ठुलाखेतको सिद्धबराह मन्दिरलाई गण्डकी फाउन्डेसनले सहयोग गर्ने

राष्ट्र न्यूज सम्वाददाता
असार ५, २०७५
siddha bahara tempil (1)

पोखरा, ५ असार । गण्डकी फाउन्डेसन प्रालिले पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह तपोवन सन्यास आश्रम माझथुमलाई सहयोग गर्ने भएको छ ।

मन्दिर परिषरमा भएको कार्यक्रममा प्रालिले मन्दिर मर्मतका लागि आवश्यक पर्ने रकम र संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।

कार्यक्रममा प्रालिका सल्लाहकार राजेश गुरुङले मन्दिरको संरक्षणमा पूर्ण सहयोग गर्ने बताए । गुरुङले यस अगाडि खास्टेको मन्दिर संरक्षणमा पनि सहयोग गरेका थिए ।

मन्दिरको चेन गेट लगाउने, फलामको ट्रस्ट बनाउने, बाटो मर्मत गर्ने, गुरुकुल आश्रममा अध्ययनरत बटुकहरुको पठनपाठनमा आवश्यक सामाग्री सहयोग प्रालिले गर्ने गुरुङले बताए ।

मन्दिरको संरक्षण गरेर प्रचार–प्रसार गर्न सके पर्यटकको संख्या बढ्न सक्ने सिद्ध बराह तपोवन सन्यास आश्रमका उपाध्यक्ष कलाधर भण्डारीले बताए । उनले धार्मिक रुपमा अतिनै महत्वपुर्ण सिद्ध बराह तपोवनको प्रचार प्रसार हुन नसकेको बताए ।

कार्यक्रममा पोखरा लेखनाथ २३ का वडा अध्यक्ष विष्णु पराजुलीले सिद्ध वराह मन्दिरको संरक्षण गरी प्रचार–प्रसार गर्नुपर्ने बताए ।

माझथुम नौबिसे टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद दाहालले मन्दिर धेरैको आस्थाको केन्द्र भएकाले संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा स्थानीयबासी हरि भण्डारी, वडा सदस्य भरत भण्डारी, आश्रमका कोषाध्यक्ष टंकप्रसाद पराजुली, आश्रमका शिक्षक निजानन्द पौडेल लगायतले मन्दिरको महत्वको बारेमा उल्लेख गरेका थिए । पोखरा देखी १२ किलोमिटरको दुरीमा सिद्ध बराह तपोवन सन्यास आश्रम पर्दछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives