आज महाशिवरात्री, देशभरका शिव मन्दिरमा घुईचो, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
फागुन १, २०७४
lord-shiva-33h

पोखरा, १ फागुन। महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । आज बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुईचो लागेको छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ ।

फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा आदिदेव शिव शिवलिङ्गको रूपमा प्रकट भएको उल्लेख विभिन्न साहित्यिक स्रोतहरूमा पाइन्छ । आदि शिवलिङ्ग राति उत्पन्न भएकाले शिवरात्रि भन्ने प्रचलनमा रह्यो । यो पर्व परोपकार र सह–अस्तित्वको प्रतीक हो ।

सनातन हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा प्राचीन र सर्वाेत्कृष्ट शास्त्र वेद र उपनिषदलाई मानिएको छ । वेदमा रुद्रको रूपमा बलिसमेत स्वीकार गर्ने शिव समयसँगै परिवर्तन भएर महादेव र पशुपतिका रूपमा पुजित भए । शिवलिङ्ग र प्रतिमा दुवै स्वरुपमा पुजित महादेवका सौम्य र उग्र स्वरुपका चित्र र मूर्तिहरू प्राचीन समयदेखि नै बन्दै आएका छन् । संसारका अधिकांश सभ्यतामा लिङ्ग र योनिलाई विभिन्न आकृतिमा कँुंदेर आआफ्नो ढंगले सम्मान, पूजा र अर्पण गरेका उदाहरण प्रशस्त छन् । भारतको गुडडिमल्लममा प्राप्त एउटा शिवलिङ्ग त्यसमा लिङ्गकै आकृतिमा कँुंदिएका कलाकृतिको कारण निकै चर्चित छ । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र सम्हारकर्ता शिव भन्ने मान्यता पौराणिक कालमा व्यापक थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् ।

शिवरात्रीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले महाशिवरात्री राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives