रौतहटको गरुडामा प्रहरी र राजपाबीच झडप, ५ घाइते

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १५, २०७४
Baneshower-Jhadap-3
गौतम श्रेष्ठ
१५ मंसिर, रौतहट । प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि गएराति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त भयो ।

मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो ।

झडपमा बालकसहित पाँचजना घाइते भएका छन् । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन ।

महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए । त्यसपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो । गाउँका चोक-चोकमा पुगेर पनि प्रहरीले टियर ग्यास प्रहार गरेको स्थानीयबासीको दावी छ ।

स्थानीयले ५० राउन्ड हवाइ फायर भएको दावी गरे पनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरी स्रोत बताउँछ । तर, जिल्लाका प्रहरी अधिकारीहरु यस विषयमा एकिन जानकारी दिन चाहिरहेका छैनन् ।

स्थिति तनावग्रस्त भएपछि राति नै महमदपुरमा सशस्त्र प्रहरीको थप फोर्स झिकाइएको थियो ।

राजपाले मधेस आन्दोलनमा प्रहरी प्रशासनले गरेको दमनको भिडियो दृष्य देखाउँदै चुनाव प्रचार गर्दै आएको छ । त्यसलाई प्रशासनले रोक्न खोजिरहेको छ । यसअघि पिपरा रजवारा भन्ने ठाउँमा पनि प्रहरीले हस्तक्षेप गरेको थियो । तर महमदपुरको जस्तो तनाव भने भएको थिएन ।

स्रोत ः अनलाईन

Related News

सम्बन्धित समाचार

Archives

Archives