पोखरा, २९ माघ । सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी पूरा भएको छ ।
मेलास्थलको व्यवस्थापन, प्रचारप्रसार, अर्थ व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको हो ।
‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो ।
फागुन १ गते सोमबार शुरु हुने मेला ३ गतेसम्म चल्ने समितिका अध्यक्ष ओम प्रकाश गुरुङले जानकारी दिनुभयो । मेलाको उद्घाटन मादी गाउँपालिकाका प्रमुख देवीजङ्ग गुरुङले उद्घाटन गर्नु हुनेछ।
उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ । मेला करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सम्पन्न गर्नका लागि पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
मेलामा विशेष गरी सोंथर बेँसी लगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायहरुको प्रदर्शनी एवम् बिक्री गरिनेछ ।
त्यस्तै खेलकुद तर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो÷ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिक तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरुको ठेटार नाच एवम् चर्चित कलाकारहरुको समेत प्रस्तुती रहने छन् ।
भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगद सहित मेडल र ट्रफी प्रदान गरिने छ ।
त्यस्तै, मादी गाउँपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी बीच सोंथर बेँसी विषयक बक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ । नेपाल टुरिज्म बोर्डसँग अन्तरक्रिया कार्यक्रम पनि गरिने भएको छ ।
मेलाको लागि मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गर्ने भएको छ । ३५ वर्ष अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेलालाई थप परिस्कृत गर्दै गर्न लागिएको छ ।
मादी गाउँपालिकाको वडा नं ८ मा पर्ने नागिधार र पाखुरीकोट गाउँ, वडा नं १० मा पर्ने भाचोक गाउँको संगम स्थल हो सोेँथर बेँसी । सोंथर बेँसीमा हाल फार्महाउस एवम् केहि होमस्टे समेत सन्चालनमा रहेका छन् ।
फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिने छ । त्यस्तै नजिकै टारी खेतहरुमा गोठहरु समेत रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिइ आनन्द समेत लिन सकिनेछ ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा घन्कियो रत्यौली
माघ ४ देखि नागीधार महोत्सव
लेखनाथ महोत्सवमा आमा समूहबीच हाजिरी जवाफ
हेमजाको तिब्रेकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
Archives
Archives