मन्त्री थापा र नेता केसी सुकुम्बासि माझ

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ३०, २०७४
krishna kc

हिउँदमा समस्या आउँदैन्। वर्षामा पीडाले सताउँछ । ढलको व्यवस्थापन नहुदाँ काजीपोखरीको भलले पोखरा महानगरपालिका १४ को सुकुम्बासी बस्ती डुबानमा पर्छ । बस्तीमा खानेपानी समस्या छ । त्यो भन्दा ठूलो पीडा लालपूर्जा छैन् । लालपूर्जा नहुदाँ गैरदेशीय नागरिक जस्तो बन्नुपरेको पीडा उनीहरुले सुनाइरहेका थिए ।

‘सुकुम्बासीलाई लालपूर्जा देउ ।’ आफनो माग सुनाउँदै पोखरा महानगरपालिकाका १४ का सुकुम्बासीका अगुवा प्रेम नेपालीले भने–‘बसेको ठाँउको लालपूर्जा नहुदाँ गैर नागरिक जस्तो भईएको छ ।’ उनले हरेक सरकारी कामकाजको लागि नागरिकता र लालपूर्जा माग्छन भन्दै नभएको लालपूर्जा कसरी दिने प्रश्न गरे?

लामो समयदेखि सुकुम्बासी बस्तीमा बस्दै आएकी कृष्णमाया भुजेलले पनि उस्तै पीडा दर्शाईन् । ‘हामीलाई बसिरहेको सुकुम्बासी बस्तीबाट समेत हटाउने प्रयास गरिएको छ ।’ उनले भनिन् –‘चुनावकै समयमा राजनीतिक समस्याको रुपमा वर्षेनी उठाईन्छ तर समाधान कहिल्यै हुन सकेन्।’ उनले अबको चुनावपछि पनि केवल आश्वासन र प्रतिबद्धताले मात्रै नहुने जिकिर गरिन् । पोखरा महानगरपालिका १४ मा झण्डै १६८० सुकुम्बासी घरपरिवार छन् ।

नेपाली काँग्रेस कास्कीले सुकुम्बासी समस्या समाधानको लागि आफनो प्रतिवद्धता जनाएको छ। बसेकै ठाँउमा लालपुर्जा उपलब्ध गराई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘सुकुम्बासी समस्या समाधान गर्न काँग्रेसले प्रतिबद्धता गर्छ।’ पोखरा महानगरपालिका १४ का सुकुम्बासीसँगको छलफलमा कास्की क्षेत्र न १ प्रदेश खका उम्मेदवार कृष्णबहादुर केसीले भने– ‘आफनो प्रतिद्धताप्रति बेईमानी गरेभने अर्को पटक काँग्रेसले तपाईहरुसँग भोट माग्न आउँदैन् ।’

नागिन टोलको सुकुम्बास समस्या, भगवतीटारबाट पहिरोपीडित परिवार र सार्वजनिक जग्गामा बसोबास गर्ने तीन खाले सुकुम्बासी समस्या रहेको उल्लेख गरे । उनले वर्षेनी समस्या चुनाव अगाडि उठाउने र चुनावपछि हराउने प्रवृत्ति राजनीतिक संस्कृति बनेको बताए । उनले सुकुम्बासी समस्याको समाधानको लागि आफुले मात्रै जितेर नहुने भन्दै काँग्रेसले नै जित्नुपर्नेमा जोड दिए ।

‘राजनीति गर्ने व्यक्ति फेरिनुपर्छ, आफै पनि फेरिनुपर्छ ।’ उनले भने– ‘पहिलो पटक चुनावमार्फत जनताको माझमा आएको छु । जितेभने तपाईको समस्या समाधान गर्छु । हारे भने तपाईको कागजपत्र झोलामा राखेर आफैं पहलकदमी गर्छु । यो मेरो प्रतिबद्धता हो ।’ नेपाली काँग्रेस कास्कीका सभापति समेत रहेका उम्मेदवार केसीले थपे – ‘तपाईहरुको समस्या समाधान गर्न सकिन भने राजनीति नै छोड्छु।’ उनले कसैलाई पिडाएर चिढाएर राजनीति गर्न नहुने जिकिर गरे ।

कास्की क्षेत्र १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एव कानून मन्त्री यज्ञबहादुर थापाले सुकुम्बासीलाई सम्बोधन गदैै लालपूर्जा दिई समृद्धि बनाउने अभियानमा काँग्रेस सदैव लागि परेको बताए । ‘काँग्रेसले जित्नुपर्छ । तपाईहरुलाई लालपूर्जा दिई समृद्धि बनाउने काम काँग्रेसले गर्छ ’ मन्त्री थापाको भनाई थियो ।

छलफलमा नेपाली काँग्रेस कास्कीका समानुपातिक उम्मेदवार आनन्दराज मुल्मी, कास्की प्रदेश नं १ (ख) कि निर्वाचन कमाण्डर सरस्वती गुरुङ, भूमिहीन मन्च कास्कीका आसबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives