एसइई परीक्षा शुरु, केन्द्राध्यक्ष र निरीक्षक निष्कासित

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ८, २०७४
SEE-exam-1-600×381

भक्तपुर, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु भएको छ ।

पहिलो दिन अग्रेजी विषयको परीक्षा भएको र परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति परिचालित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी छन् । साधारणतर्फको १७ गतेसम्म र प्राविधिकतर्फको २० गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षाका लागि सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोली गठन गरिएको छ ।

ती टोलीले परीक्षा सञ्चालन अवधिमा परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित गर्ने र अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्न सक्ने गरी अनुगमन निरीक्षणको व्यवस्था मिलाइएको छ ।

यसैवीच, परीक्षा मर्यादित ढंगबाट सञ्चालन नगरेको भन्दै सिरहाको दुई वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई आज निष्कासन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सञ्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरेको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।

यस्तै परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएको परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives