काँग्रेस नेतृ आचार्यद्वारा यातायात मजदुरलाई राहत

राष्ट्र न्यूज सम्वाददाता
असार २६, २०७७
rangila 2

पोखरा, २६ असार । नेपाली काँग्रेसकी नेतृ, सामाजिक अभियन्ता रङ्गिला आचार्यले पोखरामा शुक्रबार यातायात मजदुरलाई राहत वितरण गरेकी छन् ।

उनले ४० जना यातायात मजदुरलाई खाद्यान्न वितरण गरेकी हुन् ।

कोरोना संक्रमणपछिको लामो समयको लकडाउनका कारण समस्यामा परेका यातायात मजदुरलाई उनले सहयोग गरेकी हुन् ।

‘समस्यामा परेकालाई सहयोग गर्नु कर्तव्य हो, कास्की काँग्रेसकी सहसचिव आचार्यले भनिन्, यातायात मजदुरलाई समस्या भएको जानकारी पाएपछि सहयोग गर्न जुटेकी हुँ।’ समस्यामा परेका वर्गको पहिचान गरी सक्नेले सहयोगका लागि जुट्नुपर्ने उनको भनाइ छ ।

कास्की काँग्रेसका प्रवत्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले आमनागरिकको दुःख र सुखमा सँगै रहनु पार्टीका नेता तथा कार्यकर्ताको कर्तव्य भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जितबहादुर गुरुङ, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपमहासचिव नारायण कुँवर र जिल्ला अध्यक्ष दामोदर पण्डितले नेतृ आचार्यले गरेको सहयोगले यातायात मजदुरलाई राहत मिलेको उल्लेख गरे ।

नेतृ आचार्य लकडाउनपछि प्रभावित बनेकालाई सहयोग गर्न जुटिरहेकी छन् ।

यसअघि उनले पोखरा २१ मा एक सय, पोखरा १७ मा ४२ र पोखरा ७ मा २२ जनालाई राहत स्वरुप खाद्यान्न वितरण गरेकी थिइन्। त्यस्तै, पोखराका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री पनि सहयोग गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives