बन्दले रोक्यो प्रधानमन्त्री ओलीलाई

राष्ट्र न्यूज सम्वाददाता
फागुन ८, २०७४
28309149_2059820940943627_131911445_o

ओम हमाल

पोखरा, ८ फागुन । नेपाल बन्दका कारण प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएनन् ।

प्रधानमन्त्री ओली लेखनाथमा रहेको पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज पोखरा आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने कानूनी प्रावधान रहेको छ ।

पोखरामा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द कार्यक्रमको प्रभाव व्यापक रहेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई उक्त समारोहमा सहभागी हुन निर्देशन दिएका थिए ।

पोखरा आउने अन्तिम तयारी गरिरहेका मन्त्री पण्डितले समेत अहिले अन्तिम समयमा आएर आफू कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएका छन् । दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा मन्त्री नआउने भएपछि पोखरा विश्वविद्यालयका उपकुलपतिको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह शुरु भएको छ ।

यसैबीच पोखरा एयरपोर्ट नजिक पोखराको नागढुंगामा शंकाष्पद वस्तु फेला परेको छ । झोलामा राखिएको वस्तु विष्फोटक पदार्थ हुन सक्ने आशंकामा सुरक्षाकर्मीहरुले शंकाष्पद वस्तुलाई निष्कृय गराउने कोशिश गरिरहेका छन् ।

आफ्ना नेता तथा कायैकर्तालाई रिहा नगरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दले पर्यटकीय नगरी पोखराको जनजीवन प्रभावित बनेको छ । पोखरामा सार्वजनिक सवारी साधनहरु चलेका छैनन् । तर फाट्टफुट्ट मोटरसाइकलहरु चलेका छन् । पोखरामा रहेका उद्योग, कलकारखानाहरु, शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

पोखराका मुख्य बजारहरु महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, बगर लगायतका स्थानहरु सुनसान रहेका छन् । बन्दकर्ताहरु बजार र चोकमा नदेखिएपनि पोखरा बन्द शान्तिपूर्ण रहेको छ ।

शान्तिपूर्ण तरीकाले विना हातहतियार भेला र सम्मेलन गर्न पाउने संवैधानिक व्यवस्थालाई लत्याएर नेकपा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन र पोलिटब्यूरो सदस्य पदम राईलाई राष्ट्रिय जनस्वयंसेवको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाँदै गर्दा प्रहरीले इटहरीबाट पक्राउ गरेपछि आक्रोशित बनेको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द गरेको हो ।

स्रोत ः जनसंचार डटकम

Related News

सम्बन्धित समाचार

Archives

Archives