सरकारलाई खबरदारी गर्दै देशभरबाट तरुण दलले पठायो ज्ञापन पत्र

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १८, २०७५
nabin dai

पोखरा, १८ मंसिर । नेपाल तरुण दलले सोमबार देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

सरकारको पछिल्लो गतिविधिप्रति तरुण दलको ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । नेपाल तरुण दल कास्कीले पनि सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्रमा राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णय, वाईड बडी जहाज खरिदमा भएको घोटला, १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विश्वका कुनै पनि राष्ट्र प्रमुखहरुले प्रयोगमा नल्याएको १८ करोडको गाडी खरिद गर्ने निर्णयलाई सरकारले आफ्नो सफलता ठान्नु, वाईड बडीमा भएको भ्रष्टाचारलाई बेवस्ता गर्नुु र निर्मला पन्तको घटनासँग सम्वन्धित अपराधिलाई कानुनी कठघरामा नल्याई अपराधिलाई प्रश्रय र संरक्षण गर्न खोजेको भन्दै ज्ञापनपत्रमा निन्दा गरिएको छ ।

ज्ञापनपत्रमा सरकारले अन्याय, अत्याचार, अराजकता, हत्या, हिंसा, बलात्कार, महंगी, भ्रष्टाचार बढाएको भन्दै त्यसतर्फ ध्यानाकर्षण भएको उल्लेख गर्दै ति गतिविधिलाई नियन्त्रण गर्न माग गरिएको छ ।

ज्ञापनपत्र मार्फत शान्तिपूर्ण रुपमा सरकारको ध्यानाकर्षण गराएका छौं, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने – ‘सरकार गम्भिर नभए जस्तो सुकै आन्दोलन गर्न पनि पछि पर्ने छैनौं ।’

तरुण दलका नेता तथा कार्यकर्ताहरु रत्नचोकबाट जुलुस प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives