हिजोआज त सबैतिर वैदेशिक रोजगारका बारेमा सुन्न पाइन्छ । तर म जाने बेलामा सूचना दिने पनि कोही थिएनन् । काठमाडौंमा एक सहकारीमा काम गर्थें । त्यहाँको कमाइले खासै नपुग्ने । सबैजनाको सल्लाहमा विदेश जाने निधो भयो ।

देश छानेँ  कुवेत । भिजिट भिसामा जाने भइयो । काम राम्रो छ यो काममा काम गर्ने भिसा यतैबाट लगाउन मिल्दैन भनेपछि  भिजिट भिसामा गएको हो । तर मलाई भिजिट भिसाको बारेमा थाहा थिएन । सन् २००४ मा ६० हजार रुपैयाँ म्यानपावरलाई बुझाएर कुवेत गएँ ।

वायर हाउस भनेका थिए । म त बिजुली सम्बन्धी कुनै काम होला भन्ने सोचेको थिएँ । तर काम रहेछ खानाको बाक्साहरु गाडीमा राख्ने । कुवेतमा अमेरिकी सेनाको क्याम्पको खानाहरु सप्लाई गर्ने ठाउँमा परें । फेरि काम पनि फ्रिज भित्रको पर्‍यो । माइनस २५ डिग्रीमा काम गर्नुपर्ने । इराक युद्धका बेला रहेछ । त्यो खाना पकाउने ठाउँ चाहिँ असुरक्षित थिएन ।

चिसो ठाउँमा काम गर्नुपर्ने भए पनि त्यस्तो गाह्रो थिएन । हामीलाई सबै हिसावले सुरक्षा दिइएको थियो । काम ८ घण्टाको थियो । कमाइ महिनाको ३० देखि ३५ हजार रुपैयाँसम्म हुन्थ्यो । सुरु सुरुमा त काम गर्न अलि गाह्रो नै थियो । तर कम्पनीमा म्यानेजर पनि नेपाली नै भएकाले सहयोग हुन्थ्यो ।

२ वर्षसम्म मैले लेबरकै काम गरें । तर दुःखको कुरा के भयो भने यहाँबाट भिजिट भिसामा गएको छ । महिना पछि काम गर्ने भिसा लगाइदियो होला भनेको भिसा नै पो लगाएको रहेनछ । एकदिन कामबाट फर्किदै गर्दा प्रहरीले समात्यो ।

                           दामोदर आचार्य, कास्की

अनि पो थाहा भयो । १८ महिना त अवैधानिक भएर काम गरिएछ । म मात्र हैन त्यो कम्पनीमा काम गर्ने ५३ जना नेपालीको अवस्था एउटै रहेछ । कम्पनीले त्यसपछि भिसा मिलाइदियो । २ वर्ष पछि त मेरो बढुवा भयो ।

लेबरबाट कम्प्युटर अपरेटर भएँ । पद बढुवा भएपछि पैसा पनि बढ्यो । मैले महिनाको ६५ हजार रुपैयाँसम्म पनि कमाउन थालें । त्यसपछि त म घरमा पनि आवतजावत गर्न पाएँ ।

विदेशमा मैले त्यती धेरै दुःख भोग्नु परेन । नेपाली नै म्यानेजर हुन र मैले आफैंले पनि मेहनत गरेर काम गरेकाले होला बढुवा भएपछि मैले काममा त्यस्तो दुःख भएन ।
मलाई विदेशमा बस्दा राम्रो लागेको भनेको त्यहाँ नेपाली नेपालीबीचको सहयोग हो । प्रतिस्पर्धा पनि छ त्यो सँगै परेका बेला नेपालीले नेपालीलाई ज्यानै दिन्छन् ।

त्यो बेला सीप सिकेर जान पाएँको भए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । कमाउने रहरमा विदेश पुगेपनि मेरो कुवेत बसाइ सुखद नै रह्यो । तर हिजोआज गाउँगाउँमा सीपका बारेमा बताउदा युवाहरु सीपको महत्व नबुझे झैं गर्छन ।

विदेशबाट फर्केदेखि मैले सुरक्षित आप्रवास परियोजना (सामी) अन्र्तगत कास्कीमा रहेको सूचना केन्द्रमा स्वयमसेवकको काम गरिरहेको छु । आफ्नै गाउँगाउँमा वैदेशिक रोजगारीको बारेमा सूचना दिने काम गर्छु ।

सीप नसिकी जाँदा दुःख पाउने र दलालबाट ठगिने युवाको संख्या धेरै भएकाले मैले सीप सिकेर मात्र जान सुझाव दिन्छु । र, दलाल वा म्यानपावरलाई पैसा बुझाउँदा जति बुझाएको हो त्यसको भर्पाई लिन वा बैंकबाट कारोबार गर्न सबैलाई आग्रह गर्छु । आफू चलाख भए ठगिने सम्भावना कम हुन्छ ।

दामोदर आचार्यसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

स्रोत ः उज्यालो अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here