‘खेमराजलाई जिताउँदा पोखराको प्रतिष्ठा बढ्छ’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३०, २०७६
congress 3

पोखरा, ३० कात्तिक । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् ।

उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी शैलीमा राज्य सचालन गर्ने प्रयत्न गरिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागी हुन शनिबार पोखरा आएका नेता सिटौलाले पोखरा–११ मा आयोजित कोणसभामा सरकारको यस्ता रवैया रोक्न जनदवाव सृजना गर्न आवश्यक रहेको स्पष्ट पारे ।

उनले भने, ‘संविधानको मर्म र भावना एकातिर र सरकार अर्कोतिर छ । एकदलीय कम्युनिष्ट शासन लाद्ने प्रयत्नशील छ । त्यसलाई रोक्न यो चुनाव उपयुक्त बाटो हो।’

‘सरकारको यो रवैया लोकतन्त्रवादी पार्टी मात्र होइन सबै नेपाली जनताको चिन्ताको विषय हो । त्यसैले यो चुनावमार्फत सरकारलाई नैतिक दवाव सृजना गर्न पनि यो चुनाव महत्वपूर्ण हो’ नेता सिटौलाले भने ।

यो चुनाव जित्दैमा कांग्रेसको सरकार पनि नआउने, नेकपा सरकार पनि नढल्ने स्पष्ट पार्दै उनले कम्युनिष्टको पक्षमा जनमत नभएको सन्देश दिन पनि कांग्रेसले जित्नै पर्ने स्पष्ट पारे ।

सरकार पूरै अन्धो भएर अघि बढ्न खोजेको आरोप लगाउँदै नेता सिटौलाले नेपाली कांग्रेसका उम्मेदवार, निष्ठावान व्यक्तित्व खेमराज पौडेललाई जिताएर सरकारको आँखा खेल्न आग्रह गरे ।

मुलुकको राजनीतिलाई ठीक ठाउँमा हिंडाउन नेपाली कांग्रेसले यो उपनिर्वाचन जित्न आवश्यक रहेको बताए । सबैले मान्न सक्ने, सबैले सम्मान गर्न मिल्ने उम्मेदवार कांग्रेसले उठाएकाले खेमराजलाई जिताउँदा सबैको इज्जत र प्रतिष्ठा बढ्ने नेता सिटौलाले स्पष्ट पारे ।

जीवनभर कुनै लोभमा नपरेका नेता खेमराजलाई एक पटक जिताएर हेर्न आग्रह गर्दै उनले गुरुको उम्मेदवारीको सवै हर्षित भएको, छाती चौडा भएको बताए ।

‘सूर्य चिन्हमा मत दिनेले एक पटक मत चिन्ह परिवर्तन गरेर हेर्नुस्, खेमराजलाई जिताउनुस् अनि हेर्नुस् परिवर्तन हुन्छ कि हुँदैन’, उनले भने, खेमराज इमान्दारिताको प्रतीक हो, त्याग तपस्याको प्रतीक हो, उहाँ कहीं कतै चुक्नुभएको छैन ।’

उम्मेदवार खेमराजको चरित्र सामाजिक भएको, पार्टीमा नै खेमराज जत्तिको इमान्दार व्यक्तित्व नभएको भन्दै नेता सिटौलाले इमान्दार मान्छेलाई जिताएर पठाउँदा पोखराकै प्रतिष्ठा बढ्ने स्पष्ट पारे ।

राजनीतिमा इमान्दारिता, मितव्ययीता, सादगीपन, सरलता, पारदर्शिता, जवाफदेयीता, उत्तरदायित्वको खाँचो भएको भन्दै नेता सिटौलाले यी सबै गुण नेता खेमराजमा पाउन सकिने बताए ।

‘उहाँ भाषणविद् होइन, विचारविद् हो, चरित्रविद् हो । खेमराज कांग्रेसको मात्र सम्पत्ति होइन, मुलुककै सम्पत्ति हो । संरक्षण गर्न आवश्यक छ’, उनले भने ।

कांग्रेस उम्मेदवार खेमराज पौडेलले चुनाव प्रचार अभियानमा जनता निकै उत्साहित भएको भन्दै कांग्रेसको जीत सुनिश्चित रहेको बताए ।

‘वर्तमान सरकार संविधानमाथि धावा बोल्न, भ्रष्ट, कुशासनले लिप्त, विभिन्न अपराध गर्न उद्धत छ’,उनले भने, ‘राष्ट्रियता, तोकतान्त्रिक गणतन्त्र र संघीयतालाई कमजोर बनाउने काम पनि सरकारबाट भएको छ । यस्ता क्रियाकलाप विरुद्ध कांग्रेसको उम्मेदवारी हो।’

सरकारलाई सही बाटोमा हिंड भन्नका लागि पनि यो चुनाव नेपाली कांग्रेसले नै जित्न आवश्यक रहेको उनले स्पष्ट पारे ।

जनताको विश्वास, आस्था र भरोषालाई आफूले कहिल्यै पनि मर्न नदिने उम्मेदवार पौडेलले प्रतिवद्धता जनाए । कार्यक्रम पार्टीका इकाइ सभापति बोधराज घिमिरेको सभापतित्वमा भएको थियो ।

घरदैलो अभियान जारी
कास्की कांग्रेसले उपनिर्वाचनका लागि घरदैलो अभियान मार्फत मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको छ । अभियान अन्तर्गत शनिबार पोखरा–११ का अधिकांश टोलमा घरदैलो र कोणसभा भयो ।

संविधानसभा सदस्य एवं चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलले पोखरा–११ मा विभिन्न कलष्टर छुट्याएर समिति गठन गरेकी थिइन् । उक्त समितिले प्रत्येक घरमा पुगेर मतदाता भेटघाट जारी राखेका थिए ।

शनिबार उम्मेदवार खेमराज पौडेलसहित केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा. डीला संर्गौला, कास्कीका उच्च नेताहरूसहित पोखरा–११ मा घरदैलो गरिएको हो । यस अवसरमा आयोजित कोणसभामा बोल्ने नेताहरूले कम्युनिष्ट अधिनायकवादी सरकारलाई मिनी जनमत संग्रहमार्फत दवाव दिनुपर्नेमा जोड दिएका थिए ।

योसंगै पोखराका अन्य १० वटा वडाका कांग्रेस नेता कार्यकर्ता मतदाता भेटघाट अभियान जारी राखेका छन् । यसैक्रममा पोखरा–७ मा पनि घरदैलो कार्यक्रम जारी छ ।

शनिबार कांग्रेस नेता शुक्रराज शर्मा, इकाइ सभापति नवीन बराल लगायका नेता कार्यकर्ताले विभिन्न स्थानमा पुगेर खेमराज पौडेलको पक्षमा मत मागेका थिए । आइतबार मासवार, ढाड र घारीपाटन क्षेत्रमा एकैसाथ घरदैलो गर्ने कार्यक्रम तय भएको वडासभापति बरालले जानकारी दिए ।

यसैगरी आइतबार उम्मेदवारसहितको घरदैलो कार्यक्रम पोखरा–३३ मा हुँदैछ । उक्त अभियानमा केन्द्रीय सदस्य जीवन परियासहित कास्की कांग्रेका नेताहरू पनि सहभागी हुने कार्यक्रम रहेको पार्टी सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए । आइतबार पुँडीटार र कालिकाचोकमा घरदैलोसहित कोणसभाको तयारी भइरहेको चुनाव प्रचार समिति संयोजक जीवन परियारले जानकारी दिए ।

धादिङ सम्पर्क समिति पनि चुनावमा खटिने
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समिति पनि कास्की–२ को उपनिर्वाचनमा खटिने भएको छ ।

समितिको शनिबार बसेको बैठकले चुनाव प्रचार समिति गठन गरेको छ । सभापति लालप्रसाद पाठकको संयोकत्वमा ५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरिएको हो ।

जसमा कृष्णकुमार श्रेष्ठ, केदार धमला, मोहन पण्डित, कमलबहादुर पाण्डे, हरि पन्त, यादुप्रसाद ढकाल, टेकबहादुर थपलिया, माधव लम्साल, नारायण दुवाडी, वेनु पण्डित, सीता श्रेष्ठ, किशोर भट्ट, देवराज अर्याल, भोजराज सापकोटा, शान्ता धरेल, नवीन थपलिया, राजेन्द्र इटनी, राजेन्द्र पाण्डे, कल्पना पौडेल, हरिकृष्ण सिटौला समितिको सदस्य छन् ।

यसैगरी कृष्णप्रसाद थपलिया, केशव श्रेष्ठ, अर्जुन अर्याल, राकेश श्रेष्ठ, सुव्वा श्रेष्ठ, गोपाल तिमिल्सिना, कुमार पन्त, विष्णु आचार्य, लालकाजी श्रेष्ठ, जयराम थपलिया, भरत कडरिया, कृष्णबहादुर शाह, रामकृष्ण खनाल, मिरा पाठक लगायत समितिको सदस्यमा छन् ।

यसैगरी हरि पन्तको संयोजकत्वमा प्रचारप्रसार समिति बनाइएको छ । सरोज अर्याल र राकेश श्रेष्ठलाई समितिको सदस्यमा राखिएको छ । यस्तै कोषाध्यक्ष किशोर भट्टको संयोजकत्वमा अर्थ संकलन समिति बनाइएको छ । समितिमा सहकोषाध्यक्ष देवराज अर्याल र सदस्य शान्ता धरेल सदस्य छन् ।

बैठकमा समिति सभापति एवं चुनाव प्रचार समितिका संयोजक लालप्रसाद पाठकले कास्की–२ मा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । ‘सरकारको अधिकायकवादी चरित्र सच्याउन र लोकतन्त्रका पक्षमा उभ्याउन कांग्रेसले यो चुनाव जित्न जरुरी छ, उनले भने, ‘यो चुनावमार्फत जनमत कांग्रेसकै पक्षमा छ भन्ने सन्देश दिन आवश्यक छ ।’

कास्की–२ मा उच्च तहका नेताको चासो
कास्की–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका नेताहरूले निकै चासो देखाएका छन् । कांग्रेसले केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई नै चुनावी कमाण्डर बनाएर खटाएको छ । नेता रिजाल १ सातादेखि कास्की–२ मा खटिएका छन् ।

यसैगरी शनिबार नेता कृष्णप्रसाद सिटौला, महिला नेतृ तथा सांसद डा. डीला संग्रौला पोखरा आएर घरदैलो तथा कोणसभामा सहभागी भए ।

यसैगरी मंसिर ५ गते युवा नेता गगन थापा पोखरा आउने र पोखरा–१५ र १५ को कोणसभामा सहभागी हुने कास्की कांग्रेसले जनाएको छ । सोही दिन साँझ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र ७ गते बिहान पार्टी सभापति शेरबहादुर देउवा पोखरा आउने र आमसभामा सहभागी हुने बताइन्छ ।

आमसभाको मिति र स्थान तय नभए पनि मंसिर ७ गते वृहत आमसभा गर्ने कास्की कांग्रेसको तयारी छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives