नक्कली प्रहरी बनेर लुट्ने पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
फागुन ११, २०७४
download-10122017015113-1000×0

चितवन, ११फागुन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो ।

उनीहरुले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नं ११ निवासी नारायण धिताललाई विशाल चोकमा आफूहरु प्रहरी भएको बताउँदै जाँच गर्ने भन्दै नगद रु १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ ।

धिताल काठमाडौँबाट घर फर्कने क्रममा उनीहरुले लुटेको प्रहरीले जनाएको छ । उनीहरुले नारायणगढमा रहेको पोखरा बसपार्कमा पनि होटलमा धम्काउने काम गरेको कार्यालयले जनाएको छ ।

यस्तै खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका भरतपुर–२७ का हेमबहादुर थापालाई प्रहरीले भरतपुर–१० बाट आज पक्राउ गरेको छ । उनले माघ १५ गते वीरेन्द्र क्याम्पस अगाडि र २४ गते दीपेन्द्र चोकमा शंकरदेव ज्ञवालीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives