पोखरामा कृष्णदास महाराजको नागरिक अभिनन्दन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १०, २०७५
IMG_20190323_144813

पोखरा, १० चैत । आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा शनिवार नागरिक अभिनन्दन गरिएको छ ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा नागरिक अभिनन्दन मूल समारोह समितिले पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम गरी अभिनन्दन गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माले नागरिक अभिनन्दन गरेका थिए । उनलाई करिब एक सय सामाजिक तथा धार्मिक संस्थाले अभिनन्दन गरेका थिए ।

कृष्णदास महाराजले व्यत्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्व महायोगको माध्यमबाट जनजीवनमा योगदान पु¥याएको भन्दै उनलाई नागरिक अभिनन्दन गरिएको हो ।

कृष्णदास महाराज नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अन्तर्गत रहेको लक्ष्मीनारायण मन्दिरको पिठाधिश पनि हुन् ।

नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकी सहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइएको थियो ।

नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि शुरु भएको रथयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक हुदै प्रदर्शनी केन्द्र पुगेको थियो । रथयात्रामा आमा समूह र धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै कृष्णदास महाराजले मुलुकलाई आत्मनिर्भर र स्वाभिमान बनाउन आवश्यक रहेको औल्याए । हरित कृषि क्रान्तिबाट मुलुकलाई आत्मनिर्भर र स्वाभिमान बनाउन सकिने उनको भनाई छ ।

उनले कुनै पनि मानिसको जीवनमा भोजन, संगत, जन्म, कर्म र संस्कारको निकै ठूलो भुमिका रहने उल्लेख गरे ।

कृष्णदास महाराजले नेपाल धर्तिको स्वर्ग भएको भन्दै आफ्नो पहिचानलाई गर्वपुर्वक उच्चारण गर्नु पर्नेमा जोड दिए ।

उनले गुरु र सन्त समाजले आफुलाई जगत्गुरुको आशिर्वाद दिएको उल्लेख गर्दै आफुका कारण गुरु र सन्त समाजलाई लज्जित हुनु पर्ने अवस्था आउन नदिने बताए ।

विन्ध्यवासिनी मन्दिरका पिठाधिश्वर श्री १००८ स्वामी निशेषान्नद महाराजजीले धेरै जन्मको पुण्यपछि मात्रै जगत्गुरु बन्न पाइने बताए । उनले समाजका लागि असल व्यवहार र वीचार आवश्यक भएको बताए ।

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले मानवीय जीवन कता जाने भन्ने कुरामा संगतको ठूलो प्रभाव हुने गरेको बताए । उनले कुनै पनि मानिसलाई उचाई र वजनले नभई उनको कर्मबाट नापिनु पर्नेमा जोड दिए । उनले जगत्गुरु नेपालको चन्द्रमा भएको बताए ।

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व जरुरी भएको बताए । उनले हरेक व्यत्ति आध्यात्मिक रुपले बाँधिए शान्ति कायम हुने उल्लेख गरे ।

नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिद्वबाबा आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले स्वागत, नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले धन्यवाद र सचिव धर्मराज बराल (भोला)ले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives