बिहे गरेको तीन दिन नबित्दै दम्पत्तिकै मृत्यू, कारण यस्तो रहेछ

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०७४
Narendra and anita

रुकुम- सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटका नबीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ की अनिता प्रधानको जीवनको खुशी धेरै दिन टिक्न पाएन। मंसीर ६ गते बिबाह गरेका उनीहरुको शनिबार रुकुममा भएको जीप दुर्घटनामा निधन भएको छ। खबर सुन्नेहरुलाई पनि स्तब्ध बनाउँदै यो जोडी सदाको लागि विदा भएको छ।

 बिवाहको आर्शिवाद र खुशी छर्न उनी ७ गते (भोली पल्ट) रुकुमकोट घर आए। ८ गते पश्चिम रुकुमको सदरमुकाम खलंगा आई ९ गते कार्यक्षेत्र जाने उनीहरुको कार्यसूची थियो । बिवाहको खुशी र आशिर्वाद लिएर दम्पत्ती कार्य क्षेत्र ८ गते साँझ फर्कदै थिए । उनीहरु घरवाट छुटिएको तीन घण्टा पुगेको थिएन। उनीहरुको उक्त खुशी लामो समयसम्म टिक्न सकेन। क्षणभरमै खुशी टुक्रियो आशीर्वाद गुम्यो।

शुक्रवार राती उनीहरु सवार जीप दुर्घटना हुँदा दम्पत्ती सहित सात जनाको मृत्यु भयो। उनीहरुको निधनले पूर्वी र पश्चि रुकुम शोकमा ढुबेको छ । उनी दुवै जना पेशाले प्रहरी निरीक्षक थिए। नवीन ६ नम्बर प्रदेशको सुर्खेतमा कार्यरत थिए भने अनिता प्रदेश २ को रौतहटमा कार्यरत थिइन्। ‘एक इमान्दार प्रहरीका दम्पत्ती गुमायौं’ रुकुमकोटका श्रीराज गौतमले भने, ‘यो निकै दुखद् घटना बन्यो ।’ ‘सम्भवन त संगै बाच्ने र संगै मर्ने कटाकेटीमा बाचा हुन्छ’ उनले भने, ‘तर यस्तो अल्पआयुमै कसैले मृत्यु सोचेको हुँदैन् ।’ उनी २०७० साल चैत्र प्रहरीमा सेवा प्रवेश गरेका थिए भने श्रीमति २०७१ सालमा सेवा प्रवेश गरेकी थिइन् । टेकवहादुर श्रेष्ठका उनी जेठा सन्तान हुन् । उनी भन्दा पछाडि एक भाइ छन्। भने एक दिदी छन्।  उनका बुवा प्राथमिक तहका शिक्षक हुन् ।

‘मिलनसार, असल, कर्तव्यनिष्ठ युावा गुमाएका छौं’ स्थानीय लिलामणि गौतमले भने, ‘समाजका लागि आवश्यक एक व्यक्तिको निधन भयो।’ यसले गाउँमा ठूलो क्षति पुगेको उनले जनाए।

एउटै पेसा, एउटै घर बनाएका प्रहरी निरीक्षक दम्पतीको चिता पनि एउटै बन्यो । ‘नविन एक इमान्दार र कर्तव्य निष्ठ प्रहरी निरीक्षक हुन’ रुकुमकोटका पूर्णजंग शाहले भने, ‘सधै देश र जनताका लागि मात्रै चिन्ता गर्थ्यौं ।’ ‘हामीले सधैका लागि त्यस्तो निष्ठावान प्रहरी गुमायौं’ उनले भने। सानै देखी अध्ययनशिल नविन माध्यमिक शिक्षा सम्म नृत्यमा रुचि राख्थे। तर उच्च शिक्षा अध्ययन पछि उनी सहर छिर्दा एकाएक प्रहरी निरीक्षक बने।

पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटवाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो। ग १ ज ४२६० नं. को जीप मुसीकोट नगरपालिका वडा नं. ६ कालिमाटिमा दुर्घटना भएको हो।

मुत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाही, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र सुरेखा शाह श्रेष्ठ, त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल शाही र रुकुमकोट निवासी प्रहरी निरीक्षक नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान श्रेष्ठ रहेका छन्। त्यस्तै घाइते चालक तुल्सीपुर उपमहानगरपालिका वडा नं. १६ का प्रेम सिउजाली थापा, सहचालक वाँफिकोट गाउँपालिका मग्माका प्रमे केसी र बर्दियाका टेकवहादुर खत्री गम्भिर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायव निरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

स्रोत ः नागरिक न्यूज

Related News

सम्बन्धित समाचार

Archives

Archives