गरेको काम भन्न नसक्नु काँग्रेसको कमजोरी ः पूर्वमन्त्री थापा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १५, २०७४
tred union ph 2

पोखरा, १५ चैत । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसले गरेको काम जनतालाई भन्न नसक्नु पार्टीको कमजोरी भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्व कानुन मन्त्री थापाले काँग्रेसको हार उच्च डोज भएकोमा चिन्ता व्यक्त गरे ।

उनले हारको मानसिकता त्यागेर संगठन निर्माणमा लाग्नु पर्नेमा जोड दिए । चुनाव हार्दा काँंग्रेसले धेरै घाटा व्यहोर्नुपरेको भन्दै आगामी निर्वाचनमा जनताले काँग्रेसलाई नै जिताउने दावी गरे ।

नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले निर्वाचनमा उठ्ने अनि निर्वाचन सकिए लगत्तै सुत्ने पद्धतिले काँग्रेस पछाडी परेको उल्लेख गरे ।

पार्टी नेतृत्वको आलोचना गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष समेत रहेका कुँवरले एमाले–माओवादीमा मजदुर संगठन नजन्मदै नेपाली मजदुरलाई उपहार स्वरुप दिएको ऐन र कानुनको रक्षा गर्नु पहिलो कर्तव्य हुनेमा जोड दिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बलियो मजुदर संगठनले मात्र वर्तमान गठबन्धन सरकारले श्रम क्षेत्रमा गर्ने आक्रमण रोक्न सक्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता खेमराज पौडेलले प्रजातन्त्र संरक्षणमा पार्टीलाइ बलियो बनाउनपनि नेपाल ट्रेड युनियन काँग्रेसलाई चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिए ।

प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले देश र जनताको पक्षमा पार्टीले काम गर्ने उल्लेख गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीकी अध्यक्ष कुलदेवी बरालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ४ का संयोजक मुरारी शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका पूर्वअध्यक्ष एवं सल्लाहकार विश्वेश्वर पराजुली, नेपाल नाई संघका बरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर, नेपाल शिक्षक संघ प्रदेश नं ४ का अध्यक्ष शिरोमणि लामिछाने, मजदुर नेता किरण अधिकारी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल लगायतले बोलेका थिए ।

उद्घाटन सत्रमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष घनश्याम रेग्मी, सचिव केशवराज भट्टराई, कोषाध्यक्ष मित्रप्रसाद अर्याल, सहसचिव रुद्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

६ हजार १ सय ६९ जना सदस्य रहेको नेपाल ट्रेड युनियन काँग्रेस कास्कीमा २ सय ६२ जना प्रतिनिधि छन् । अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives