वैदेशिक रोजगारीको अनुभव यस्तो छ उनीहरुको

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ५, २०७५
DSC00507

पोखरा, ६ वैशाख । वैदेशिक रोजगारीपछि फर्केका युवाहरुले पोखरामा बुधबार बैदेशिक रोजगारीका क्रममा भोगेका अनुभव सुनाएका छन् ।

नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले अनुभव सुनाएका हुन्।

कार्यक्रममा मलेसियाबाट फर्केका गंगाबहादुर गुरुङले मेनपावर र एजेण्टले नै फसाउदाँ वैदेशिक रोजगारीले रुनु र हाँस्नु पार्ने गरेको बताए ।

चार महिनामै कतारबाट फर्केका बेलबहादुर दर्जी भन्छन् – ‘विदेशमा समान काममा पनि नेपाली कामदारलाई सेवा, सुविधादेखि ज्यालासम्ममा विभेद गरिदाँ पीडा महसुस हुन्छ ।’

त्यस्तै वीरेन्द्र दर्जीले वैदेशिक रोजगारीमा जादाँ सम्झौता भएको काम र कम्पनीमा काम नपाउने समस्या बढिरहेको सुनाए ।
त्यस्तै, गङ्गा परियारले विदेशमा रहेका धेरै नेपाली चेलीहरु रोएर हिड्ने गरेको बताइन् ।

वैदेशिक रोजगारीबाट फर्केकाको अनुभव सुनेपछि नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ कास्कीले वैदेशिक रोजगारमा जानुपरे अनिवार्य सीप सिक्न र देश तथा काम गर्ने संस्थाको बारेमा राम्ररी बुझ्न आग्रह गरेको छ ।

संघले श्रम कानुनको जानकारी, वैदेशिक यात्राको पूर्वानुमान, श्रमिक अधिकार, निर्माण क्षेत्रमा हुने जोखिम र न्यूनिकरण, प्राविधिक ज्ञान र सीप, विदेशबाट फर्केकाबाट अनुभवको पाठ सिक्न पनि अनुरोध गरेको छ ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ४ का अध्यक्ष मुरारी शर्माले सीप र दक्षतामा कमजोर हुँदा नेपाली मजदुरले विदेशमा पीडा भोग्नु परेको बताए ।

नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय सल्लाहकार राजेश पालिखेले नेपालमा सीप सिक्ने अवसर हुँदा हुँदै पनि सामान्य कमजोरीले गर्दा आर्थिकदेखि शरीरसम्मको क्षति व्यहोर्नु परेको उल्लेख गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले रोजगारदाता, पठाउने संस्था र स्वयं जाने व्यक्ति जिम्मेवार हुन आवश्यक भएको औल्याए ।

नेपाली काँग्रेस कास्की सदस्य नवीन सिग्देलले वैदेशिक रोजगारीमा रहेकाको सुरक्षा र योग्यता अनुसारको पारिश्रमिक दिलाउन पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ कास्कीका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives