काँग्रेसका सबै संगठन चुनावमा, निष्ठावान उम्मेद्वार पाउँदा मतदाता खुशी

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २५, २०७६
74789163_2226809450758640_8547552511853068288_n

पोखरा, २५ कात्तिक । नेपाली काँग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ ।

नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी संघलगायतका सबैलाई चुनावमा खटाएको छ ।

सबै संघ÷संगठनले भेलामार्फत् प्रचार समिति गठन गरेर चुनावमा होमिएको छ । यो चुनावमा काँग्रेसका भातृ समितिमा आवद्ध नेता कार्यकर्ता पनि निकै उत्साहित बनेका छन् । सबैले यस पटक केही गरेर देखाउने भन्दै चुनामा होमिएका छन् ।

संगठन प्रमुखहरूले आआफ्ना नेता कार्यकर्तालाई सबै मतदाता समक्ष १ पटक अनिवार्य भेट्न निर्देशन दिएका छन् ।

नेपाल महिला संघ कास्कीकी सभापति एवं चुनाव प्रचार समितिका संयोजक कोपिला रानाभाटले महिला संघ लगायत सबै संगठनका नेता कार्यकर्ताले सबै मतदातालाई १ पटक अनिवार्य भेट्नुपर्ने भनेर निर्देशन दिइएको बताइन् ।

उनले भनिन्,‘पार्टीको निर्देशन अनुरुप हामी पनि समिति निर्माण गरी मतदाता भेट्घाट अभियान तीव्र बनाएका छौं । यो पहिलो चरणको कार्यक्रम हो । मतदाताका गुनासा सुन्ने र पार्टीको नीति मतदातामा पस्कने काम अहिले भएको छ ।

त्यस पश्चात् मतदाताका समस्या पार्टीमा राख्ने र सोही बमोजिमको घोषणापत्र लिएर पुनः टोलटोलमा पुग्ने लक्ष्य रहेको उनले बताइन् । ‘यतिबेला काँग्रेसका सबैमा उत्साह छाएको छ, सबै चुनावमा परिचालित भएका छन्’ रानाभाटले भनिन् ।

कास्की काँग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका मूल संयोजक कृष्ण केसीले शरीरका सबै अंग चलेजसरी काँग्रेसका नेता कार्यकर्ता खटिएको बताए । उनले यो चुनावमा सबै नेता कार्यकर्ता उत्साहित भएको भन्दै काँग्रेसको पक्षमा माहोल राम्रो देखिएको बताए ।

उनले भने, ‘कम्युनिष्ट रवैयाले जनता आक्रान्त थिए । कम्युनिष्ट र काँग्रेसबीचको फरक जनताले बल्ल बुझे । यसले काँग्रेसप्रति विश्वास बढेको छ।’ उम्मेद्वारका कारणले पनि काँग्रेसको माहोल राम्रो देखिएको सभापति केसीले बताए ।

काँग्रेसका नेता कार्यकर्ता अहिले जत्तिको उत्साहित र सक्रिय भएको आफूले कहिल्यै नपाएको उनले स्पष्ट पारे । काँग्रेसले कास्की २ मा नेता खेमराज पौडेललाई उम्मेद्वार बनाएको छ ।

नेपाली काँग्रेस कास्कीले निर्वाचन प्रचार अभियान अन्तर्गत घरदैलो कार्यक्रम तीव्र बनाएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत घरदैलो अभियान सोमबार सबै वडामा जारी छ ।

निष्ठावान उम्मेद्वार छानेकोमा मतदातामा खुशी

नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ ।

कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान नेतालाई उम्मेदवार वनाएको भन्दै खुशी प्रकट गरे । उम्मेदवारले पोखरा–७ का सबै टोलमा पुगेर मत मागेका थिए ।

उक्त अवसरमा कांग्रेस उम्मेदवार खेमराज पौडेलले पार्टीले दिएको जिम्मेवारी वहन गर्न आफू कुनै हालतमा पछि नपर्ने बताए ।

उनले यो चुनावमा अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरे । उनले देशमा २ तिहाईको सरकारले जनहित विपरित काम गरेको भन्दै निष्ठाको राजनीति सिकाउन पनि आफ्नो उम्मेदवारी भएको बताए ।

पछिल्लो समयमा नेपाली राजनीति बल मिच्याइँमा अघि बढेको बताउँदै उनले यसलाई सही बाटोमा ल्याउनु पर्ने स्पष्ट पारे ।

पोखरा–१७ मा पनि चुनावी प्रचार

कांग्रेसले पोखरा–१७ मा सम्पर्क कार्यालयको स्थापना गरेको छ । उक्त कार्यालय संविधानसभा सदस्य राजु थापाले शुभारभ गरेका थिए ।

उक्त अवसरमा थापाले कांगे्रसको तर्फबाट उम्मेद्वार बनेका खेमराज पौडेलले विपिकै पालामा पञ्चायत ढाल्नका लागि महत्वपूर्ण योगदान दिएको बताए ।

नेपाली कांग्रेसले यो चुनाव जित्दैमा सरकार परिवर्तन नहुने तर कडा प्रतिपक्षीको रुपमा उभिनका लागि सहयोग मिल्ने थापाले बताए । उनले वर्तमान सरकार काण्डै काण्डमा मुछिएको हुँदा यस पटक कांग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले कांग्रेस गणतन्त्र, प्रजातन्त्र र सम्पूर्ण राजनीतिक पार्टीको अविभावक भएका कारण पनि यसले आफ्नो लागि मात्र सोचेर नपुग्ने बताए ।

उनले माओवादीलाई जंगलबाट सिंहदरबारसम्मको यात्रामा ल्याउन कांग्रेसले खेलेको उल्लेखनीय भूमिका ज्वलन्त उदाहरणको रुपमा रहेको स्पष्ट पारे ।

वडा सभापति सभापति देवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सांसद लालकाजी गुरुङ, नेपाली कांग्रेस जिल्ला सहसचिव रंगिला आचार्य, वडाका उपसभापति दिपेन्द्र बराल, सहसचिव बिनम गुरुङ्ग लगायतले बोलेका थिए ।

कार्यक्रममा वडा सभापति देवराज आचार्यको संयोजकत्वमा ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives