साहित्यकार थापा र नवप्रतिभा ज्ञवाली पुरस्कृत

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २९, २०७४
DSC00207

पोखरा, २९ मंसिर। १५ औ स्थापना दिवसको अवसरमा गीताञ्जली साहित्य परिवार पोखरा लेखनाथ महानगरपालिका वडा नं १० ले दुई जना स्रष्टालाई पुरस्कृत गरेको छ।

पोखरामा आयोजित कार्यक्रममा गीताञ्जली साहित्य रत्न पुरस्कारबाट सहित्यकार रुद्रबहादुर थापा र तुलसी मुवा अहिल्या बाल साहित्य पुरस्कारबाट नवप्रतिभा सिर्जन ज्ञवालीलाई पुरस्कृत गरिएको हो।

गीताञ्जली सहित्य रत्न पुरस्कारको राशी नगद पाँच हजार पाँच र तुलसी मुवा अहिल्या बाल साहित्य पुरस्कारको राशी एक हजार पाँच रुपैया सहित सम्मान पत्र र दोसल्ला रहेको छ।

पोखरा – ७ निवासी थापा लामो समयदेखि सहित्य र पत्रकारितामा क्रियाशील छन् भने पोखरा – १० निवासी ज्ञवाली साहित्यमा रुची राख्ने बाल प्रतिभा हुन्। दुवैलाई साहित्य क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गरिएको हो। साहित्यकार थापा आदर्श समाज दैनिकका पुर्वसहायक सम्पादक समेत हुन्।

रत्न पुरस्कार गीताञ्जली परिवार आफैले स्थापना गरेको पुरस्कार हो। बाल सहित्य पुरस्कार भने स्याङजाका तिलक पौडेल ‘स्यार्काेटे’ ले माता÷पिताको सम्झनामा स्थापना गरेको पुरस्कार हो।

गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतम संयोजक तथा भानु भण्डारी ‘क्षितिज’, नरेन्द्र रानाभाट, धर्मराज पौडेल ‘अल्पायू’ र छविलाल आचार्य सदस्य रहेको छनोट समितिको सिफारिसको आधारमा दुई प्रतिभालाई पुरस्कृत गरिएको हो।

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, गीताञ्जली परिवारका अध्यक्ष शिव गौतम र कोषाध्यक्ष धर्मराज पौडेल‘अल्पायू’ ले संयुक्त रुपमा स्रष्टालाई पुरस्कृत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सहित्य, कला र संगित क्षेत्रका प्रतिभालाई संचारमाध्यमले चिनाउन सहयोग गर्नुपर्नेमा जोड दिए।

उनले गीताञ्जली साहित्य परिवारले साहित्य साधनाका माध्यमबाट नयाँ र पुराना स्रष्टालाई जोड्ने काम गरेकोभन्दै प्रशंसा गरे। उनले साहित्यकार जन्माउनमा समेत गीताञ्जली परिवारको ठूलो भुमिका रहेको उल्लेख गरे।

पुरस्कृत व्यत्तित्व रुद्रबहादुर थापाले सम्मानले साहित्य सृजनामा अझै हौसला मिलेको बताए। अर्का पुरस्कृत व्यत्तित्व सिर्जन ज्ञवालीले यस्ता पुरस्कारले प्रतिभालाई प्रोत्साहन मिल्ने बताए।

गीताञ्जली साहित्य परिवारका सल्लाहाकार डा रवीलाल अधिकारीले साहित्य क्षेत्रबाट पनि प्रगती गरी माथि जान सकिने उल्लेख गरे। साहित्यकार मदन भण्डारीले साहित्य उपदेशात्मक बनेकोभन्दै चिन्ता व्यक्त गरे।

कार्यक्रममा प्रा. टिकाराम कोइरालाले गीताञ्जली परिवारलाई पाँच हजार पाँच सय ५५ रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरे।

त्यसअवसरमा शेषमणि कोइराला, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, गोविन्दप्रसाद पराजुली, रामलाल बाटाजु, विष्णुप्रसाद पराजुली, अम्बिका भण्डारी, डा जगन्नाथ रेग्मी, बसन्त चालिसे, प्रेमकुमारी गुरुङ, शंकर ज्ञवाली, चन्द्रावती वाग्ले लगायतले रचना वाचन गरेका थिए।

गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष धर्मराज पौडेल ‘अल्पायू’ ले स्वागत र सचिव भानु भण्डारी‘क्षितिज’ले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

Archives

Archives