रिमझिम वर्षामा पनि सफाइ अभियान

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २४, २०७४
30221908_929687173871672_5838549314929950720_n

पोखरा, २४ चैत । पोखरामा जारी बृहत सफाइ अभियान सेती नदी किनार रिठ्ठाघाटमा सम्पन्न भएको छ । रिमझिम वर्षाका बाबजुद पनि सामाजिक अभियन्ताहरु सफाइ अभियानमा जुटेका थिए ।

९७ औं हप्ताको सफाइ अभियानमा झण्डै ५ टन फोहरमैला संकलन गरिएको अभियन्ता शिवप्रसाद बास्तोलाले बताए ।

यसअघि अभियानका संयोजक रामबहादुर पौडेलले वडा नं. ११ र २० का अध्यक्ष क्रमशः मोहनप्रसाद बास्तोला र सिमबहादुर गुरुङलाई सेती नदी किनारमा अवस्थित सेती–काली दोभानघाटको (रिठ्ठाघाट) उचित व्यवस्थापन, नियमित सरसफाइ एवं पवित्रता कायम राख्नेछु भन्ने व्यहोराको प्रतिबद्धता पत्र वाचन गराई हस्ताक्षर गराएका थिए ।

कार्यक्रममा उपस्थित सहभागीलाई वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले सरसफाइ एवं राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

अभियानका लागि प्रदेशसभा सदस्य मीना गुरुङले १० प्याकेट डिस्पोजल ग्लोब र पोखरा फुड कार्निभल आयोजकका तर्फबाट सजना थापाले ३ प्याकेट डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए ।

प्रदेशसभा सदस्य मीना गुरुङले यस्तो पवित्र सामाजिक अभियानमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्दै अभियानको सफलताको कामना गरिन् ।

यसपटकको अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, ड्यामसाइड टोल विकास संस्स्था, अभियान महिला समूह, माछापुच्छे« महिला क्लब, गोर्खाली रेडियो र विभिन्न क्षेत्रका सामाजिक अभियन्ताले साथ दिएको अभियन्ता अञ्जु क्षेत्रीले जानकारी दिइन् ।

कार्यक्रममा वडा अध्यक्ष सिमबहादुर गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

९८ औं हप्ताको सफाइ अभियान रामघाटमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives