चितवन, २ साउन (रासस) राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गर्ने ६१ जना पक्राउ परेका छन् ।
गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो ।
डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार रहेका छन् । पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरु गरिएको छ ।
यस्तै वन्यजन्तु चोरी सिकारी मुद्दामा दुई जना पक्राउ परेको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । खनालका अनुसार पक्राउ परेका व्यक्तिबाट सालको गोलिया ५११ दशमलव ४१ क्यूफिट, चिरान काठ ६७२ दशमलव चार क्यूफिट रहेको छ ।
यस्तै चाप चिरान काठ ४० दशमलव १७ क्यूफिट, उत्तिस ३५ दशमलव ५६ क्यूफिट, चिलाउने नौ क्यूफिट काठ बरामद् गरिएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा वन पैदावार चोरीमा ३७ र वन्यजन्तुका मुद्दा आठ दर्ता भएका थिए ।
डिभिजन वन कार्यालयले ५७ हजार ६५० हेक्टर क्षेत्रफलको वन हेर्दै आएको छ । यसमा बरडाभार क्षेत्रमा १० हजार ३०२ हेक्टर क्षेत्रफल पर्दछ । खनालका अनुसार बरण्डाभार क्षेत्रमा बढीमात्रामा चोरी हुने गरेको छ ।
यस्तै राप्ती र खैरहनी नगरपालिका क्षेत्रबाट समेत बन पैदावार चोरीतस्करी हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु तीन करोड ६९ लाख छ हजार राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा दुई लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरेको छ ।
खनालका अनुसार बिरुवा असार १४ गतेदेखि वितरणको प्रक्रिया सुरु गरिएको हो । शीतल चिनी, तेजपात, हर्रो, बर्रो, बेल, धुपी, अमला कपुर जस्ता ३९ प्रजातिका बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
अहिलेसम्म ६५ प्रतिशत वितरणको काम सम्पन्न भइसकेको छ । अन्य बिरुवा वितरणको काम जारी रहेको कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
Archives
Archives