राष्ट्रिय ह्याण्डवलको उपाधि पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ एपिएफलाई

राष्ट्र न्यूज सम्वाददाता
पौष २३, २०७४
1V6A0520

पोखरा, २३ पुस । पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले उपाधि हात पार्दा महिला तर्फ विभागिय टिम सशस्त्र प्रहरी बलको एपिएफले उपाधि रक्षा गरेको छ ।

१८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

राष्ट्रिय खेलाडी बिशाल बस्नेतको कप्तानिमा मैदानमा उत्रिएको पश्चिमाञ्चलले घरेलु मैदानमा दर्शकहरुको साथ पाउदा ४ गोल अन्तरले जित हासिल गर्न सफल भएको हो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए ।

त्यसैगरी पुरुषतर्फ तेश्रो स्थानको लागि भएको खेलमा विभागिय टोली एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गरी तेश्रो भएकोे हो । प्रतियोगितामा नेपाल आर्मी अनुशासित टिम घोषित भएको छ । प्रतियोगितामा एपिएफका दिपकसिंह बोहराले सेमिफाईनल र तेश्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पाए ।

दर्शकहरुको उल्लेखनिय सहभागिता माझ शनिबार पोखरा रंगशालामा सम्पन्न भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितातर्फको फाईनल खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

महिला तर्फ तेश्रो स्थानको लागि भएको खेलमा पुर्वाञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई ४ गोल अन्तरले पराजित गर्दै तेश्रो भयो । पुर्वाञ्चलले पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको हो । विजेतालाई जनही ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलार्इ १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरिएको हो ।

दुई विभागिय सहित ७ टिम सहभागि भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनु्शासित टीम घोषित भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई घोषित भईन । उनले फाईनल खेलमा ८ गोलको योगदान दिईन ।

प्रतियोगिताको सेमिफाईनल र फाईनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोलकर्ताको उपाधि जितिन । विराटनगरमा भएको सातौैं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ आर्मी र महिला तर्फ एपिएफले उपाधि जितेका थिए ।

नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना हङकङ व्यूटि ईन्ष्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा पुष १९ गतेबाट उक्त प्रतियोगिता पोखरामा संचालन भएको संघका सचिव केशव पाठकले बताए ।

बिजयी खेलाडीहरुको टिमलाई प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारी, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङ लगायतले वितरण गरेका थिए । उक्त प्रतियोगिताको फाईनल खेल हेर्न दर्शकहरु हालसम्मकै उल्लेखनिय रुपमा सहभागिता रहेको संघले दाबी गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives