सरकार, ‘कोरोनासँगै स्वास्थ्यकर्मी र अन्य बिरामी बारे सोचौं’

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २४, २०७६
90085622_2897096373670207_8538054281872277504_n

मौन भएर हेरिरहेको छु, कुरा सुनिरहेको छु । यो समय एक अर्कामाथि दोष र आरोप लगाउने बेला हुँदै होइन । सबै मिलेर विश्वका मानव जातीको शत्रु कहलिरहेको कोरोना भाइरसलाई पराजय गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । कोरोनाको त्रासकै बीचमा विश्व नै रोइरहेका बेला केही कुरा उठाउन मन लाग्यो ।

कोरोना सबैको चुनौती हो । योसँग लड्न विकसीत देशलाई त हम्मेहम्मे नै परेको देख्यौं । राजनीतिक परिवर्तनले चुलिएको तर धेरै आवश्यकता पूरा गर्नका लागि गज तयार नै नभएको मेरो देशमा कोरोनासँग जोडेर कसैको आलोचना गर्न मलाई पटक्कै मन छैन ।

भन्न जति सजिलो भएपनि जादुको छडी कसैसँग छैन । सरकारसँग नि जादुको छडि पक्कै छैन भन्ने म बुझ्छु । तर सरकारसँग इच्छाशक्ति भने आवश्यक छ । सरकार जनताको रक्षक हुनु पर्छ, सरकार जनताको सुख, दुःखको साथी बन्नुपर्छ, जनतालाई सरकार जिम्मेवार भएर हाम्रा लागि अगाडि बढिरहेछ भन्ने आशालाग्दो, भरोसालाग्दो सन्देश दिन भने सक्नुपर्छ । त्यसो गर्न नसके सरकार सरकार रहदैन, बेकार बन्नेछ ।

कोरोनासँग विश्वका सबै नागरिक त्रसित छन् । तर सबै नागरिककाबीचमा स्वास्थ्य सेवासँग प्रत्यक्ष रुपमा जोडिएका स्वास्थ्यकर्मी र उनका परिवारको मन र मस्तिष्क त्रसित मात्रै छैन, यतिबेला आतंकित छ । कतिबेला के हुने हो भन्ने डर स्वास्थ्यकर्मीमा र कत्तिबेला आफ्ना सदस्यलाई के भएको सुन्नुपर्ने हो भन्ने आतंक स्वास्थ्यकर्मीका परिवारमा छ । स्वास्थ्यकर्मीलाई आतंकित परिस्थितिबाट माथि उठाउनेतर्फ भने खासै ध्यान र चासो नपुगेकोप्रति मेरो दुखेसो छ ।

किनकी स्वास्थ्यकर्मीको मनोबल माथि उठ्न नसक्दा अहिले हजारौ नागरिक आपतमा छन्।  घरभित्र विभिन्न रोगसँग जुधेर लकडाउन कहिले खुल्ला भन्दै दिन कुरिरहेका छन् । निमोनिया झेल्दै गरेका, सुत्केरी हुने बेलामा महिला, जटिल अप्रेशन गर्नुपर्ने अवस्थाका बिरामीदेखि अन्य विभिन्न खाले स्वास्थ्य समस्यामा रहेकाहरु घरभित्रै निसास्सिन थालेका छन् । अस्पताल पुग्दा स्वास्थ्य सेवा प्राप्त नै नहुने कहाली लाग्दो अवस्था देख्दा धेरैको मन रोइरहेको छ ।

यतिबेला सावधानी र सतर्कता त पहिलो आवश्यक हो नै । त्यसको अन्य कुनै विकल्प नै छैन । तर स्वास्थ्यकर्मीको मनोबल उकास्नका लागि गम्भिर भएर बेलैमा सोचेनौ भने अब छिट्टै अन्य रोग र समस्याका कारण अकालमा मर्नुपर्नेको संख्या ठूलो हुन सक्छ । यसतर्फ सरकारको ध्यानाकर्षण गराउन मन लाग्यो ।

यस्तो विपद्का बेला जनतालाई स्वास्थ्य सेवा दिनौं, बिरामी छुदै छुन्नौ भन्ने छुट स्वास्थ्यकर्मीलाई हुनै सक्दैन । तर स्वास्थ्यकर्मी र उनका परिवारलाई सरकारले आश्वस्त पारी स्वास्थ्यकर्मीका लागि शारीरिक, मानसिक सुरक्षाको प्रत्याभूति दिन नसक्दा स्वास्थ्यकर्मीको मनोबल सुन्य प्राय अवस्थामा पुगेको छ । यस्तो बेला उनीहरुका लागि समेत सरकारले केही विशेष प्याकेज घोषणा गरोस् ।

जसले जे भनेपनि स्वास्थ्यकर्मी नै निरुत्साहित भए भने अवस्था झन् विकराल बन्न सक्छ । सावधानी र सतर्कता बाहेक यो समस्याका लागि स्वास्थ्यकर्मीले नै अग्रपंक्तिका लडाकु हुन् । यस्तो अवस्थाका लडाकुको मनोबल उकास्न सकिएन भने परीणाम प्राप्त हुने अवस्था छैन । सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाएर नै अहिले जनताकाबीच आफ्नो उपस्थिति देखाउने समय हो । यस्तो बेला स्वास्थ्य सेवामार्फत् सरकारले प्रभावकारी उपस्थिति देखाउन नसके जनता पक्कै खुशी हुने छैनन् । स्वास्थ्यकर्मीहरुसँग पनि जनताले निकै ठुलो आशा र विश्वास गरेका छन् । कृपया पेशागतसँगै मानविय धर्म निभाउन तपाईहरु पनि पछाडि सर्न हुँुदैन ।

कोरोना परीक्षण र उपचारका लागि सरकारले कुनै निश्चित अस्पताल तय गरी सेवा दिन सबै शक्ति नै प्रयोग गर्नुपर्छ, कोरोनाको समस्या सामान्य भएन अब ।

तर भएका स्रोतसाधन प्रयोग गरी अन्य बिरामीको उपचारका लागि सरकारले केही उपाय तत्काल निकालोस् । निजी अस्पतालका लागि समेत सरकारले विशेष प्याकेज ल्याएर प्रयोग गर्न सक्छ। सरकार सरकार नै हो । चाहे गर्न सक्छ, गर्न दिनु पनि पर्छ । मेरो आग्रह लौ न मेरो सरकार अन्य बिरामीलाई अकालमा मर्नबाट जोगाउन केही कदम चाल्नु प¥यो ।

देशका हरेक परिस्थिति बुझ्ने नेपाली जनताले अहिलेको राष्ट्रिय संकटलाई पनि बुझेका छन् । संकटका बेला समेत अनियमितताका विषय सार्वजनीक भैरहदा भने नेपाली जनता निराश निराश छन् । बरु आउँदो आर्थिक वर्षमा बाटो, पुल, भवनको आशा नगर्नुस् भनेर जनतालाई सम्झाउन पनि सकिन्छ । तर सबै शक्ति र स्रोतसाधनको भरपूर उपयोग गरी कोरानासँगै तमाम स्वास्थ्यकर्मी र अन्य बिरामीका विषयमा मेरो शक्तिशाली सरकार गम्भिर बन्नै पर्छ ।

                                                                                                         – नवीन सिग्देल
पोखरा 

Related News

सम्बन्धित समाचार

Archives

Archives