२ वर्षमा नेपालका कम्युनिस्ट असफल ः पौडेल

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १०, २०७६
Rc poudel

पोखरा, १० मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए । उनले दुई तिहाइको आडमा ओली सरकार निरंकुश बन्दै गएको बताए ।

नेता पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप समेत लगाए । उनले सरकाले राष्ट्रवादको नारा दिए पनि त्योअनुसार काम गर्न नसकेको बताए ।

‘कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो ।’ पौडेलले अब मंसिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउन आग्रह गरे ।

‘कास्की विद्या, वुद्धि र विवेकको उर्वर भूमि हो । यहाँका जनताले बुद्धि र विवेक पु¥याएर मतदान गर्नुपर्छ’, उनले भने, ‘कम्युनिष्ट आचारण राम्रोसंग बुझ्नुस् अनि आफ्नो विवेकले मत दिनुस् ।’

पौडेलले नेपालका कम्युनिस्टहरू असफल भइसकेको र उनीहरुबाट नेपाल अघि बढ्न सक्दैन भन्ने तथ्य पुस्टि भइसकेको दाबी गरे । केपी ओली नेतृत्वको सरकारले २ वर्षको अवधिमै कम्युनिष्टहरू असफल भएको सावित गरेको उनको दाबी थियो ।

नेता पौडेलले नेपाली जनतामा कम्युनिष्टप्रतिको मोहभंग भइसकेको बताए । उनले समृद्धि ल्याउँछु भनी सपना देखाएको कम्युनिष्ट सरकारको पालामा भ्रष्टाचार र महंगीमात्रै बढेको बताए ।

‘नेपाली जनतामा कम्युनिस्ट सरकारले चमत्कारै गर्ला भन्ने विश्वास थियो । समृद्धिको ठूलै सपना देखाइएको थियो । जनता सपनामा भुलेका पनि थिए’, नेता पौडेलले भने, ‘तर अहिले आएर त्यो झूट थियो, भूलभूलैया थियो भन्ने सावित भयो भयो ।’ उनले कम्युनिस्टले नेपाल नचल्ने र समृद्धि तथा सुशासनसमेत नआउने ठोकुवा गरे ।

नेता पौडेल कम्युनिस्ट आफ्नै कारण सकिन लागेको भन्दै कम्युनिष्टको अन्त्यबाट कांग्रेसले पनि पाठ सिक्नुपर्नेमा जोड दिए । कम्युनिष्ट सिद्धान्तमै कमजोरी रहेकैले नेपालमा पनि कम्युनिष्टहरु सकिने दिशा गएको उनको जिकिर थियो ।

‘कम्युनिष्ट सिद्धान्तमै कमजोरी थियो, विरोधाभाष र अन्तरद्वन्द्व थियो’, नेता पौडेलले थपे, ‘त्यसैले कम्युनिस्टहरू नेपालमा पनि आफ्नै कारणले सकिँदैछन् ।’

उम्मेदवार खेमराज पौडेल आफ्नो पनि गुरु भएको स्मरण गर्दै नेता पौडेलले उहाँ जत्तिको इमान्दार पण्डित नेतालाई जिताएर पठाए कस्केली जनताको पनि इज्जत बढ्ने स्पष्ट पारे ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताए । नेकपा सरकारको २ वर्षबाट जनता आजित भएकाले उपनिर्वाचनमार्फत सन्देश दिने स्पष्ट पारे ।

‘यो २ वर्षको अवधिमा सरकारलाई जनताले हेरेका छन् । सरकारमा बस्ने पार्टीका नेताहरुले जनतालाई जुन आश्वासन दिएका थिए, जुन सपना कम्युनिष्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनै पनि पूरा भएनन् । जनता अहिले निराश छन्,’ उनले भने ।

उनले मुलुकमा यतिवेला मूल्यवृद्धि संस्थागत भइरहेको बताए । कर बढिरहेको र आस्थाका आधारमा सेवासुविधामा भेदभाव भइरहेको पनि उनको टिप्पणी छ । उनले भने, ‘जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ । राज्य संयन्त्र, संवैधानिक निकायलाई र पुलिस प्रशासनलाई सरकारले आफ्नो छायाँमा राख्ने कोशिश गरिरहेको छ ।’

उनले भने,‘यो उपनिर्वाचनको परिणाम हाम्रो पक्षमा आउँछ । नेपाली कांग्रेसको पक्षमा ठूलो उत्साह र समर्थन छ । हामी सबै एकतावद्ध भएर लागेका छौं । तर, यो सरकार हुने हदसम्म धाँधली गरेर भए पनि आफ्नो पक्षमा परिणाम ल्याउने कोसिसमा छ,’ उनले भने ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रीमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारको असफलता उजागर भएको आरोप लगाए । उनले सरकार असफल भएको पुष्टि भएको जिकिर गर्दै भने,‘हामीले भन्दै आएको कुरा आज पुष्टि भएको छ ।

असफल मन्त्री भन्दै प्रधानमन्त्रीले मन्त्री फेरेको विषयले यो सरकार असफलताको थप पुष्टि भएको छ ।’

प्रवक्ता शर्माले सरकारले पूरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले कांग्रेसले एकएक हिसाब गरेर बसेको बताए । ‘आजको जिम्मेवार प्रतिपक्ष भोलिको सत्तापक्ष हो, हामी चुपचाप यो करणले छैनौं कि सडकमा कम्युनिष्ट साथिहरुको जस्तो ढुँगामुडा गरेर प्रतिपक्षीको व्यवहार प्रस्तुत गरेका छैनौं’, उनले भने ।

प्रवक्ता शर्माले सरकारका कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै सार्वजनिक गरेको भन्दै अहिले हुन गइरहेको उपनिर्वाचन सरकारले कामको मूल्यांकन गर्ने अवसर भएको बताए । उनले भने, ‘हामीले भन्ने पर्दैन सरकारप्रति जनताको स्पष्ट धारणा अब मतमा अभिव्यक्त हुन्छ ।’

शर्माले कांग्रेसलाई अब धेरै दिन प्रतिपक्षमा नबस् भन्ने सन्देश जनताबाट आउने बताए ।
शर्माले लोकतन्त्र र संघीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने भन्दै लोकतन्त्र र संघीयता संस्थागत गर्नु नै कांग्रेसको मुख्य एजेण्डा भएको बताए । कांग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उनको दाबी थियो ।

‘साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्छ,’ शर्माले भने, ‘सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ ।’

राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताए । मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने उनको भनाई थियो ।

देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न कांग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिष्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरे ।

देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले संविधानले व्यवस्था गरेबमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने बताए । ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोट चाहिँ किन नचल्ने?’ प्रश्न गर्दै शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि कांग्रेसले पहल गर्ने बताए ।

कार्यक्रममा नेताहरू प्रदीप गिरी, धनराज गुरुङ, तारानाथ रानाभाट, सुवास सिग्देल, शारदा गिरी, कृष्णमान ठुसाजू लगायतले बोलेका थिए ।

मुलुक, लोकतन्त्र र संविधानमाथि खतरा छ ः केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिलेको खेमराज पौडेल र कम्युनिष्ट विचको लडाइँ नभएर चुनाव सदाचार र विविचार, न्याय र अन्याय, स्वतन्त्रता र निरंकुशता बीचको लडाइँ भएको बताएका छन् ।

पोखरा–२०, भलाममा आयोजित चुनावीसभामा नेता केसीले अहिलेको राजनीतिक परिस्थितिलाई विष्लेषण, संस्लेषण र विहंगम विचार गरेर मतदान गर्नुपर्नेमा जोड दिए ।

उम्मेदवार पौडेल लोकतन्त्रप्रतिको निष्ठा, त्याग र समर्पणबाट विभूषित व्यक्तित्व भएकाले उहाँले यो चुनाव जित्न आवश्यक भएको भन्दै उम्मेदवार पौडेल जत्तिका पाका नेता अन्य कोही हुन नसक्ने बताए ।

मुलुकको समस्यालाई समाधान गर्न सक्ने पार्टी नेपाली कांग्रेसमात्र भएको भन्दै उनले कांग्रेसले जनता सामू गरेका वाचा सधैं पूरा गरेको स्पष्ट पारे ।

नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति भन्दा बाहिर कहिल्यै नगएको दावी गर्दै अहिले मुलुक, लोकतन्त्र र संविधानमाथि खतरा रहेको उनले बताए । । ‘भ्रष्ट्राचार सुन्न सक्दिन भनेर भाषण गर्ने प्रधानमन्त्रीलाई भ्रष्ट्राचारलेनै घेरेको छ’, उनले आरोप लगाए ।

सत्य, सदाचार, न्याय, स्वतन्त्रता र लोकतन्त्रको पक्षमा उभिनुपर्ने अवस्था आएकाले यो चुनाव कांग्रेसले जित्नुपर्ने खाँचो औंल्याए सत्य, सदाचार, न्याय र लोकतन्त्रको सुरक्षाको वातावरण सिर्जना गर्न यसपटक कांगे्रसलाई मतप्रदान गर्न कास्की २ का आम नागरिकलाई उनको आग्रह छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतले ओली सरकार लिक भन्दा बाहिर गएकाले सरकारलाई लोकतान्त्रिक पद्धतिमा ल्याउन पनि खेमराज पौडेलले चुनाव जित्नुपर्ने खाँचो औंल्याए ।

कांंगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकारले अनावश्यक सपना मात्रै बाँडेको बताए । ‘सपना ठिक्क हुनुपर्छ’, उनले भने, ‘सक्ने सपनामात्र पूरा हुन्छ नसक्ने होइन ।’ उनले खेमराज पौडेल भोलि चुनाव जितेर गएपछि संसदमा बोल्दै गर्दा कास्कीका नागरिक बोलेको आभास हुने बताए ।

उनले काँग्रेस जिते पनि हारे पनि जेठो थियो, जेठो हो र जेठो रहने बताए । घरमा एउटा जेठो छोरोको दायित्व जस्तो हुन्छ त्यस्तै हो सरकार बनाउनमा नेपाली कांगे्रसको दायित्व, यो सबैलाई बुझ्न उनले आग्रह गरे ।

सरकारलाई ढंग पु¥याएर काम गर है भन्न कास्की–२ को उपचुनावमा खेमराज पौडेलले जिताउनै पर्ने उनको धारणा थियो ।
उम्मेदवार खेमराज पौडेलले जनताको अपेक्षा माथि ठोस पुग्न नदिने बताए । पौडेलले अहिलेको चुनाव भनेको जनताको शक्ति देखाउने चुनाव भएको बताए ।

३ पटकसम्म नेकपाले यो क्षेत्रमा जितेर के गरे ? भलामका जनताले मूल्याङ्कन गर्नुपर्ने दिन भएको उनले उल्लेख गरे । आफ्नो उम्मेद्वारी कुनै व्यक्ति, पार्टी वा उम्मेदवार सँग नभएर भ्रष्ट्राचार विरुद्ध रहेको पौडेलले बताए ।

निर्वाचनबाटै बनेको सरकारले २१ महिनामा गरेको कामको मूल्याङ्कनका आधारमा कास्की २ का मतदातालाई मत प्रदान गर्न उनले आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन जोशी, धनराज गुरुङ, उमा रेग्मी, पूर्व सांसद शारदा पौडले, सांसद विन्दा राना, गण्डकी प्रदेशसभा सदस्य तथा चुनावी कमाण्डर विन्दुकुमार थापा, नेता शुक्रराज शर्मा लगायतले बोलेका थिए ।

उक्त अवसरमा नेकपाका साथै विभिन्न पार्टी परित्याग गरी गौरी अधिकारी, गणेश खत्री, वसन्तबहादुर खत्री, मंगली गौतम, चिरञ्जीवि अधिकारी लगायत २ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives