पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा

राष्ट्र न्यूज सम्वाददाता
असार २७, २०७५
fashion award nepal

पोखरा, २६ असार । पोखरामा हुन लागेको पोखरा फेशन विक र फेशन अवार्ड नेपालको तयारी पूरा भएको छ ।

असार २८, २९ र ३० गते हुने कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा हुनेछ ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।

२८ गतेदेखि फेशन विक शुरु हुने छ भने ३० गते फेशन अवार्ड नेपाल गरिने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए । फेशन विकमा पाँच लाख पर्ने दुलही ड्रेस सहित तीजका लागि ‘लै बरि लै’ थिम अन्तर्गत विभिन्न नयाँ डिजाइनहरु प्रदर्शन गरिने छ।

त्यस्तै, ‘समर स्प्रिंङ्ग’ थिममा गर्मीका पहिरन र ‘फ्याल्स ब्याक’ थिममा ५० वर्ष अगाडीका पहिरनहरु प्रस्तुत गरिने छ ।

फेशन विकमा फेशन स्कुलका २० भन्दा बढी डिजाइनर, डिजाइनर्स क्लबका सम्पूर्ण डिजाइनरहरु, एनआईएफ काठमाण्डौं, सेन्ट्रल फेशन हब हेटौडा, आइएफसि चितवन, सहित काठमाण्डौं, भक्तपुर, बुटवलका फेशन डिजाइनर र १२ जनाभन्दा बढी बुटिक सहभागी हुने छन्।

फेशन डिजाइनरले बनाएका पोशाक लोकप्रिय मोडलहरुले प्रदर्शन गर्ने छन्। कार्यक्रममा एक सयभन्दा बढी नयाँ डिजाइनका पोशाकहरु प्रदर्शन हुने छ ।

कार्यक्रमका सहसंयोजक विशाल गुरुङका अनुसार, फेशन अवार्डमा भने फेशन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न ४० विद्यामा अवार्ड वितरण गरिने छ ।

विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक हुन लागेको हो । कार्यक्रममा करिष्मा मानन्धर, प्रशान्त ताम्राकार, सविन राई, आशिष राना ‘लाहुरे’, तेन्जिङ छेदेन भुटिया र जयनसुब्बा मानन्धर उपस्थित हुने निश्चित भैसकेको छ ।

मोडलहरुका लागि तालिम जारी रहेको छ भने डोम भित्र ७५ फिट लम्बाईको रनवे स्टेज निर्माण गरिसकिएको छ ।

फेशन अवार्ड र फेशन विक सँगै हुदाँ कार्यक्रम फेशन क्षेत्रको महाकुम्भमा परिणत हुने छ कार्यक्रम संयोजक रवीन गुरुङले भने – ‘यसले फेशन क्षेत्रमा नयाँ तरगं ल्याउने छ।’

फेशन क्षेत्रका नयाँलाई प्रोत्साहन र पुरानाको सम्मानका लागि कार्यक्रम फलदायी हुने आयोजकको दावी छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives