माइनस १६ डिग्री तापक्रम पुगेपछि मनाङको जनजीवन थप कष्टकर

राष्ट्र न्यूज सम्वाददाता
पौष २५, २०७४
high_camp_ascent_sisne_alonzo_lyons_DSCN0327

पोखरा, २५ पुस। मनाङमा तापक्रम घटेर माइनस १६ डिग्री पुगेपछि त्यहाँको जनजीवन थप कष्टकर हुदै गएको छ।

जिल्ला प्रहरी कार्यालय मनाङले जिल्ला प्रशासन कार्यालय मनाङसंग समन्वय गरी सर्वसाधारणलाई चिसोबाट बचाउन जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

जनताको जिउधनको सुरक्षाको लागि खट्ने नेपाल प्रहरीले अत्याधिक चिसोवाट कष्टकर दैनिकी बिताइरहेका मनाङबासीका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो ।

जिल्लाको प्रतिकुल तापक्रमलाई मध्यनजर गरी चामे गाउँपालिका अगाडीको खाली स्थान, नेस्याङ ४ हुम्दे बजार, नेस्याङ ६ मनाङ बजार, नाशोङ गाउँपालिका भवन अगाडी, चामे ३ कोतो बजार, ताल बजार लगायतका स्थानमा साँझ चार बजे देखी आगो ताप्ने व्यवस्था मिलाएको मनाङका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए।

त्यस्तै, मनाङमा कार्यरत प्रहरी कर्मचारीहरुको लागि पनि हिमाली ज्याकेट, उनी अण्डर ट्राउजरहरु अनिवार्य रुपमा लगाउने व्यवस्था मिलाइएको छ ।

चिसो बढेसंगै मनाङ जिल्लाको ६ हजार ५ सय २७ कुल जनसंख्या मध्य हालसम्म अन्दाजी ४ हजार जना जाडो छल्न बहिरी जिल्लाहरुमा गएका छन्। अत्याधिक जाडोको कारण निजी तथा सरकारी विद्यालयहरु बन्द छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives