निर्वाचन क्षेत्र काँग्रेसमय, जताततै काँग्रेसका नेता र कार्यकर्ता

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १, २०७६
congress pokhara 8

पोखरा, १ मंसिर । कास्की क्षेत्र नं २ मा उपनिर्वाचनको मिति नजिकिदै गर्दा जताततै काँग्रेसका नेता र कार्यकर्ता देखिएका छन् ।

सो निर्वाचन क्षेत्रका ११ वटा वडामा चुनाव प्रचारप्रसार गर्न नेता र कार्यकर्ता एक भएर जुटेका छन् । वडाका बस्ती र टोलमा बिहानदेखि साँझसम्म चार तारे झण्डा र चुनाव चिन्ह रुख बोकेका नेता तथा कार्यकर्ता देखिन्छ ।

‘साच्चै यत्तिबेला कास्की क्षेत्र नं २ काँग्रेसमय बनेको छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीले भने, ‘निर्वाचनको परीणाम काँग्रेसको पक्षमा आउने निश्चित छ ।’

काँग्रेस भित्रको एकताका कारण सबै नेता तथा कार्यकर्ता उत्साहित हुनु र सरकारका गतिविधिबाट वाक्क बनेकाहरु पनि काँग्रेस जिताउँने पक्षमा खुलेरै लाग्दा निर्वाचन क्षेत्रको वातावरण काँग्रेसमय बनेको छ ।

काँग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेद्वार बनाएका कारण पनि निर्वाचन क्षेत्र काँग्रेसमय बनिरहेको छ ।

घरदैलो अभियान तीव्र
कास्की कांग्रेसले घरदैलो अभियान तीब्र बनाएको छ । कास्की क्षेत्र नं. २ का ११ वटौ वडामा मतदाता भेटघाट कार्यक्रम जारी छ । जस अन्तर्गत पोखरा १७ मा पनि आइतबार अभियान जारी रह्यो ।

यस वडामा केन्द्रीय सदस्य प्रदीप पौडेल, कास्की कांग्रेसका सभापति कृष्ण केसी, वडा इकाइ सभापति देवराज आचार्यसहितको घरदैलो अभियान भएको हो । आइतबार महतगौंडा क्षेत्रका मतदातासंग भेटघाट भएको इकाइ सभापति आचार्यले बताए।

यता, पोखरा–३३ मा आइतबार बिहानैदेखि घरदैलो अभियान शुरु भएको छ । कोणसभा पछि घरदैलो अभियान शुरु भएको हो । अभियानमा उम्मेदवार खेमराज पौडेललगायत कास्कीका नेताहरू सहभागी छन् । उम्मेदवार पौडेलले ८८ वर्षीय होमनाथ आचार्यबाट आशिर्वाद दिएर अभियान शुरु गरेका हुन् ।

उम्मेदवार पौडेलले पोखरा–३३ आधाजसो क्षेत्रमा आइतबार घरदैलो सके भने भोलि सोमबार अभियान जारी रहने बताइन्छ ।

घरदैलोका क्रममा विभिन्न स्थानमा कोणसभा गर्ने कार्यक्रम समेत जारी रहेको कांग्रेसका केन्द्रीय सदस्य एवं सो क्षेत्रका चुनावी कमाण्डर जीवन परियारले जानकारी दिए ।

उनले पोखरा–३३ ठूलो वडा भएकाले आफूले धेरै दिन देखि खटिएर अधिकांश मतदातासंग भेटघाट गरिसकेको र केही मतदातासंग अझै भेट्ने कार्यक्रम रहेको बताए ।

उनले भने, ‘भेट्घाटका क्रममा जनताका गुनासा धेरै नै पायौं, अब उनीहरूका गुनासालाई पार्टीमा छलफल गरेर संवोधन गर्न तर्फ पनि ध्यान दिन्छौं ।’ उनले कांग्रेसप्रति जनताको विश्वास अझै कायमै रहेको बताए ।

यता, पोखरा–७ लगायत सबै वडामा चुनावी अभियान जारी छ । सबै वडामा नेता कार्यकर्ता निकै सक्रिय भएर खटिरहेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । पोखरा–७ मा नेता शुक्रराज शर्मा र पोखरा–८ मा तारानाथ रानाचाट १० दिनदेखि निरन्तर रुपमा खटिरहेका छन् ।

पोखरा–७ अन्तर्गत आइतबार घारीपाटन क्षेत्रमा घरदैलो गरिएको छ । पोखरा–७ का वडा इकाइ सभापति नवीन बरालका अनुसार पोखरा–६ का अधिकांश क्षेत्रका मतदाता भेटघाट कार्यक्रम सकिएको छ ।

अब पार्टीको धारणा र एजेन्डा लिएर पुनः एक पटक मतदातालाई भेट्ने कार्यक्रम रहेको उनले बताए । सभापति बरालले कांग्रेस जनतामाझ मुग्दा मतदाता सरकारप्रति निकै आक्रोशित भएको उनले बताए ।

सरकारका कारण लोकतन्त्र नै धरापमा ः श्रेष्ठ
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् ।

अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको बताएका आरोप लगाएका हुन् ।

कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–८ मा आयोजित घरदैलोका क्रममा नेता श्रेष्ठले यो सरकारका पछिल्ला गतिविधि हेर्दा मुलुक हारेको र लोकतन्त्र धरापमा परेको प्रमाणित हुँदै गएको उनले जिकिर गरे ।

पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले यो मुलुकको रक्षा कांग्रेसबाहेक अरुले गर्न नसक्ने जिकिर गरे । पोखरा–८ का चुनावी कमाण्डरसमेत रहेको रानाभाटले सरकारको खलत रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले भने, ‘घरदैलोका क्रममा जनता निकै निराश भएको पायौं । सरकारका कारण राजनीतिक दलहरूप्रचि जनताको वितृष्णा पैदा भएको छ।’

घरदैलो अभियान पार्टीका इकाइ सभापति सुवास सिग्देलको नेतृत्वमा भएको थियो । आइतबार पोखरा–८ का सृजनाचोक, सिमलचौर, आलुमाइलाचोकमा घरदैलो अभियान भएको थियो ।

अधिनायकवादी शक्तिलाई परास्त गर्न कांग्रेस तयार ः पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अधिनायकवादी शक्तिलाई परास्त गर्न कांग्रेस तयार रहेको बताएका छन् ।

कास्की क्षेत्र नं. २ को चुनावी अभियानका लागि आइतबार पोखरा आएका नेता पौडेलले नेपालमा कम्युनिष्ट तानाशाहा बढ्ने खतरा रहेको भन्दै त्यसबाट सतर्क हुनुपर्नेमा जोड दिए ।

‘कम्युनिष्ट सरकार एकदलीय तनाशाह र अधिनायकवादतर्फ उन्मुख भइरहेका छन् । लोकतान्त्रिक संविधान खतम गर्ने, न्यायालय ध्वस्त पार्ने, प्रेसमाथि धावा बोल्नेतर्फ यो सरकार उन्मुख छ’, उनले भने ।

नेता पौडेलले भने, ’जनताको विश्वास, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको चाहना पनि कांग्रेसले चुनाव जितोस् भन्ने छ । त्यसैले पनि यो चुनाव जितेर कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्छ।’

वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेकोले त्यसका विरुद्ध यो चुनाव भएको बताए । ‘यो चुनाव जनमत संग्रह हो । कम्युनिष्ट शासन र सरकारले गरेका गतिविधि ठीक छैन भन्ने सन्देश दिनका लागि पनि कांग्रेसले यो चुनाव जित्न जरुरी छ,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

Archives

Archives