कास्की काँग्रेसद्वारा रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न माग

राष्ट्र न्यूज सम्वाददाता
जेठ ५, २०७७
flag

पोखरा, ५ जेठ । नेपाली काँग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबारको जुम बैठकले सरकारका गतिविधिका कारण नै रोग र भोकका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आइसकेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले लकडाउन लम्बिएको अवस्थामा राहत बढाउन माग गर्दै राजनैतिक पूर्वाग्रह नराखी राहत वितरण गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ ।

‘अवस्था झन्, झन् जटिल बन्दै गएका बेला सरकार गैरजिम्मेबार बनेकोप्रति बैठकले खेद प्रकट गरेको छ, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले भने, सरकार लकडाउन लम्ब्याउन मात्र केन्द्रीत बनिरहेको छ ।’

बैठकले जिल्लाका विभिन्न नाकाहरुबाट शंकास्पद मानिस भित्रिरहेका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै प्रवेश नाकामा कडाई गर्न माग गरेको छ ।

बैठकले नेपालको सिमा क्षेत्रमा अलपत्र परेका र विभिन्न देशबाट नेपाल आउँन चाहेका नेपालीलाई उचित व्यवस्थापनका साथ ल्याएर घरसम्म पु¥याउन माग गरेको छ ।

लकडाउनका बेला पोखराको बसपार्कमा रहेको बास्तोला कम्प्लेक्स संचालनका कारण भिडभाड बढेको र शान्तिवनस्थित कृषि उपज बजारमा अन्य जिल्लाबाट तरकारी ढुवानी गर्दा अपरिचित र शंकास्पद मानिसको आवतजावत भई जोखिम बढेको गुनासो स्थानीयले गरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ । बैठकले कास्की जिल्लामा उत्पादित तरकारी र दुधलाई प्राथमिकता दिएर विक्री गर्ने वातावरण मिलाउन पनि माग गरेको छ ।

त्यस्तै, सर्वसाधारण नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्योपचार सेवा लिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने योजना अव्यवहारिक भएकोले विकल्प खोज्न माग गरेको छ ।

बैठकले कोरोनाको संक्रमणसंगै शिथिल बन्दै गएका पर्यटन व्यवसाय, उद्योग व्यवसाय कलकारखाना, कृषी, शिक्षाका लागि प्रोत्साहन प्याकेज ल्याउन र एसईई लगायत शैक्षिक गतिविधिप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ
कृषीजन्य उत्पादनको मौसम सुरु भएकोले कृषकका लागि बीउ र मलको तत्काल व्यवस्थासहित राहत प्याकेज ल्याउन माग गरेको छ ।

बैठकले कोरोनाका कारण निधन भएकाप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives