पोखरामा यसरी दौडीए पर्यटक , नेदरल्याण्डका विल प्रथम

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३०, २०७४
race5
पोखरा, ३० चैत  : पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा लेकसाइडमा जारी १५ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् ।
कूल ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए ।
महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी जेनेला द्वितीय र फ्रान्सकी एमिलि तृतीय भएका छन् । पोखराको हल्लनचोक नजिक सिप प्लाजा होटल अगाडि बाट सुरु भएको दौडका सहभागी तीन किलोमिटर दक्षिणको फिस्टेल गेटसम्म दौडिएका थिए ।
महोत्सवस्थल कोमागाने पार्कमा आयोजित समारोहमा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, आयोजक संघका अध्यक्ष विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, महासचिव गणेशराज पहारी, संघका सल्लाहकार गोविन्दराज पहारी र बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बराल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
रन फर फन नाम दिइएको प्रतियोगितामा प्रथम हुनेका लागि पोखरा काठमाडौं उडान टिकट, मायाको चिनो र विजी बी क्याफेमा ककटेल डिनर पुरस्कारस्वरुप प्रदान गरियो ।
यसैगरी दोश्रो हुनेका लागि आधा घण्टाको प्याराग्लाइडिङ, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्रदान गरियो ।
तेश्रो हुनेले पोखराबाट काठमाडौं सम्म ग्रिनलाइन टुुर्सबाट डिलक्स बस टिकट, मायाको चिनो र सोही क्याफेमा ककटेल डिनर प्राप्त गरेका छन् ।
बुद्ध एयर, यति एयर, पोखरा प्याराग्लाइडिङ र ग्रिनलाइट टुर्सले पुरस्कार प्रायोजन गरेका थिए । यति ब्रुअरीको अर्ना वियर मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives