पोखरा क्रिकेट एकेडेमीमा सांग्रिलाको फराकिलो जित

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २३, २०७५
man of the match(1)

पोखरा, २३ वैशाख  । शिव सुवेदीको अलराउण्डर प्रदर्शन गरेपछि पोखरा एकेडेमीलाई सांग्रिला क्रिकेट क्लबले १२६ रनले पराजित गरेको छ । ओम डेभलपमेन्ट बैंक के.सि.एलको दोस्रो दिन सांग्रिलाले दुई अंक जोड्ने क्रममा पोखरा क्रिकेट एकेडेमीलाई सस्तैमा प्याकअप गराउन शिव सुवेदीले पाँच विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै केवल १६ रन मात्रै खर्चिए ।

पिच पानीले भिजेपछि ढिलो गरी ओभर घटाईएको खेलमा सांग्रिला क्रिकेट क्लबले टस हार्दै फष्ट इनिङ व्याटिङ गर्दै १९८ रनको योगफल तयार पार्यो । २५ ओभरमा केवल ४ विकेट गुमाउँदै उत्कृष्ठ शुरुवात भने सुदिप पौडेलले गरे । अर्धशतक पुरा गर्दै ठोस इनिङ खेल्दै सांग्रिलालाई स्पष्ट जित दिलाउन महत्वपूर्ण भूमिका खेले । उनले ५१ बल खेल्दै ६ चौका र ५ छक्काको सहयोगमा ७८ रन बनाए । शिव सुवेदीले पनि २१ बल खेल्दै ३ चौका र एक छक्का हान्दै ३० रनको योगदान गरे । सांग्रिलाको इनिङमा राजु खनालले पनि ४४ बलको सामना गर्दै ३७ रन बनाए ।

प्रेम गुरुङले ५ ओभरमा एक मेडन राख्दै ११ रन दिए । तर उनको नाममा केवल एक विकेट मात्रै लेखियो । अनिष खड्काले पनि ५ ओभर बलिङ गरेर ३८ रन खर्चिदैं २ विकेट लिए । अन्जनको नाममा एक विकेट रह्यो ।

१९९ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमी भने ७२ रनमै अलआउट हुन पुग्यो । पुराना भरपर्दा खेलाडी शिव सुवेदीले एकेडेमीलाई सस्तैमा प्याक गर्ने क्रममा ५ ओभरमा १६ रन दिदैं महत्वपूर्ण पाँच विकेट खसाले । उनी पोखरा राईनोज म्यान अफ दि म्याचबाट पुरस्कृत भए । सांग्रिलाका सुदिप पौडेलले पनि पाँच ओभरमा ९ रन दिदैं ३ विकेट लिए ।

एकेडेमीको इनिङमा दुई खेलाडीको व्याटबाट मात्रै दोहोरो अंकको रन निस्कियो । विकास अधिकारीले १७ र इशान्त श्रेष्ठले १५ रन बनाए । अन्य व्याट्म्यान भने सस्तैमा पेभिलियन फर्किए । सोमबार खेल भने हुने छैन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives