७ मा जन्मेका उनको परिवार ०४६ सालमा बसाई सरेर कटारी कालीखोला आएको हो । इन्द्रकुमारीका अनुसार नबोल्ने तथा लुगा नलगाउने गरेकाले परिवारले खोरमा थुनेर राख्नुपरेको हो।

तर्कबहादुरलाई थुनेर राख्न थालेको ४०/४५ भयो । ‘बाल्यकालमा त ठिकै थियो, लक्का जवान भएपछि पनि लुगा नलगाउने, लगाईदिए च्यातेर फाल्ने गर्दोरहेछ’ इन्द्रकुमारीले भनिन् ‘घरमै राख्दा बुहारी, छिमेकी महिलाहरु आउजाउ गर्दा असहज भएपछि थुनेर राख्न थालेछन्।’

बौद्धिक अपाङ्गतासँगै मानसिक रोगी पनि भएका उनको हेरचाह गर्ने भाइ चेवन पनि मजाले बोल्न र कान सुन्न सक्दैनन् । ३ भाइमध्येका माईला उनी कान्छासँग छन् । जेठा अलग्गै बसेका छन् । आर्थिक अवस्था कमजोर र बाल्यकालदेखि नबोल्ने भएकाले उनको उपचार गर्नेतर्फ पनि परिवारको ध्यान नगएको दिदी इन्द्रकुमारी बताउँछिन्।

विहीबार इलाका प्रशासन कार्यालय कटारीले उनलाई कालीखोलास्थित थुनिएको खोरमै पुगेर नागरिकता प्रमाणपत्र दिएको छ । सधै नाङ्गै खोरमा थुनिएर बस्ने उनको बारेमा खवर पाएपछि इप्रका प्रमुख सुनिल पौडेल घरमै पुगेर नागरिकता दिएको बताए । उनलाई नागरिकता दिलाउन नातामा भान्जा पर्ने महेश बस्नेतले केहीदिनअघि इलाका प्रशासन कार्यालय आएर पौडेलसँग आग्रह गरेका थिए । बस्नेतको आग्रह अनुसार कार्यालय सहयोगी महेन्द्र आचार्यलाई लिएर घरमै गई खत्रीलाई नागरिक्ता दिएको पौडेलले बताए।

‘बोल्न नसक्ने, कपडाबिनै बस्ने बौद्धिक अपाङ्गले नागरिकता नपाएको खवर आयो’ पौडेलले भने ‘त्यसपछि विवरण र फोटो मगाएर उनको घर खोज्दै गए, खोरबाट निकालेर औठाछाप लगाएर नागरिक्ता प्रमाणपत्र थमाईदिएँ ।’ उनलाई देख्दा अचम्म लागेको पौडेलले बताए ‘उनको अवस्था देख्दा मान्छे कस्तोकस्तो भएर बस्दा रहेछन् भन्ने लाग्यो ।’

२०२० साल माघ २ गते जन्मेका तर्कबहादुरको बाबु ०६४ र आमा ०६७ मा बितेपछि पालनपोषण भाइ चेवनबहादुर खत्रीले गर्दै आएका छन् । गरिव र बिपन्न खत्री परिवार सामान्य खेती किसानीबाट गुजारा गर्दै आएको छ । राम्रोसँग बोल्न नसक्ने, कान कम सुन्ने भाई चेवनले दाजुलाई खोरमै लगेर खाना दिने, खोरमै दिसा पिसाब गराउने गरेको र बेलाबेला आफैले सफा गरिदिने गरेको बताए ।

अपाङले भत्ता पाउने थाहा पाएर तर्कबहादुरको नागरिकता बनाउन लागाइएको हो । अपाङ्ग भत्ता पाउछन् भन्ने सुनेर नागरिक्ता बनाउन उनका भान्जा महेश कार्कीलाई इप्रका कटारी पठाएको दिदी इन्द्रकुमारीले बताईन् । ‘आमा–बुबा बितेपछि कान्छो भाइको सहारामा बिजोग भएर बसेको छ’ ईन्द्रकुमारीले सुनाईन् ‘अपाङ्गले पनि भत्ता पाउँछन् रे भन्ने सुनेर छोरोलाई मामाको नागरिकता बनाईदिन लगाएँ । नभन्दै सरहरुले घरमै नागरिक्ता ल्याईदिए।’

ईन्द्रकुमारीले दिदी–बहिनी मिलेर सानो घर बनाईदिए पनि तर्कबहादुर खोरमै बस्नु परेकोमा गुनासो गरिन् । ‘भाइको यस्तो अवस्था देख्दा साहै्र दुःख लाग्छ’ उनले आसा व्यक्त गरिन् ‘अब नागरिकता बनेको छ सरकारले भत्ता देला, नगरपालिकाले पनि सहयोग गर्ला भन्ने आसा छ।’

नागरिक दैनिकमा महेश्वर चामलिंग राइले लेखेको समाचार

Related News

सम्बन्धित समाचार

Archives

Archives