पोखरा, २२ मंसिर । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ ।
नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गर्नुभयो ।
उहाँले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताउनुभयो । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको दाबी गर्नुभयो ।
‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’, उहाँले भन्नुभयो ।
नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएको जानकारी दिनुभयो । तर, नेपालले आफ्नो लक्ष्य पूरा गरेपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो ।
ठुला मुलुकले कार्बन उत्सर्जन नरोकेसम्म नेपाल प्रभावित भइरहने उहाँको भनाइ छ । ‘हामीले जुन क्षति व्यहोरेका छौं । त्यो क्षतिका लागि तपाईहरु जिम्मेवार हुनुहोस्’, अन्तर्राष्ट्रिय समुदायसमक्ष उहाँको अनुरोध छ ।
जलवायु परिवर्तनकै कारण नेपालले बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेकोमा उहाँको चिन्ता छ । बेमौसमी बाढी पहिरोले विकासको लागत बढाइरहेको उहाँले सुनाउनुभयो । त्यसको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने महतको जिकिर छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले विकसित राष्ट्रले गरेको कार्बन उत्र्सजनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको दोहो¥याउनुभयो ।
‘हाम्रा हिमालमा जति हिउँ पर्नुपर्ने हो, जति समयसम्म रहनुपर्ने हो त्यो नभएर उजाड बन्दै गइरहेको छ । बाढी पहिरोले हिमालभन्दा मुनि बस्ने जनताको जीवनमा धेरै प्रभाव पारेको छ’, मन्त्री थापाले चिन्ता व्यक्त गर्नुभयो । हिमालमा देखिएको असरले पर्यटकको संख्यामासमेत कमी आएको उहाँको भनाइ छ ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरुले जलवायु परिवर्तनको असर ठुयाक्कै कुन हिमालमा परिरहेको छ यकिन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । जलवायु परिवर्तनको विषयमा सेचत गराउन युएईको कोप–२८ सम्मेलनमा सहभागी हुन जानु पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालापत्थरमा लगेको उहाँको भनाइ छ ।
‘झण्डोत्तलन गर्नुको अर्थ के थियो भने हामीले हल्ला मात्रै गरेको होइन जलवायु परिवर्तनको असरमा हिमालमा परेको छ । हिमाल कहाँ छ ? नेपालमा, कुन ठाउँमा भन्दा यो ठाउँमा भनेर विश्वको ध्यान आकर्षित गराउन खोजेका हौं’, उहाँले भन्नुभयो । व्यवस्थापनमा चूनौति थपिएकाले हिमालमा भइरहेको फोहोरमा पनि कम गर्न उहाँको जोड थियो ।
पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिनुभयो ।
उद्घाटनको अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइयो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।
किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुने न्यौपानेले बताउनुभयो ।
महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ । यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको तस्वीरसमेत प्रदर्शनी छन् ।
महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ ।
सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र पत्रकार कुन्द दिक्षितले वार्तालाप गर्नुहुनेछ ।
आठौं संस्करणको पर्वतीय महोत्सवमा पहिलो पटक ‘टग अफ वार’ समेटिएको छ । छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, दोहोरी गीतको रौनक महोत्सवमा छ ।
२८ स्टल रहेको महोत्सवमा स्थानीय हस्तकलाका सामाग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामाग्री, दैनिक उपभोग्य बस्तु र सेवा समावेश छ ।
Related News
सम्बन्धित समाचार
नयाँ प्रहरी ऐनमा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई समेट्न कास्कीका सामुदायिकको आग्रह
हेमजाको साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको सडक स्तरोन्नति कार्य शुरु
एभरेस्ट एफएमको चौथो वार्षिकोत्सवमा मानव सेवा आश्रममा थप १ लाख प्रदान
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
Archives
Archives