जनतालाई सही व्यक्ति छान्ने अवसर छ ः डा. रिजाल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ८, २०७६
minendra rijal

पोखरा, ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् ।

पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताए ।

‘एकतिर ६० बर्षको राजनितिमा निष्ठापूर्वक बसेका खेमराज पौडेल खडा हुनुहुन्छ । अर्कोतिर भ्रष्टाचारको सबैभन्दा ठूला प्रतिमुर्ति बनेको कम्युनिष्ट पार्टी बसेको छ’, उनले भने ‘कसलाई रोज्ने तपाइँहरूको हातमा छ ।’ उनले अहिलेको मत खेमराज पौडेलका लागि मात्र नभएर ब्यवस्था परिवर्तन गर्न खबरदारीका लागि पनि आवश्यक रहेको बताए ।

त्यस अवसरमा ठुलीस्वाँरा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर राना, स्थानीय समाजसेवी नरबहादुर राना, भिमबहादुर रानाले कांग्रेस नेताहरुलाई स्थानीय समस्या बार गुनासो सुनाएका थिए ।

कोणसभामा उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल, नेताहरू धनराज गुरुङ, देवराज चालिसे, सोभियतबहादुर अधिकारी, सांसद बृन्दादेवी रलगायतले बोलेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय नेताहरू पोखराको चुनाव प्रचार र सभा सकेर बाग्लुङतर्फ लागेका छन् ।

केही नेता शनिबार र केही नेता आइतबार बिहान बाग्लुङ पुगेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत, गगन थापा लगायतले पोखराको चुनावी माहोल राम्रैसंग तताए ।

सोमबारदेखि पोखराको चुनावीसभा पार्टी प्रवक्ता र डा. मिनेन्द्र रिजाल लगायतका नेताहरूले सम्हाल्ने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार प्रवक्ता शर्मा सोमबार बिहान पोखरा आउने कार्यक्रम छ । उनी दिउँसो १२ बजे पोखरा–११ र ३ बजे पोखरा–१७ को चुनावीसभालाई संवोधन गर्ने कार्यक्रम छ ।

यस्तै, मंगलबार नेता शर्माले बिहान पोखरा–८, दिउसो पोखरा–२० र २१ को चुनावीसभालाई संवोधन गर्ने कार्यक्रम छ । यसैगरी बुधबार २१ र ३३ को चुनावीसभालाई नेता शर्माले संवोधन गर्ने कार्यक्रम तय भएको पार्टी सभापति केसीले बताए ।
कांग्रेसमा प्रवेश गर्नेको लर्को

शनिबार पोखरा–१६ मा आयोजित चुनावीसभामा पूराना वामपंथी नेता माधव प्रसाद पराजुली नेपाली कांग्रेमा प्रवेश गरे । कम्युनिष्टले राष्ट्र र जनतालाई पटकपटक धोका दिएको भन्दै कांग्रेस प्रवेश गरेका पराजुलीले विपिको प्रजातान्त्रिक समाजवाद नै अहिलेको उत्तम सिद्धान्त भएको बताए ।

उनलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गगन थापा लगायतले स्वागत गरे । सोही सभामा ईन्द्रमान सिलवाल, सरु थापा निर्मला थापा पनि नेकपा छाडेर कांग्रेसमा प्रवेश गरे ।

यसैगरी आइतबार पोखरा २१ मा पनि मोती प्रसाद आचार्य, कृष्णबहादुर परियार, लेखबहादुर नेपाली वत्ति कुँवर, मञ्जु विक पनि नेकपा छाडेर कांग्रेमा प्रवेश गरे । उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल लगायतले पार्टी प्रवेश गराएका थिए ।

चुनाव प्रचार अभियान जारी
नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रम जारी छ । यस अभियान अन्तर्गत चुनावी सभा र मतदातालाई पार्टीको प्रतिवद्धता जनाउने कार्यक्रम हो ।

योसंगै घरदैलो अभियान पनि जारी छ । केही वडामा उम्मेदवारसहितको र केही वडामा नेता कार्यकर्ता सहितको घरदैलो जारी छ ।

कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो । जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७÷७ दिनको छ ।

पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो ।

तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिए ।

उनले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता जनतासामू लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्नेहरू गोप्य रुपमा अनुगमन र खबरदारी गर्ने बताए । ‘पूरै पार्टी पंक्ति यो चुनावमा परिचालन भएको छ । जुन ठाउँमा जो आवश्यक पर्छ सोही अनुरुप रणनीति तयारी गरेका छौं’, सभापति केसीले भने, ‘अबको ७ दिन मतदाता केन्द्रित हुनेछौं । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने विरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौं ।’

आइतबार पोखरा–२० भलाममा उम्मेदवारसहितको घरदैलो अभियान भएको छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।
पोखरा–७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको कांग्रेस नेता एवं चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले जानकारी दिए । वडा भित्र पनि कलष्टर छुट्याएर अभियान सञ्चालन गरिएको संयोजक शर्माले बताए । उनले भने, ‘टोलै पिच्छे छुट्टाछुट्टै समिति गठन गरेर अभियान अघि बढाएका छौं । साथै पार्टीका सबै संयन्त्रलाई पनि परिचालन गरेका छौं ।’

यस्तै, पोखरा–११ मा पनि चुनाव प्रचार अभियान जारी छ । चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समितिहरू बनाएर अघि बढाइएको छ । उनका अनुसार सोमबार यस वडामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा चुनावीसभा हुँदैछ ।

यसैगरी पोखरा–९ मा घरदैलोमार्फत मतदाता भेटघाट कार्यक्रम सकिएको चुनाव प्रचार समितिका संयोजक वीरेन्द्रनारायण विजुक्छेले जानकारी दिए । पोखरा–९ मा विगतका चुनावमा भन्दा धेरै भन्दा धेरै कत तान्न कांग्रेस सक्रिय भएर लागेको र मतदाता पनि निकै उत्साहित रहेको संयोजक विजुक्छेले बताए ।

यसैगरी पोखरा–१७ मा पनि चुनावी अभियान जारी छ । यस वडामा आइतबार केन्द्रीय सदस्य धनाज गुरुङ, कास्की कांग्रेसका सभापति कृष्ण केसी, वडा इकाइ सभापति देवराज आचार्यसहितको घरदैलो अभियान भएको हो । आइतबार महतगौंडा क्षेत्रका मतदातासंग भेटघाट भएको इकाइ सभापति आचार्यले बताए ।

यता, पोखरा–३३ मा आइतबार बिहानैदेखि घरदैलो अभियान भएको छ । अभियानमा उम्मेदवार खेमराज पौडेललगायत कास्कीका नेताहरू सहभागी छन् । उम्मेदवार पौडेलले पोखरा–३३ सबै क्षेत्रमा आइतबार घरदैलो र चुनावीसभा हुने कांग्रेसका केन्द्रीय सदस्य एवं सो क्षेत्रका चुनावी कमाण्डर जीवन परियारले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives