एमाले अध्यक्ष ओलीलाई युवकको पत्र, पत्र भाइरल बन्दै

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७४
How-to-Write-a-Cover-Letter-7hpOSI

माननीय केपी शर्मा ओलीज्यू,

सर्वप्रथम त विजयका लागि बधाई । तपाईंकै कारण नेपालको इतिहासमा पहिलोपटक कम्युनिष्टको बहुमतको सरकार बन्दैछ । प्रत्यक्षमा लगभग एमालेले ५० मत जितेको छ । यो चुनावमा प्राप्त मत एमाले वा माओवादीको मात्र नभएर केपी ओली प्रधानमन्त्री भएको हेर्न चाहने जनताको मत पनि हो । बास्तवमा तपाईंको राजनीतिक उचाईको पृष्ठभूमि भारतीय नाकाबन्दीको बिरुद्धको अडानले खडा गरिदिएको हो ।

स्पष्ट बहुमतका साथ अब तपाईं प्रधानमन्त्री बन्ने निश्चित छ । यो विजयले तपाईंलाई राहत मात्र होइन्, बरु जिम्मेवारी झनै बढाएको छ । एकातिर चुनावी घोषणापत्र अनुरुप बिकासको नारालाई सार्थक तुल्याउनु छ भने अर्कोतिर माओवादीसँगको प्रक्रियालाई सफल बनाउनु पनि छ । बामगठबन्धनका सुत्रधार भनेर चिनिएका बामदेव गौतम र नारायणकाजी श्रेष्ठको हारले एकता प्रक्रियालाई असर गर्छ या गर्दैन हेर्न बाँकी छ । यद्यपि गौतम भने आफूलाई हराउन खोजिएकोा कुरा चुनाव अघिनै भन्दै आइरहेका थिए, हारपछि उनले ती पात्रको खोजी गर्छन या गर्दैन्न त्यो उनको कुरा भयो ।

मलाई लाग्छ पार्टीले पनि यसबारेमा गहिरो समिक्षा गर्नेछ । त्यस्तै अर्का सुत्रधार नारायणकाजीको राजनीतिक यात्रा सिध्याउन प्रचण्डले उनलाई गोरखा पठाएको आरोप पनि छ । उता बिमलेन्द्र निधिलाई हराउन नाकाबन्दीको मतियार बनेको आरोप लागेका राजेन्द्र महतो एमालेकै मत पाएर जितेको चर्चा पनि छ । झापामा कृष्णप्रसाद सिटौलालाई हराउन गरिएको तालमेलको जबाफ पनि एमाले पार्टी र त्यसको प्रमुख नेता भएका कारण एकदिन समयले यसको जबाफ माग्नेछ । कतै राजेन्द्र महतो र राजेन्द्र लिंगदेनको जितले एमालेलाई कालान्तारमा घाटा त हुँदैन ?

यी त रहे चुनावी कुरा । अबको ठूलो चुनौती भनेको विकासका मुलभूत एजेण्डालाई सही र सरल तरिकाले अगाडि बढाउने हो । जनता दुःखी छन्, गरिब छन् तर हिम्मत हारेका छैनन् । तपाईंसँग जनता धेरै आशावादी छन् । जनताको आशाको पूर्ति छिटो भन्दा छिटो गरी सर्वसाधारण जनतालाई प्रत्यक्ष लाभ हुने कार्य बामपन्थी सरकारले गर्न जरुरी छ । साथै, भर्खरै निर्वाचित हुँदै गरेका प्रदेश सभा सदस्य, मुख्यमन्त्री, गभर्नर, प्रदेश सभा मन्त्री, प्रदेश कर्मचारीको कार्यालय, प्रदेश राजधानी घोषणा नगरी भएको र्निवाचनले अन्यौल उत्पन्न हुने भएकोले यसको समाधान छिटो हुन आवश्यक छ ।

हाम्रो सबैभन्दा ठूलो शत्रु भ्रष्टाचारप्रति शुन्य सहनशिलता, कर्मचारीमा पार्टीको आस्थाकोे भरमा हुने सरुवा, बढुवा, सुरक्षा निकायमा पद्यतिको बिकास, बिश्वबिद्यालयमा राजनीतिक भागबण्डामा नियुक्तिको अन्त्य, सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूति वर्तमान समयको आवश्यकता हो ।

कुटनीतिक नियुक्तिमा भागबण्डा, दलीय नेताहरुको नियुक्ति बन्द गरी असल कुटनीतिज्ञको नियुक्त गरी छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध कायम गरी युरोप, अमेरिका लगायत बाँकी संसारसँग समान हैसियतको सम्बन्ध कायम गर्न जरुरी छ । यसैगरी, उत्तरतर्फको यातायातको बिकास, हुलाकी राजमार्ग, उद्योगधन्दाको विकास, अन्तर्राष्ट्रिय बिमानस्थलहरुको निर्माण, कृषिमा आधुनिकीकरण पर्यटन क्षेत्रको बिकास, फाष्ट ट्रयाकको निर्माण आदि बिकासका कामहरु तीव्र गतिका भयो भने स्वभाविक रुपमा रोजगारीको बृद्धि हुन्छ । यस्तो अवस्थामा हामी बिदेशिएका युवालाई तिमी आउ भन्न पर्दैन । उनीहरु काम आफ्नै देशमा परिवारसँग बसेर परिश्रम गर्न आतुर छन् ।

अहिले बन्दै गरेका ठूला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, आगामी डेढ दुई बर्षमा बिद्युत उत्पादन बढ्ने निश्चित छ । बिद्युतको सहजताले पनि उत्पादनमा सकारात्मक प्रभाव पारेको उदाहरण हामीसँग छ ।

उपरोक्त काम गर्नका लागि सवल, सक्षम र असल नियत भएका नेताको आवश्यक पर्छ । मन्त्रिमण्डलको चयनमा दक्षता अनुसारको मन्त्रालयको जिम्मा लगाउने हो भने हाम्रो जस्तो बिविधताले भरिएको देश बिकास हुन धेरै समय लाग्दैन । ५ बर्ष थोरै समय पनि होइन्, भावी प्रधानमन्त्री ओलीले राजनीतिक जीवनको सघर्षबाट प्राप्त बिजयलाई देश बिकासमा सकारात्मक उर्जासहित प्रयोग गरी भावी पुस्ताको मार्गदर्शन बन्नु हुनेछ भन्ने आशासहित नेपाल र नेपालीको शुभ दिनको सुरुवातको कामनासहित नेपाल र नेपालीको जय !

विष्णु गैरे बुटवल, रुपन्देही

Related News

सम्बन्धित समाचार

Archives

Archives