शैक्षिक हड्ताल घोषणा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १६, २०७४
teacher ayog

काठमाण्डौं, १६ चैत। तीन विद्यार्थी संगठनले अनिश्चितकालिन शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै शैक्षिक हड्ताल घोषणा गरिएको हो । प्रमुख तीन विद्यार्थी संगठनहरु अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने माग गरेका छन् ।

अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गतेका लागि तोकिएको छ । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलित छन् । विद्यार्थी र शिक्षक छुट्टाछुट्टै स्थानमा आमरण अनसन समेत बसेका छन् ।

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् ।

शैक्षिक हड्ताल सरकारका गतिविधिलाई प्रभावित गर्ने खालको हुन सक्ने नेवि संघका अध्यक्ष नयनसिंह महरले बताए । विद्यालय र विद्यार्थीलाई दुःख नदिने गरी जिल्ला शिक्षा कार्यालय र मन्त्रालय केन्द्रीत हुन सक्ने उनको भनाइ छ । यस विषयमा बैठक बसेर टुङ्गो लगाइने महरले बताए ।

अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका छन् ।

एसईई परीक्षाको बीचमै गरिएको शैक्षिक हड्तालले शिक्षा क्षेत्रलाई हेर्ने विद्यार्थी संगठनहरुको दृष्टिकोणमा प्रश्न उब्जाएको प्याब्सनले जनाएको छ ।

 प्याब्सनका महासचिव राजेन्द्र बाँनियाले निर्णय पुनर्विचार गर्न विद्यार्थी संगठनहरुलाई आग्रह गरे ।

यही चैत ८ गतेबाट सुरु भएको यसईई परीक्षा चैत २० गते सकिँदैछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives