नेपाली कांग्रेसलाई नै भोट किन?-प्रदिप गिरि

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३०, २०७४
images

मैले नै कांग्रेसमा ठट्टा चलाएको छु। त्यस समयमा तीन प्रकारका नागरिकता दिइन्थ्यो। एउटा वंशजको आधारमा, जन्मकृत र अंगिकृत नागरिकता। मेरो हिसाबमा भन्ने हो भने म वंशजका आधारमा नागरिक हो। मेरा पिता कांग्रेसका जिल्ला सचिव हुनुहुन्थ्यो। मेरा काकाहरू पनि कांग्रेसका सदस्य हुनुहुन्थ्यो। म स्वयम् पनि विधिवत् रूपले कांग्रेसमा लागेको ५० वर्षभन्दा बढी भइसकेको छ।

यसबीच वंशजका रूपले हुनु पर्ने जुन एउटा अन्धविश्वास मलाई कांग्रेसप्रति कहिले पनि भएन। कांग्रेस पार्टीमा रहँदा पनि मैले कांग्रेसका नेताहरुसँग वरिष्ठ नेताहरू र सर्वमान्य नेताहरू मात्र होइन् कांग्रेसका विचारधाराहरूप्रति पनि अनेकौं पटक शंका गरेको छु। शंका मात्र होइन् मतभेदसमेत देखाएको छु। मतभेद मात्र किन भन्ने संविधान संशोधनको एउटा प्रसंगमा त मैले पार्टी नेतृत्व नटेरिकन संविधान सभाको बहिष्कार गर्ने कृत्य गरेको छु।

तैपनि म काग्रेसमा नै किन छु त? यसैसँग टाँसिएर किन बसेको छु त? के त्यस्तो कुरा छ जुन अरू पार्टीमा छैन्? यो प्रश्नको उत्तर म दिनको लागि बसेको होइन। यस प्रश्नले सधैं म आफैंलाई घचघचाउँछ।

मुलुकमा यत्रा पार्टी छन्। पद नै चाहिएको भए आफ्नै पार्टी बनाए भयो। आफैं अध्यक्ष भएर कतिपय नेताले पार्टी खोलेका छन्। तर मैले कहिले कुनै पदका लागि पार्टी भित्र र पार्टी बाहिर कुनै कुरा गरेको छैन। तैपनि मेरो निष्ठा कांग्रेसमा छ। किन?

किनकी, कांग्रेस पार्टीले धेरै राम्रो गर्‍यो। धेरै ठूलो उपलब्धि गर्‍यो। मुलुकका समस्या समाधान गर्ने कार्यमा प्रतिवद्ध भएर यो गर्‍यो, त्यो गर्‍यो भन्ने धेरै निस्केलान्। म त्यो भन्दिनँ। त्यसमा केही मेरो मतभेद पनि छन्, ती मतभेद मैले धेरैचोटि व्यक्त पनि गरेको छु।

एउटा कारण म कांग्रेसमा छु। मुख्य एउटा कुरा, त्यसपछि दोस्रो कुरा।

कुनै राजनीतिक पार्टीमा लाग्नु भनेको त्यस पार्टीको जीवन दर्शन मूल्यमान्यता, विश्वदृष्टिलाई हेरर लाग्नु हो। कांग्रेस पार्टीमा तात्कालिक, व्यक्ति धेरै छिरेका छन्। मभन्दा त्यसको जानकार अरु मान्छे छैनन् होला। तर पनि कांग्रेसको आधारभूत संरचना छ, आधारभुत विचारधारा छ, त्योसँग म पूर्ण सहमत छु। त्यति सहमत म अन्य कुनै पनि पार्टीसँग छैन्। मुलुकभित्र पनि छैन। मुलुकबाहिर पनि छैन।

त्यो दर्शन के हो त?

सामान्य भाषामा यसलाई लोकतान्त्रिक समाजवाद भनिन्छ। बेलायतमा लोकतान्त्रिक समाजवादको केही भिन्न प्रयोग भएको छ, फिलिपिन्समा अर्कै प्रभाव छ। जर्मनीमा एक समय मार्क्सवादी प्रभाव थियो। नेपालमा विपी कोइरालाले व्याख्या गरेको र भारतमा जयप्रकाश लुइयाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादमा गान्धीको समाजवादको केन्द्रीय चिन्तन छ। एसियाका हामी लोकतान्त्रिक समाजवादीले मार्क्सकको विश्लेषण लिएका छौं। र गान्धीको मुल्य बहुत, गान्धीको चिन्तन, गान्धीको नैतिकतालाई लगाउनका लागि सैद्धान्तिक र व्यवहारिक प्रयोग गरेका छौं। गान्धीका चिन्तन पनि उदारवादबाट आएका छन्। हामी स्वतन्त्रतालाई प्रमुख कुरा मान्दछौं। हामी कुनै गुरूवादलाई मान्दैनौं।
प्रजातन्त्रको अत्यन्त मूल्यमान्यता के हो भने मुलुकको सबभन्दा शक्तिशाली व्यक्ति राष्ट्रपति वा प्रधानमन्त्री को, कहाँ छ वा पार्टीको महासचिवलाई पनि आम निवार्चनमा एक भोट गर्न दिइन्छ। मुलुकको सबभन्दा निमुखा, निर्धन व्यक्तिलाई पनि एक भोट गर्न दिइन्छ। हामी कहाँ एकदिन नागपूजा हुन्छ, एकदिन कुकुरपूजा हुन्छ, पाचँ वर्ष नै सही प्रजातन्त्रको सिद्धान्तले त्यस दिन भने प्रधानमन्त्री, राष्ट्रपतिलाई घरदैलोमा गएर नमस्कार,नमस्कार भन्ने बनाउँछ। यो त माओवादीले पनि गर्छ, यो त एमालेले पनि गर्छ, तपाईले भन्न सक्नुहुन्छ। यो एकदम जटिल कुरा छ, यो एकदम सुक्ष्म कुरा छ। माओवादी, एमालेहरूले व्यावहारिक रूपमा विकल्प नभएकोले हामीले यसमा आएको भन्छौं।

संसदमा उहाँहरुले बोलेको कुरा पनि त्यहीँ छ। हिजोका माले, एमाले, आजका माओवादी यही उपयोगका वस्तु बनेका छन्। तर यसको अर्थ उहाँहरु बदलिनु भयो भन्नेचाहिँ होइन। स्वराजनीतिले गर्दा भूमण्डलीकरणले गर्दा बदलाव आएको हो र त्यो बदलाव राजनीतिक स्तरमा छ, कार्यनैतिक स्तरमा छ, रणनीतिक स्तरमा छ। सैद्धान्तिक स्तरमा छ।

नेपालमा झट्ट हेर्दा दुई वटा दार्शनिक परिपाटी छ। एउटाले ब्रह्मलाई मान्छ, एउटाले निमार्णलाई। राजनीतिक गतिविधिमा कहाँको कुरा कहाँ पुग्छ। मानवजाति शब्द भएको दिनदेखि केही आधारभूत सभ्यतामा, आधारभुत कुराहरूमा आधार बिना लडिरहेको हुन्छ। त्यो लडेको के हो?

बुद्धले के भन्छन् भने, अप्प दिपो भवः आफ्नो बाटो आफैँ हेर आफ्नो बाटो आफैँलाई देखाऊ। कुनै सत्य अन्तिम सत्य छैन्, सत्यमा पुग्ने कुनै बाटो छैन्। बुद्ध दर्शनलाई अघि बढाएका कृष्णमुर्तिले भनेका थिए, ‘सत्य कहाँ पुग्दा कुनै बनाएको बाटो छैन्, त्यसैले सत्यको कुनै गुरु छैन्।’
कृष्णमुर्तिलाई विश्व गुरुको दर्जा दिइएको थियो, मैत्रीयको दर्जा दिइएको थियो। त्यो अस्वीकार गरी उनले भने, ‘कोही कसैको गुरु हुन सक्दैन। कोही कसैले लगाएको वादमा लाग्न सक्दैन्। मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रचन्डपथ लगायतका आधारमा पनि स्वतन्त्रता, दीर्घायू, अक्षुण र स्वस्थ रहन सक्दैन्।’ स्वतन्त्रतालाई स्वस्थ राख्नका लागि त भन्दा म जान्ने भन्नु हुँदैन्, तलाईँ मार्कसवादको बारेमा केही थाहा छैन्, मलाई सबै कुरा थाहा छ भन्न पाइँदैन्। तैले प्रचन्डपथ बुझेको छैनस्, मैले बुझेको छु भन्न पाइँदैन।

नेपाली कांग्रेस खुला, उन्मुक्त र समाजले विश्वास गर्ने पार्टी हो। उन्मुक्त विचारधारालाई विश्वास गर्ने पार्टी हो। यो पार्टीले मलाई आफ्नो वाक स्वतन्त्रतासहित इज्जतसँग बस्न दिएको छ, अराजक हुनेसम्म अधिकार दिएको छ, त्यो अन्य पार्टीमा छैन्। एउटा बाबुरामजस्तो मान्छेलाई माओवादीमा अटाउन गाह्रो पर्‍यो। माओवादीमा मात्र होइन तथाकथित् वाम गठबन्धनमा समेत अटाउन गाह्रो पर्‍यो। तर बाबुरामको प्रसंगमा अत्यन्त ज्यादा अग्रगामी भूमिका मैले गर्दागर्दै मलाई नेपाली काग्रेंसले सिंगो राजनीतिक जीवनमा एउटा प्रश्नसमेत गरेको छैन्।

पार्टीमा धेरै स्पस्टिकरण सोधिन्छन्, धेरै कुरामा सोधिन्छन्, भ्रष्टचार गरेको भनेर सोधिन्छ, अनुशासनको कुरामा सोधिन्छ, व्यवहारको बारेमा सोधिन्छ, धेरै कुरामा सोधिन्छ। तर व्यक्तिगत स्वतन्त्रताको अभिव्यक्ति गर्दा नेपाली कांग्रेसले कसैलाई पनि सोधेको छैन्, स्पष्टिकरण मागेको छैन्। त्यसको प्रमाण म हुँ।

मभन्दा आफू खुसी बोल्ने आफू खुसी लेख्ने कुनै पनि अर्को व्यक्ति छैन्। तर पार्टीको मप्रति सहिष्णु दृष्टिकोण छ। सहिष्णु मात्र होइन आदरपूर्ण दृष्टिकोण राखेको छ। पार्टीले मलाई हरेक महाधिवेशनमा केन्द्रीय सदस्यमा स–सम्मान जिताएको छ।

यसलाई गर्व गरेको भन्नुहोला, मेरा मतदाता रिसाउँलान भन्नु होला। मैले मेरा मतदातासँग कांग्रेस पार्टीको महाधिवेशनमा भोटसम्म माग्न परेको छैन्। त्यसैले यो विल्कुलै बेग्लै खालको पार्टी हो। मलाई लाग्छ, यो दक्षिण एसियामा नै नेपाली कांग्रेसजस्तो स्वस्थ्य परम्परामा हुर्किएको अर्को पार्टी छैन्।
भारतीय राजनीतिको कांग्रेस हेर्नुहोस्, इन्दिरा गान्धीपछि, राजिव, राजिवपछि सोनिया। हरेक चार वर्षमा हामी विधिवत् महाधिवेशन गर्दै जान्छौं। यसपटक शेरबहादुर छानिनु भयो, अर्को पटक अरु कोही नै हुन सक्छन्। मेरो एकदम निश्चिन्त विचार छ, मैले भारतीय काग्रेंस पार्टीको अध्ययन गरेको छु, त्यहाँको विकृति देखेको छु। जनता पार्टीलाई नजिकबाट चिनेको छु, त्यहाँका अधिकांश नेता मेरा मित्र छन्। नेपाली कांग्रेस जतिको पार्टी नेपालमा मात्रै होइन्, दक्षिण एसियामा नै छैन्।

नेपाली भाषामा एउटा कथन छ, प्रसिद्ध उपन्यासकार गुरू रूद्रराज पाण्डेले रूपमतीको भूमिकामा लेखेका छन्, ‘अंगारसँग दाँजेर कालो गोरो हुँदैन, बरफसँग दाजेर सेतो कालो हुँदैन रे। भएका राजनीतिक दलहरूमा नेपाली कांग्रेस एक मात्र श्रेष्ठ पार्टी हो भनेर भन्दिनँ। सबै पार्टीमा विकृति छन्, पार्टी व्यवस्था यस्तै हुँदैरहेछ। विगत १२ वर्षमा नेपाली पार्टीको व्यवस्थामा झन खराबी देखिएको छ। यस व्यवस्थालाई विद्वान डेनिस लेखकले भनेका छन्, ‘यहाँ त प्रजातन्त्र आयो भनेको त दलतन्त्र पो आएछ।

नेपालमा दलीयतन्त्रका कारण धेरै नराम्रो सुन्नु परेको छ। जति पनि विश्वविद्यालय, अस्पताल, कलेजहरू बाँडिएका छन्, हुदाँहुदाँ भोलि पर्सिदेखि थाना र कचरी पनि बाँड्ने बेला आइसकेको छ। त्यही भएर पार्टी राम्रो छ म भन्दिनँ, थुप्रै खराबी छन् यसका। यो खराबी त तपाईँहरूले बाहिरबाट देख्नुभएको होला, मैले भित्रबाट अध्ययन गर्ने मौका पाएको छु।

बाहिर र भित्रको वृतान्त, निसंकोच र वस्तुनिष्ठ अध्ययन गरेकाले भन्छु नेपालमा भएका अन्य पार्टीभन्दा कम खराब नेपाली कांग्रेस हो। त्यो कम खराबी नेपाली कांग्रेसमा म एउटा खराबी व्यक्ति भए पनि विगत ५० वर्षदेखि स–सम्मान बस्न पाएको छु। त्यसैले आदरणीय मतदाताहरुसँग म नेपाली कांग्रेसका लागि भोट माग्दछु। सेतोपाटी बाट

बुध, कार्तिक २९, २०७४ मा प्रकाशित

Related News

सम्बन्धित समाचार

Archives

Archives