विदेश जान हिँडेको ठिटो जब क्रिकेटर बन्यो,चर्चाको शिखरमा पुगेका करणका बारेमा यो पढौं

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३, २०७४
28168076_2004426263173047_1989058828004445898_n

काठमाडौं । क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने ।

२०७१ साल माघमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा युगाण्डाविरुद्धको खेलबाट करणले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । 

क्रिकेटर करण केसी गत जनवरीमा विदेश जानका लागि पासपोर्ट बनाउन पोखरा पुगेका थिए । क्रिकेटमा नलागेको भए शायद अहिले उनी विदेशमा कठोर श्रम गरिरहेका हुन्थे । सानैदेखि क्रिकेट मोह भए पनि त्यसमा निरन्तरता दिन नसकेपछि केसी परिवारको दबावमा रोजगारीका लागि विदेश जान तयार भएका थिए ।

तर यतिबेला उनी विदेशी भूमिमा होइन, मातृभूमिको सेवामा लागिरहेका छन् । क्रिकेटमार्फत् विश्वसामू नेपाललार्इ चिनाउन  सफल भएका छन् । उनी कसरी क्रिकेटमा लागे र उनको संघर्षपूर्ण यात्रा कस्तो रह्यो भनेर हामीले अनलाइनखबरको आर्काइभबाट यहाँ प्रस्तुत गरेका छौं –

सानैदेखि क्रिकेट मोह भए पनि त्यसमा निरन्तरता दिन नसकेपछि केसी परिवारको दबावमा रोजगारीका लागि विदेश जान तयार भएका थिए ।

केसीले पोखरा पुगेर पासपोर्ट पनि बनाए । तर, कुन देश जाने भन्ने निश्चित थिएन ।

यसैक्रममा मार्चमा पोखरामा क्षेत्र नम्बर ८ को क्रिकेट टोली छनोट हुँदै थियो । उनलाई लाग्यो ,एकपटक प्रयास कसो नगरौं । ‘भिसा लाग्ने कहिले हो, एउटा चान्स लिउँ। भए हुन्छ, नभए विदेश जान्छु भनेर कोसिस गरेँ’ केसीले अनलाइनखबरसँग भने ।

केसीले क्षेत्र नम्बर ८ का खेलाडी दीपेश खत्रीलाई फेसबुकमै सन्देश पठाए । दीपेश उनलाई मौका दिन तयार भए । ‘म पनि क्रिकेट खेल्छु, हेर्नु होला भनेपछि उहाँले लेकसाइड लैजानुभयो’ नेपालमा आफ्नो क्रिकेट यात्रा सुनाउँदै करणले भने-‘पोखराका लागि म छनोट भएँ ।’

क्षेत्रीय टीममा परेपछि करणको विदेश जाने योजना सकियो र सुरु भयो नेपालमा क्रिकेट करिअर । उनले भने, ‘त्यसबेला म निकै उत्साहित थिएँ । अब मेरो क्रिकेट करियर सुरु भयो भन्ने लागेको थियो ।’

एकेडेमी नलगेपछि स्कुल गइनँ

बाग्लुङमा जन्मिएका करणलाई झण्डै एक वर्षको उमेरमा नै बाबु-आमाले भारत लगे । जागिरे बाबु चण्डीगढमा बस्थे, करणको वाल्यकाल पनि त्यहीँ बित्यो । यही भएर उनी आˆनो लवजमा हिन्दी मिसाएर बोल्छन् । नेपाली बोल्न उनी प्रयास गर्दैछन् ।

उनले भारतीय स्कुलमा पढ्दा क्रिकेट खेल्न सिकेका हुन् । पढाइसँगै क्रिकेटलाई निरन्तरता दिए । तर, परिवारबाट क्रिकेटमा खासै सहयोग भएन ।

क्रिकेट एकेडेमीमा भर्ना गरिदिन आग्रह गरे । तर, बाबुआमाले नमानेपछि झण्डै एकमहिना स्कुल नै जान मानेनन् । स्कुले जीवनको त्यो दिन सम्झँदै उनी भन्छन्, ‘एकेडेमी भर्ना नगर्ने हो भने स्कुल पनि जान्न भनें ।’

उनलाई १४-१५ वर्षको हुँदा बाबुले एकपटक मात्र ब्याट निकिदिएका छन्, त्यो पनि टेनिस ब्याट । उनले भने, ‘स्कुलमा खेल्दा साथीहरुको ब्याट प्रयोग गर्थें । म्यान अफ दि म्याच, अफ दि सिजन हुँदा ब्याट र बल पाइन्थ्यो । स्कुलको क्रिकेटमा ब्याट पाउँदा खुसी लाग्थ्यो ।’

स्कुले जीवनपछि उनले क्रिकेटलाई निरन्तरता दिन सकेनन् । टेबलटेनिस खेले तर, मन मानेन् । उनी घरबाट बिहान निस्किएपछि अर्को दिनमात्र फर्किन्थे । ‘दिनभर क्रिकेट हेर्यो, फेरि रातमा पनि क्रिकेट हेर्यो,’ करणले भने, ‘घरवाला परेशान हुन्थे ।’

परिवारले जागिर गर्न भने पनि करणले मानेनन्, बरु क्रिकेटकै पछि लागे । अति भएपछि बाबुआमाले रोजगारीका लागि विदेश पठाउन करणलाई पासपोर्ट बनाउन नेपाल पठाए ।

बाबुआमा भारतमै भएकाले उनी पोखरा काकीको घरमा आए र पासपोर्ट बनाए । तर, विदेशका लागि आएका उनी एकाएक क्रिकेटमा होमिए ।

यसरी लाग्यो ‘लक’

पोखराको क्षेत्रीय क्रिकेटपछि उनले धनगढीमा भएको नेपाल प्रिमियर लिग खेले । १० विकेट लिँदै टपटेन बलरमा परेपछि राष्ट्रिय टीमका प्रशिक्षक पुबुदु दशानायक प्रभावित भए र करणलाई प्रशिक्षणमा बोलाए ।

नेपाली क्रिकेटमा यात्रा थालेको झण्डै ८ महिनामा सिनियर टीममा परे । हङकङविरुद्धको सेरिज खेल्न श्रीलंका भ्रमणमा गए । प्रशिक्षक पुबुदु करणका लागि यो भ्रमण अवसर भएको बताउँछन् । करण पनि यो अवसरलाई सदुपयोग गरेर आफ्नो क्षमता देखाउन तयार भए ।

‘राष्ट्रिय टोलीमा परेपछि उत्साहित छु,’ आफूलाई चाहिएको अनुभव श्रीलंका भ्रमणमा हासिल हुन सक्ने भन्दै उनले भने, ‘त्यसपछि नियमित टीममा पर्न कोसिस गर्छु ।’

बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, अमृत भट्टराई, जीतेन्द्र मुखिया, राहुल विश्वकर्मा, चन्द्र साउद, अविनाश कर्णजस्ता स्टार बलरहरु छन् । जसले कुनै न कुनैबेला आफूलाई स्थापित गरेका छन् ।

यस्तोमा करणलाई नेपाली टीममा स्थान बनाउन सजिलो छैन भन्ने थाहा छ । ‘टीममा राम्रा र अनुभवी बलरहरु छन् । मसँग त ड्यूज बलको अनुभव छैन । मैले धेरै नै संघर्ष गर्नुपर्छ,’ उनले भने, ‘तर, म तयार छु ।’

ओपनिङ बलर बन्ने सपना

नेपाली टीमका कप्तान पारस खड्काबाट करण निकै प्रभावित छन् । फास्ट बलर, ब्याटिङ पनि राम्रो गर्ने पारसको नेचर पनि उनलाई  एकदमै मनपर्छ । उनी भन्छन्, ‘मेरो पनि उद्देश्य पारस दाइजस्तै अलराउण्डर हुने हो ।’

उनको सपना छ, सोमपाल कामीसँगै नेपाली टीमको ओपनिङ बलर बन्ने ।

सोमपाल पञ्जावमा हुर्किएका हुन् । उनी नेपाल आएको निकै छोटो समयमा नेपाली टोलीको महत्वपूर्ण सदस्य बन्न सफल भएका छन् । करण पनि सोमपालकै सिको गर्ने कोसिसमा छन् ।

तर, सोमपाललाई भने नेपाल आएपछि मात्रै चिनेको करणले सुनाए । केही समयपछि भारतमा जाँदा एक साथीले भनिदिए कि सोमपाल र करणको साथी एउटै टीममा थियो पहिले ।

हिन्दी मिसिएको लवजमा करणले भने, ‘उसले मेरोसित भी’ खेल्यो भनेपछि सँगै खेलेको भन्ने थाहा पाएँ ।’

नेपाली टीमका सदस्यहरुसँग कुरा गर्दा पनि उनी नेपाली हिन्दी मिसाएर नै बोल्छन् । कुराकानीमा अप्ठ्यारो हुँदैन ? उनले हाँस्दै जवाफ दिए, ‘उनीहरु पनि हिन्दी अलिअलि बोल्छन्, म पनि नेपाली ट्राई गर्छु ।’

सेन बाट्सन आइडल प्लेयर

उनी अष्ट्रेलिया क्रिकेट टीमका फ्यान हुन् भने सेन बाट्सन उनका आइडल प्लेयर हुन् । फुर्सद मिल्यो कि उनी अष्ट्रेलियाको क्रिकेट हेर्छन् । ‘उनीहरुको रणनीति र एग्रेसिभनेस मनपर्छ । करण भन्छन्, ‘डु अर डाई’को अवस्थामा राम्रो खेल्न सक्ने क्षमता मन पर्छ ।’

पोखराको घरमा एक्लै बस्नुपर्दा उनलाई बुबाआमाको यादले सताउने गरेको छ ।

भारतमा गएर फेरि क्रिकेटमा ट्राई गरौं जस्तो लाग्छ ? उनको जवाफ छ, ‘लाग्दैन । अब जे गर्ने हो, नेपालमै गर्ने हो । अब त नेपाल टीमको सदस्य बनिसकें । देशका लागि सपोर्ट गर्ने हो ।’

कुराकानीका क्रममा उनको ज्याकेटमा आँखा पर्यो । उनले चेल्सीको ज्याकेट लगाएका थिए । कुराकानीको अन्तिमतिर ज्याकेट त चेल्सीको रहेछ नि भनेर प्रश्न गर्दा करणले हाँस्दै भने, ‘जाडो नहोस् भनेर ।’

स्रोत ः अनलाइनखबर

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives