मित्र मिलन पत्रकारिता पुरस्कार भण्डारीलाई, कोइरालालाई सामाजिक सम्मान

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २७, २०७७
samman 27

पोखरा, २७ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभामा पत्रकार बिमला भण्डारी र सामाजिक अभियन्ता कपिलनाथ कोइरालालाई सम्मान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मित्र मिलन पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ कास्कीकी उपसभापति भण्डारीलाई सम्मान गरिएको हो । उनलाई नगद २५ हजार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

सहकारीले सामाजिक व्यक्तित्व सम्मानबाट उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालालाई सम्मान गरेको छ । असल समाज निर्माणमा उदाहरणीय काम गरेको भन्दै कोइरालालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । संस्थाले उत्कृष्ट कर्मचारी कुलदिप पौडेललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी कास्कीले बनाउन लागेको अत्याधुनिक रक्त संचार केन्द्रको लागि एक लाख ११ हजार एक सय ११ सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष रमण पौडेलले सोसाईटी कास्कीका उपसभापति डण्डराज पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।

पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पुरस्कृत पत्रकार बिमला भण्डारी,उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइराला, नेपाल रेडक्रस सोसाईटी कास्की उपसभापति डण्डराज पौडेल, छिमेकी सहकारीको तर्फबाट नारायण पहारी, संस्थाका कानुनी सल्लाहकार जनकल्याण पराजुलीले बोेलेका थिए ।

शनिबारबाट शुरु भएको कार्यक्रम पुस ८ गते समापन गरिने संस्थाका अध्यक्ष रमण पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी अधिकृत किरण अधिकारीले स्वागत र कुशल पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives